
काठमाडौँ- हिजो आज व्यापारी, उद्योगपति, कर्मचारी, विभिन्न व्यवसाय र पेशामा आबद्ध आम मानिससँग एउटै भोगाइ छ। उनीहरू भन्ने गर्छन्, ‘विजोग छ, वर्वाद छ, जटिल छ, सबैलाई निरासाल गाजेको छ।’
केही समय अघिसम्म सबैको बुझाइ थियो- कोभिड- १९ ले गर्दा व्यापार ध्वस्त भयो, धेरै कामदार मञ्जदुर पेशाबाट पलायन पनि भए।
कोभिडपछि अर्थतन्त्रीमा विस्तारै सहज वातावरण बन्दै जाला भन्ने अपेक्षा झन दिनदिनै भयावह अवस्थामा पुग्दैछ। तर, धेरैको बुझाइ फरक पनि छ। केहीले भने अर्थतन्त्र चलायमान छ, सोच मात्र नकारात्मक हो भन्ने गरेका छन्।
यसै प्रसँगमा देशसञ्चारकर्मी कपिल भण्डारीले लामो समयदेखि मिडिया मार्केटिङमा आबद्ध आनका अध्यक्ष सुदिप थापासँग पाँच प्रश्न राखेका छन्।
१. विज्ञापन बजारको अहिलेको अवस्थालाई कसरी हेर्नु भएको छ ?
प्रविधिको बिकाससंगै बिश्वब्यापी रुपमा उपभोक्ताको व्यवहारमा आएको परिवर्तनसंगै समग्र अर्थतन्त्रमा भएको परिवर्तनसंगै नेपालमा पनि परम्परागत बिज्ञापन बजार संकुचित भए पनि इन्टरनेटमा आधारित र अन्य मिडिया नवप्रबर्तनले गर्दा बिज्ञापन बजार पनि परिवर्तनसंग
समाहित हुने क्रममा छ ।
२. आर्थिक मन्दी, सिथिल बजार र मिडिया उद्योगलाई परेको प्रत्यक्ष असरलाई कसरी बुझ्नु भएको छ ?
तपाईले प्रत्यक्ष असर भन्नुभयो तर यो क्षणिक सुनिश्चितता हो । समाजमा शिक्षा र चेतनाको बिकास संग–संगै सूचनाको अधिकार र मनोरञ्जनका लागि संगठित र व्यवसायिक हुने सिर्जनात्मक पेशा व्यवसाय भएको हुँदा समग्र अर्थतन्त्रको चक्रमा अन्य सामाजिक आर्थिक क्षेत्रहरूमा हुने परिवर्तनसंगै मिडिया उद्योगमा हुने परिवर्तन छिटो देखिन्छ । प्रष्टसंग भन्नु पर्दा देशको उद्योग व्यवसाय बढे उपभोक्ताको रोजगारी, आम्दामीसंगै खर्च गर्न सक्ने क्षमतामा पनि बृद्धि हुँदा उद्योग व्यवसायले व्यवसायिक सञ्चारका लागि मिडियामा गर्ने खर्च पनि बढ्छ तर यो चक्रीय क्रम नकारात्मक भए उद्योग व्यवसायले खर्च कटौती गर्ने क्रममा मिडियामा गर्ने खर्च सबैभन्दा पहिले कम गर्ने हुने हुँदा मिडिया उद्योगमा पर्ने समग्र अर्थतन्त्रको प्रभाव छिटो देखिन्छ ।
३. तपाईंको विचारमा बिजनेस हाउस र कर्पोरेट सेक्टरले मिडियालाई हलुका बनाएको हो या यसमा मिडियाकै कमजोरी छन् ?
कुनै पनि मुलुको समग्र अर्थतन्त्रमा त्यस भित्रका सबै आर्थिक तथा औद्योगिक क्षेत्रहरूको योगदान पारस्परिक र अन्तर्निहित हुन्छ । यसमा कुनै हलुका वा गह्रुंगो भन्ने नै हुँदैन । तर मुलुकको अर्थतन्त्रको आकारमा कुनै पनि औद्योगिक व्यवसायिक क्षेत्रमा भएको लगानी र त्यसको बजारको आकारका आधारमा कुरा गर्दा विविध कारणले सबैको आ–आफ्नै बाध्यात्मक परिस्थितिहरू पनि हुन्छन् । त्यसमा मिडिया उद्योग नै अन्य औद्योगिक व्यवसायिक क्षेत्रहरूको विकास र विस्तारका लागि मात्र नभएर अन्य क्षेत्रको बिकास संग–संगै आफ्नो आकार र स्वरुप निर्धारण गर्ने भएको हुनाले नेपालमा मिडिया उद्योग हलुका देखिएको हो । अर्को कारण चाँहि, प्रविधिको बिकास, नेपालको अर्थतन्त्रको आकार र बिश्वब्यापीकरणका कारण नेपाली मिडिया उद्योगले नवप्रवर्तन र सिर्जनामा लगानी गर्न नसक्नाले उपभोक्ताको रुचि अनुसारका सामाग्री प्रस्तुत गर्न नसक्नुले पनि नेपाली मिडिया क्षेत्रमा अन्य औद्योगिक क्षेत्रले गर्ने खर्च कम हुँदै गएकाले त्यस्तो बुझाइ बनेको हो । उदाहरणको लागि इन्टरनेटमा आधारित मिडियाको बिकास, विश्वव्यापी रुपमा फैलँदै गरेको नेपाली समाज र उपभोक्ताको रुचि र व्यवहारका कारण परम्परागत नेपाली मिडियामा उद्योग व्यवसायले गर्ने खर्च कम भएको छ र हाम्रो अखबार, रेडियो तथा टेलिभिजनमा बिज्ञापन पनि कम देखिएको हो किनकी उद्योग व्यवसायहरूले सामाजिक संजालमा बिज्ञापन गर्नु पर्ने अवस्था भयो ।
४. अब मिडियालाई पुरानै लयमा फर्काउने कतिको सम्भावना देख्नु हुन्छ ?
एकदमै सम्भव छ तर त्यसका लागि मिडिया उद्योगीहरू पनि तयार हुनु पर्यो । नेपाली मिडिया उद्योगले उपभोक्ता तथा दर्शक–स्रोताले रुचाउने सामाग्री प्रस्तुत गर्नु पर्यो र आफ्नो स्थान सुरक्षित गरिरहनु पर्यो । यसका लागि केही लगानी बढाउनु पर्ने होला वा केही परिक्षण तथा नवप्रवर्तन गर्नु पर्ला र मूल्य घटाघटको सट्टामा गुणस्तर अभिबृद्धि गर्न तयार रहनु पर्छ । यही परिदृष्यलाई आत्मसाथ गर्दै नेपाल बिज्ञापन संघको नेतृत्वमा गत जेष्ठ महिनामा नेपाली मिडियाहरूको बिज्ञापन दर–रेटमा एक रुपमा कायम गर्न पहल भए पनि सबै मिडियाहरूले त्यसलाई लागू गर्न नसकेकोले अहिले नेपाली मिडिया उद्योगको आकार खुम्चिएको आभास भएको छ । नेपाली मिडिया उद्योगीहरु आफ्नो लगानी तथा लागत रकमका आधारमा आफ्नो उत्पादनको मूल्य यति हो र यो भन्दा कममा उपलब्ध गराउँदिन भनेर केहि समयका लागि त स्थीर हुनु पर्यो । यति भयो भने बिज्ञापनदाताहरू पनि त्यो कुरा मान्न तयार हुन्छन् । होइन भने खरिदकर्ताले जहिले पनि सजिलो र सस्तोको खोजिरहँदा नेपाली मिडिया उद्योगले आफ्नो अस्तित्व गुमाउन सक्छ । अर्को तर्फ सूचनाको हक र सुसुचित हुने लहडमा बजारले धान्न सक्ने भन्दा बढी लगानी मिडिया उद्योगमा भएको पनि हुनाले यस क्षेत्रको वर्तमान परिस्थिति सिर्जना भएको हुनाले क्लिन फिड, तथा विज्ञापन तथा बजार सञ्चारका सम्बन्धमा भएका सरकारी नीति नियमहरू जस्तै शिक्षा, स्वास्थ, बैंकिङ तथा बिमा जस्ता आर्थिक क्षेत्रहरूमा बिद्यामान बजेट सिमिततालाई खुला गरी बिज्ञापन तथा मिडिया उद्योगमा ऊर्जा थप्न सकिन्छ
।
५. आनको अध्यक्षका रुपमा आगामी दिनमा तपाईंको भूमिका र पहल कस्तो रहन्छ ?
यस बिषयमा म मेरो व्यक्तिगत भन्दा पनि नेपाल बिज्ञापन संघ ‘आन’को नेतृत्वदायी वर्तमान कार्यसमितिको पहल कदमी भन्न चाहन्छु । हाल आनसंग–संगै एड क्लब अफ नेपाल र इन्टरनेशनल एडभर्टाईजिङ एशोसियशनको नेपाल च्याप्टर पनि छ । देशमा अहिले बिज्ञापन क्षेत्रको नियमन गर्नका लागि सरकारले बिज्ञापन बोर्डको स्थापना गरेको छ भने प्राबिधिक रुपमा पनि निकै बिकसित भएको छ, अर्थतन्त्र र समाज पनि निकै परिवर्तन भइ उपभोक्ताको रुचि र व्यवहार पनि परिवर्तन भएको छ । त्यसैले हामी बिज्ञापन व्यवसायी तथा पेशकर्मीहरू पनि सोही अनुरुप आफूलाई परिष्कृत गर्दै लैजानु पर्नेछ । त्यसैले गत सालमा हामी निर्वाचित भएर आएपछि आन स्थापनाको उद्धेश्य, भावना र मर्म अनुसार हामीले केही नीतिगत र कार्यगर्त परिवर्तन गरेका छौं । जस अनुसार नेपाल बिज्ञापन संघ ‘आन’को कार्य समितिले नीतिगत रुपमा नेतृत्व गर्ने यस उद्योगको उत्थान र उन्नयनका लागि पहल कदमी लिने, एड क्लब अफ नेपालले आपसी सम्बन्ध, भाइचाराको बिकास गर्ने गतिबिधि सञ्चालन गर्नुका साथै इन्टरनेशनल एडभर्टाइजिङको नेपाल च्याप्टरले शिक्षा–तालिम लगायतका गतिविधिसहित क्षमता बिकासका कार्यक्रमहरु गर्ने र यी सबै गतिबिधिहरुलाई कार्यान्वयन गर्ने र तथ्यांकहरुलाई ब्यबस्थित गर्ने कार्य आनको सचिबालयले गर्ने निर्णय गरी सोही अनुसार कामहरु भइराखेको छ । फलस्वरुपः गत जेठ महिनामा नेपाल बिज्ञापन संघको पहल कदमीमा आन, नेपाल मिडिया सोसाईटी तथा मिडिया एलायन्स नेपाल सहित गरी ४ वटा ब्यबसायिक संगठनहरुबीच बिज्ञापन सम्बन्धमा एउटा ब्यबसायिक सम्झौता सम्पन्न भयो भने बिबिध कानुन र नीतिका कारण हाल संकुचित मिडिया उद्योग तथा बिज्ञापन बजारको बिकास र बिस्तारका लागि गत पौष महिनामा बिज्ञापनदाता, मिडिया, बिज्ञापन व्यवसायी तथा पेशाकर्मी र नियामक निकायसहित एक बृहत अन्तर्कृया कार्यक्रम पनि सम्पन्न भएको छ । यी यस्ता काम कारवाहीले गर्दा हामी नेपालमा बिज्ञापन क्षेत्र एउटा लगानी योग्य सिर्जनशिल व्यवसायिक क्षेत्रका साथै मर्यादित पेशा पनि हो भन्ने सामाजिक र आर्थिक मान्यता स्थापन गर्न सफल हुने छौं भन्ने बिश्वास लिएका छौं ।