- किसुनजी नेपाली राजनीतिमा निष्ठा र सदाचारको प्रतीक थिए, तर आज उनको अनुकरण गर्ने कोही पनि नेता छैनन्।
- उनको जीवनकालमा अमिता कपालीले समर्पण देखाइन्, तर अहिले बाडेगाउँ आश्रमको विद्यमानतामा उनी भारततर्फ लागेकी छन्।
- किसुनजीले जीवनभर सरलता र सत्यनिष्ठालाई प्राथमिकता दिए, जुन गुण अहिलेका नेताहरूमा दुर्लभ बनेको छ।
सन्तनेता कृष्णप्रसाद भट्टराई बाँचेका भए आजको दिनमा १ सय १ वर्षका हुन्थे। आजभन्दा १५ वर्षअगाडि सांसारिक चक्रबाट बिदा भएका किसुनजी भनेर चिनिने यी सन्तनेता नेपाली राजनीतिमा निष्ठा र सदाचारका अकाट्य प्रतीक थिए। उनी सरल थिए, उनी सिद्धान्तनिष्ठ थिए, उनी शक्ति र पैसाको लोभबाट सधैँ टाढा थिए। नेपाली राजनीति इतिहासकै सबैभन्दा संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको अहिलेको समयमा उनले पछ्याएको सद्गुण, सदाचार र निष्ठाको अभाव खट्किएको प्रतीत हुन्छ।
दुर्भाग्य, किसुनजीको सदाचारको यात्रालाई पछ्याउने परै जाओस्, आजको दिनमा उनलाई सम्झनेसम्म फुर्सद कसैलाई छैन। सरकारले उनको जीवनकालको अन्तिम घडीतिर उनलाई दिएको बाडेगाउँस्थित निवास जेनजी तोडफोडमा खरानी भएपछि उनको भौतिक सम्झना पनि सधैँका लागि विलीन भएको छ। त्यहाँ रहेका उनका डायरीहरू, अप्रकाशित उपन्यास ‘सेन्सर सुब्बाको भ्रम’को पाण्डुलिपि र थुप्रै अप्रकाशित सामग्रीहरू जेनजी तोडफोड र आगजनीको सिकार बने। उनले ७० वर्षभन्दा लामो समयदेखि नित्य पढिरहेको पहेँलो कपडाले जतनसँग मोडिएको श्रीमद्भागवत गीताको पुरानो किताब पनि ‘जेनजी’हरूको निसाना बन्यो। किसुनजीले जीवनको अन्तिम समय बिताएको र उनी बितेर गएपछि उनको सरलता र निष्ठाको गुणगान गाउने थलो बाडेगाउँस्थित निवास पनि नरहेपछि उनको भौतिक उपस्थिति पनि पूर्णतया: शेष भएको छ।
किसुनजीको जीवनकालका पछिल्ला २५ वर्ष र उनी बितेर गएपछिका १५ वर्ष उनकै श्रद्धा र समर्पणमा जीवन अर्पण गरेकी अमिता कपाली पनि बाडेगाउँ आश्रमको अनुपस्थितिमा सन्यासीको जीवन बिताउन भारततर्फ लागेकी छन्। जसरी राजनीतिमा किसुनजीको भर्याङ टेकेर सत्ताआरोहण गरेर नेताहरूले अहिले उनलाई सम्झनसम्म कञ्जुस्याइँ गरिरहेका छन्, उनको सेवामा जीवनकाल अर्पण गरेकी अमिता पनि कहाँ गइन्, के गर्दैछिन् भन्ने चासो कसैलाई छैन। धन्न किसुनजीले दिएको अध्यात्मको विरासत थियो जसको बलमा अमिताले भारतमा आफ्नो आध्यात्मिक यात्रा अगाडि बढाइरहेकी छन्।
किसुनजीको जीवन र उनले पछ्याएका गुणहरू बिष्मयकारी लाग्छन् मलाई। उनी बनारसमा जन्मिए र त्यहाँ नै एमएसम्मको पढाइ सकेर नेपाल आए, प्रजातन्त्र प्राप्तिको आन्दोलनमा सहभागी हुन।
उनको परिवार काठमाडौँको पकनाजोलबाट बनारस बसाइँ सरेको थियो, नेपाली राजपरिवारका एक सदस्यको साथ लागेर। नेपाली कांग्रेसको स्थापनाकालदेखि नै सक्रिय किसुनजीले बनारसमा छँदा सन् १९४२ को भारत छोडो आन्दोलनमा पनि भाग लिएका थिए।
२०१५ सालको निर्वाचनपछि नेपालको पहिलो सभामुख बनेका किसुनजी राजा महेन्द्रको २०१७ सालको अलोकतान्त्रिक कदमपछि लामो समय जेल परे। सिद्धान्तसँग सम्झौता नगर्ने उनको चरित्रका कारण उनले १४ वर्षसम्म सुन्दरीजल जेलमा बिताउनुपर्यो।
नेपाली कांग्रेसका लागि उनी सधैँ नै एउटा तस्बिर र भजाउने सामग्री बनेका छन्, राजनीतिक निष्ठा र सदाचारको विम्वका रूपमा। तस्बिर र कर्मकाण्डमा सीमित उनको उच्च नैतिक चरित्रलाई सच्चा अर्थमा पछ्याउने नेता कांग्रेस वा कुनै पनि पार्टीभित्र छैन।
२०४६ सालको आन्दोलनपछि बनेको अन्तरिम सरकारमा प्रधानमन्त्री बनेका किसुनजीको सम्झना अहिलेको अन्यौलले भरिएको संक्रमणकालमा सान्दर्भिक हुन्छ। २०४७ साल वैशाखमा संविधान निर्माण र आमनिर्वाचनको कार्यभारसहित अन्तरिम प्रधानमन्त्री बनेका किसुनजीले ६ महिनामै संविधान लेखनको कार्यभार पूरा गरे र अर्को ६ महिनामा आमनिर्वाचन गराए। २०४८ सालको आमनिर्वाचनमा किसुनजी काठमाडौँ १ बाट नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीसँग पराजित भए। उनको पराजयमा कांग्रेसभित्र गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा उनीमाथि भएको अन्तरघात महत्त्वपूर्ण कारक बनेको थियो। पराजित किसुनजीले आफ्नो पराजयलाई पनि सहजतापूर्वक लिँदै यसलाई आमनिर्वाचनको निष्पक्षताको प्रतीकका रूपमा बुझ्न आग्रह गरेका थिए।
वर्तमान प्रधानमन्त्री सुशीला कार्की सरकारले फागुन २१ गते गर्ने गरी तय गरेको प्रतिनिधिसभा निर्वाचनका लागि अब दुई महिनामात्र समय बाँकी रहँदा पनि ‘हुन्छ कि हुँदैन’ भन्ने अन्यौल छ। यस्तो बेला अन्तरिम प्रधानमन्त्रीका रूपमा किसुनजीको सफल कार्यकालको दृष्टान्त सम्झनामा आउँछ। दोस्रोपटक २०५६ सालको आमनिर्वाचनपछि प्रधानमन्त्री बनेका किसुनजी फेरि पनि गिरिजा अन्तरघातको सिकार बने र १० महिनामै सरकार छाड्न बाध्य पारिए। किसुनजीका सरलता र सदाचार गिरिजाको आँखाको तारो बनिरह्यो सधैँ।
कांग्रेसले गणतन्त्रको बाटो समातेपछि किसुनजीले यसमा सैद्धान्तिक असहमति प्रकट गर्दै पार्टी त्याग गरेको घोषणा गरेका थिए। यद्यपि नेपाली कांग्रेसका लागि उनी सधैँ नै एउटा तस्बिर र भजाउने सामग्री बनेका छन्, राजनीतिक निष्ठा र सदाचारको विम्वका रूपमा। तस्बिर र कर्मकाण्डमा सीमित उनको उच्च नैतिक चरित्रलाई सच्चा अर्थमा पछ्याउने नेता कांग्रेस वा कुनै पनि पार्टीभित्र छैन।
किसुनजीसँग जीवनकालभरि एउटा ट्यांका, सुराही र छाता थियो, सम्पत्तिका रूपमा। प्रधानमन्त्रीका रूपमा दुईपटक नै बालुवाटार पस्दा र त्यहाँबाट बाहिरिँदा उनको सम्पत्ति त्यत्ति नै थियो। उनले आफ्नो सक्रिय जीवनकालभरि राज्य र कसैबाट कहिल्यै केही लिएनन्। उनको त्यही ट्यांका, सुराही र छाता पनि ‘जेनजी’हरूको आगजनीको सिकार बने। जीवनको उत्तरार्धमा सरकारले उनका लागि दिएको बाडेगाउँ आवास पनि खरानी भएपछि अब उनी नेपाली राजनीतिबाट भौतिक रूपमा पनि बिलाएका छन्। उनले पछ्याएको उच्च नैतिकता र सिद्धान्तनिष्ठ चरित्र त नेपाली राजनीतिज्ञहरूको हृदयबाट उहिल्यै बिलाइसकेकै थियो।
किसुनजी, तपाईँलाई अब सबैले बिर्सिगए। तपाईँ मुक्तिको यात्राको कुरा गर्नुहुन्थ्यो, त्यो परम मुक्ति सम्भवत: तपाईँले आफ्नै जीवनकालमा पाउनुभयो। अब त तपाईँ नेताहरू र तिनका आसेपासेका सम्झनाहरूमा पनि मुक्त हुनुभयो।
भर्खरै
लोकप्रिय
