
नेपाललाई आर्थिक रुपमा बलियो बनाउने उच्चतम भूमिकामा रहेका निजी क्षेत्रका थुप्रै उद्योग र उद्योगीहरूले पसिना बगाइरहेका छन्। आफ्नो लगाव र क्षमताले नेपाल बाहिरसमेत लगानी विस्तार गर्ने सिमित उद्योगहरू मध्ये पर्ने सिजी ग्रुपको शीर्ष पदमा रहेर काम गर्ने करणकुमार चौधरीले आफ्नो जीवनको अधिकांश समय उद्यमका विभिन्न क्षेत्रहरूमा आफ्नो अनुभव र लगाव देखाइसकेका छन्।
नेतृत्वका लागि क्षमता देखाइसकेका चौधरीले सिजी होल्डिङ्स, शिक्षा, ऊर्जा र पूर्वाधारलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै नेतृत्व तहमा रहेर काम गरेका छन्। उनै चौधरी अहिले प्रतिष्ठित अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा)को अध्यक्ष छन्। उनको अनुभव र नेतृत्वमा नाडाले गरिरहेको काम र प्रगतिका बारेमा देशसञ्चारकर्मी कपिल भण्डारीले गरेको कुराकानीः
नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको नेतृत्व तपाईंले सम्हाल्नु भएपछि संस्थामा भएका परिवर्तन र प्रगतिहरू के–के हुन्?
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नेतृत्व सम्हालेपछि मेरो ध्यान ‘परिवर्तन’ भन्दा पनि ‘सुधार’ र ‘दिगो विकास’तर्फ केन्द्रित भयो। नाडा एउटा महत्वपूर्ण संस्था हो जसले सम्पूर्ण अटो व्यवसायीको हकहित र प्रगतिका लागि काम गर्छ, र गर्नै पर्छ भन्ने मान्यताका साथ म र मेरो कार्यसमिति लागिपरेका छौँ। नेपालमा अटोमोबाइल व्यवसाय नाजुक अवस्थामा रहँदा हामीले त्यसलाई सकारात्मक दिशातर्फ मोड्न धेरै मिहिनेत गर्यौं। इन्धनबाट चल्ने सवारी साधनहरूमाथि आएका प्रतिकूल नीतिहरूलाई सन्तुलनमा ल्याउन, साथै पार्ट्स र कम्पोनेन्ट व्यवसायमा देखा परेका चुनौतीहरूलाई सम्बोधन गर्न सरकार र सरोकारवालासँग निरन्तर संवाद गर्दै बुँदागत सुझावहरू प्रस्तुत गरेका छौँ। व्यापार प्रवर्द्धन र अटोमोबाइल उद्योगको दीगो विकासको उद्देश्यले, हामीले चीन भ्रमणको क्रममा CCPIT-Auto सँग ऐतिहासिक सम्झौता गरेका छौँ। त्यस्तै, नाडा अटो शोको अवसरमा भारतीय अटोमोबाइल म्यानुफ्याक्चरर्सको संगठन SIAM सँग पनि सकारात्मक छलफल गर्यौं, जसले क्षेत्रीय सहयोगलाई अझ प्रगाढ बनाएको छ।
हामीले अटो क्षेत्रसँग सम्बन्धित सम्पूर्ण सरकारी र गैरसरकारी निकायहरूसँग समन्वय गरी रोजगारी सिर्जना, सीप विकास, र नयाँ प्रविधिको आत्मसात् जस्ता महत्वपूर्ण विषयहरूमा हाम्रो धारणा सशक्त रूपमा प्रस्तुत गरेका छौँ। साथै, प्रादेशिक तहमा तालिम र गोष्ठीहरू सञ्चालन गर्दै प्राविधिक र अप्राविधिक दुबै किसिमका जनशक्तिको विकासमा जोड दिएका छौँ। यसले देशका कुनाकाप्चाका व्यवसायीहरूको आवाजलाई प्रतिनिधित्व गर्न सहयोग गरेको छ। ‘अटोमोबाइल क्षेत्र देशको आर्थिक विकासको मेरुदण्ड हो’ भन्ने विश्वासका साथ हामीले आयोजना गरेको नाडा अटो शो २०२४ इतिहासकै सफलतम शो भएको छ – ८०,००० भन्दा बढी दर्शकको सहभागिताले यसको पुष्टि गर्छ। त्यसैगरी, सडक सुरक्षा र सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई पनि हामीले प्राथमिकताका साथ अगाडि बढाएका छौँ। कुल मिलाएर भन्नुपर्दा, हामीले नाडालाई नीतिगत, संरचनागत र पेशागत हिसाबले थप सक्षम, उत्तरदायी र दिगो बनाउने दिशामा महत्वपूर्ण फड्को मारेका छौँ।
तपाईंले हिजो वाहिर बसेर बनाएका सोच र योजनाहरूलाई नेतृत्वमा पुग्दा कार्यन्वयन गर्न कति सहज हुँदो रहेछ? अनि यो भित्र कस्ता-कस्ता अवरोधहरू तपाईंले झेल्नु भयो, नेतृत्वमा चुनौतीहरू के-के हुँदा रहेछन्?
नेतृत्वको भूमिकामा सबैभन्दा ठूलो चुनौती भनेको विभिन्न सोच, अनुभव र दृष्टिकोणहरूलाई अँगाल्दै, तिनलाई साझा उद्देश्यतर्फ सकारात्मक ढंगले मोड्नु हो। गाह्रो या सजिलो भन्ने कुरा धेरै हदसम्म सोचिने तरिकामा निर्भर हुन्छ। नाडासँग आबद्ध सबै व्यवसायीहरूको एउटै उद्देश्य — अटो क्षेत्रको समृद्धि र दिगो विकास — छ। म त्यसैलाई मध्यनजर राख्दै सबैको विचारलाई आत्मसात् गर्दै अगाडि बढिरहेको छु। नेतृत्वमा हुँदा नीति निर्माणदेखि कार्यान्वयनसम्म विभिन्न तहमा समन्वय गर्नु पर्छ। कतिपय अवस्थामा सरकारी निकायसँग समयमै संवाद हुनु, फरक-फरक अपेक्षा र प्राथमिकता सम्हाल्नु, र सबैलाई एउटै दिशामा ल्याउनु चुनौतीपूर्ण हुन्छ। तर ती चुनौतीहरूलाई अवसरको रूपमा लिएर, सहकार्य र साझा दृष्टिकोणमार्फत समाधान खोज्न सकिन्छ भन्ने मेरो अनुभव छ।
पटक-पटक प्रयासका बाबजुद प्रदेश स्तरमा हुन नसकेको नाडा शो पहिलो पटक गण्डकी प्रदेशको पोखरामा आयोजनाको तयारी हुँदैछ, यसको तयारी कस्तो छ? अनि यसको उद्धेश्य के हो?
नाडा अटो शो विगतसम्म मुख्य रूपमा राजधानीमै केन्द्रित रहँदै आएको थियो। यद्यपि, लामो समयदेखि यसलाई राजधानीबाहिर लैजानुपर्ने आवाज उठिरहेको थियो र त्यसबारे छलफलहरू पनि भइरहेका थिए। तर विभिन्न कारणले गर्दा यो सम्भव हुन सकेको थिएन। यसपटक पहिलोपटक पोखरामा अटो शो आयोजना गर्न पाउँदा हामी अत्यन्तै उत्साहित र गर्वित छौँ। पोखरामा आयोजना गरिएको अटो शोले पाएको सकारात्मक प्रतिक्रिया हाम्रो लागि निकै प्रेरणादायी बनेको छ। यसले आगामी दिनहरूमा अन्य प्रादेशिक क्षेत्रहरूमा पनि यस्ता शोहरू विस्तार गर्ने मार्ग प्रशस्त गरेको छ। अटोप्रेमीहरू र ग्राहकहरूले एउटै स्थानमा विभिन्न ब्रान्डका सवारी साधनहरू विशेष अफरसहित अवलोकन गर्न पाउनु, साँच्चै नै एक रोमाञ्चक अनुभव हो। हाल केही चुनौतीपूर्ण अवस्थामा गुज्रिरहेको अटोमोबाइल उद्योगलाई यस्तो आयोजनाले ऊर्जा दिने, व्यवसायमा विश्वास बढाउने र समग्र क्षेत्रमा नयाँ आशा थप्ने विश्वास हामीले लिएका छौँ।
आजको दिनमा नेपालमा अटो बजार कस्तो छ? अनि पछिल्लो समय इभीले गरेको आक्रमक बजार विस्तारलाई कसरी हेर्नु हुन्छ?
समग्र रुपमा हेर्ने हो भने अटो वजार निकै नाजुक स्थितिमा छ। अटो क्षेत्रले राष्ट्रिय ढुकुटीमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको विषयमा कुनै द्विविधा छैन। तर दुर्भाग्यवश, यो क्षेत्रप्रति हेर्ने दृष्टिकोण अझै पनि नकारात्मक नै देखिन्छ। नेपालमा अहिले इभि गाडीको माग निकै राम्रो छ, सरकारले इभीमा दिएको प्रोत्साहनले गर्दा यस सेग्मेन्टको माग उल्लेखनीय रूपमा बढेको छ, र ग्राहकहरूमा पनि यसको प्रति विश्वास बढिरहेको छ। तर पछिल्ला नीतिगत परिवर्तनहरूले बजारमा अन्योलता पैदा गरेको छ। साथै, राज्यस्तरबाट चार्जिङ पूर्वाधारको विस्तार नहुनु पनि एक गम्भीर चुनौती बनेको छ, जसका कारण इभीप्रति चाहिएको विश्वास अझै पूर्ण रूपमा स्थापित हुन सकेको छैन।
नेपालको एउटा प्रतिष्ठित उद्योग घरनामा विभिन्न शीर्ष पदमा रहेर काम गर्नु भयो? त्यो अनुभवले नेपालमा लगानी र व्यवसायको वातावरण कस्तो छ?
नेपालमा अपार सम्भावना रहेको छ, तर ती सम्भावनालाई उपयोग गर्न स्थिर नीति र स्पष्ट सोचको आवश्यकता अत्यन्तै महत्वपूर्ण छ। कुनै पनि उद्योग स्थापना गर्न वा व्यवसाय सञ्चालन गर्न ठूलो लगानी आवश्यक पर्छ। जब एक उद्यमी लगानी गर्छ, उनले त्यसमा सुरक्षाको प्रत्याभूति र सकारात्मक प्रतिफलको सम्भावना खोज्नु स्वाभाविक हो। तर यस्तो वातावरण केवल स्थिर, दीगो र विकासमुखी नीतिहरूबाट मात्र सुनिश्चित गर्न सकिन्छ। दुर्भाग्यवश, अहिले हाम्रो देशमा यस्तै नीतिगत स्थायित्वको अभाव छ, जुन सुधार गर्नु आजको आवश्यकता हो।
तपाईंको अनुभव र कार्यदक्षताले आगामी दिनमा नेपालको अटो बजार कहाँसम्म पुग्ने देख्नु हुन्छ? अब पेट्रोल र डिजेलबाट चल्ने सवरी साधनको भविष्य कस्तो होला?
अहिले अटोमोबाइल क्षेत्र केही चुनौतीपूर्ण अवस्थामा छ, तर यो अवस्था स्थायी होइन भन्नेमा हामी विश्वस्त छौँ। बजार फेरि उकासिनेछ र सकारात्मक दिशा लिनेछ। निस्सन्देह, इलेक्ट्रिक भेहिकल (EV) हरू भविष्य हुन् भन्नेमा दुईमत छैन, तर पूर्ण रूपमा बजार EV मै रूपान्तरण हुन भने अझै केही समय लाग्नेछ। हालको सन्दर्भमा पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनहरूको आवश्यकता अझै कायम छ। त्यसैले अहिले नै ती सवारी साधनप्रति निराश हुनु वा हरेस खानु उचित हुँदैन। दुवै प्रविधिलाई सन्तुलित रूपमा अघि बढाउनु समयको माग हो।