- महावीर पुनले टिकोट गाउँमा पुगेर सरल र फरक तरिकाले मतदातासँग चुनावी अपिल गरे, जसले धेरैलाई प्रभावित बनायो।
- वैज्ञानिक अभियन्ता पुनको चुनाव प्रचारमा पारदर्शिताको महत्व रहेकाले चन्दा संकलनका नाम सार्वजनिक गरे र गोप्य रहने आश्वासन दिए।
- महावीर पुनले आफ्नो सहज र प्रतिबद्ध शैलीको कारणले विभिन्न राजनीतिक दलहरूलाई चुनौती र मतदातामा आशा जगाएका छन्।
अभियन्ता महावीर पुनले सोमबार बिहान फेसबुक पेजमा एउटा भिडियो पोष्ट गरी लेखे- ‘म्याग्दीको टिकोट गाउँमा आज बिहानको दृष्य हेर्नुहोस्।’
दृष्यमा हेर्न लायक उनी र उनको पृष्ठभूमिमा टिकोट गाउँ छ। गाउँलेहरूलाई यसरी आग्रह गर्छन्- ‘सुन्नुहोस् टिकोट गाउँका दाजुभाइ दिदीबहिनीहरू, महावीर पुन हिजो राति ११ बजे आएको हो। हिजो राति को-को आउनु भएको थियो ठीकै छ, भेट भयो। हिजो राति आउन नसक्नु भएकाहरू म टिकोटमा आएको छु। महावीर पुनलाई तपाईंहरूले चिन्नु भएकै छ। महावीर पुनलाई मन पर्छ भने ‘त्रिभुज’ चिन्हमा भोट दिनुहोस्। मन पर्दैन भने नदिए पनि केही हुँदैन ल। ल आउनुहोस् टिकोटबासीहरू। बल्ल बल्ल धेरै वर्षपछि तपाईंहरूको गाउँमा आइयो।
उनको जीवनशैली जति सरल थियो/छ त्यति नै सरल चुनावी प्रचार-प्रसार देखिएको छ। परम्परागत राजनीतिबाट बिल्कुलै फरक तर अर्ग्यानिक टोनमा उनी भन्छन्, ‘तपाईंलाई जो ठीक लाग्छ, उसैलाई भोट दिनुस्।’
आइतबार दोसल्ले गाउँमा पुगेका पुनले स्थानीयहरूसँग भेटघाट गर्दै भने, ‘दोसल्ले गाउँमा सुनखानी नभए पनि सुन्तलाको खानी छ। सुन्तलाको साहु भने पनि हुन्छ, हैन। सुन्तले साहु। ल चुनाव प्रचारमा आएको हुँ।’
म्याग्दीका स्वतन्त्र उम्मेदवार महावीर पुनको चुनाव प्रचार-प्रसार गर्ने शैली देखेर कतिलाई दिक्क लाग्ला, कतिलाई आश्चर्य! पूर्वशिक्षामन्त्री पुन सरकारबाट राजीनामा दिएर चुनावी प्रतिष्पर्धामा ओर्लिएका हुन्।
उनको जीवनशैली जति सरल थियो/छ त्यति नै सरल चुनावी प्रचार-प्रसार देखिएको छ। परम्परागत राजनीतिबाट बिल्कुलै फरक तर ‘अर्ग्यानिक’ टोनमा उनी भन्छन्, ‘तपाईंलाई जो ठीक लाग्छ, उसैलाई भोट दिनुस्।’
तर राजनीति मैदानमा लामो दौडमा भिड्दै आएका अनुभवी नेताहरू भने आफ्नै शैलीमा मत माग्न व्यस्त छन्।
पटकपटक सत्तामा पुग्नेहरुको भोट माग्ने शैली आग्रहभन्दा पनि धम्की जस्तो सुनिन्छ। ठूला भाषण, महँगा वाचा र योजनाबद्ध कार्यक्रमबीच शान्त, सरल र मौन शैलीले अघि बढ्ने पात्र स्वाभाविक रूपमा आकर्षणको केन्द्र बन्छ। महावीर अहिले त्यही अपवादका रूपमा बहसको केन्द्रमा छन्।

एक अभियन्ता र रचनात्मक विद्रोही, पुनले सन् २००७ मा एशियाको नोबेल पुरस्कार भनिने ‘रोमन म्यागासेसे पुरस्कार’ जिते। अमेरिका छोडेर नेपालमै केही गर्न फर्किए। विज्ञान तथा प्रविधिको क्षेत्रमा केही गर्ने हुटहुटी राखेर राष्ट्रिय आविष्कार केन्द्र सुरू गरे।
केन्द्रमार्फत देशमा अनुसन्धान अनि नवप्रवर्तन स्थापना गर्नका लागि वर्षौं राज्यलाई गुहारे। सत्ता सञ्चालकहरूलाई जति झकझक्याउँदा पनि हैरानी अनि परिणामहीनताको नमीठो तर शिक्षामूलक अनुभव मात्र पाए उनले। तर उनले हार खाएनन्। बरू आफ्नो काम गर्ने दायरालाई अझै फराकिलो बनाउँदै पुन वीरगन्ज कृषि औजार कारखाना पुनःस्थापित गर्ने उद्देश्यमा लागे। सरकार बन्ने र ढल्ने गर्यो तर उनको उद्देश्य टुटेन। आर्थिक जोहोका लागि अनेक मन्त्रालय दौडिए। आर्थिक जुटाउन हम्मे-हम्मे भएपछि उनले आफ्नै जीवन संघर्षमाथि ‘महाबीर पुन: सम्झना सपना र अबिरल यात्रा’ किताब लेखे। अनि देशभरि किताब बेच्न हिँडे। करिब एक करोड किताब बेच्ने उद्देश्यले हिँडेका महावीरलाई जेन-जी आन्दोलन पछि बनेको सुशीला कार्कीको सरकारले टपक्क टिपेर शिक्षा मन्त्री बनाइदियो। जेनजी आन्दोलनपछि परिबन्दले मन्त्री बनेका थिए उनी।
मन्त्रालयमै खाने बस्ने र २४ घण्टा काम गर्न लागेका पुनले शिक्षा क्षेत्रलाई सुधार्न राष्ट्रिय सभामार्फत केही कानुन बनाउन खोजे। तर सम्भव भएन।
देश बनाउन हिँडेका अभियन्ता महावीरलाई राजनीतिले यसरी तान्यो कि स्वतन्त्र उम्मेदवारीकै घोषणा गरे। ‘जनता र देशका लागि केही गर्न पहिले आफू सही ठाउँमा पुग्नुपर्ने रहेछ। मन्त्री पदमा रहेर निर्वाचनमा जान नमिल्ने भएकाले राजीनामा दिएँ र काठमाडौंबाट सिधै म्याग्दी आएर उम्मेदवारी दर्ता गराएँ,’ उनले भनेका थिए।
देशमा केही हुँदैन, केही गर्न सकिंदैन भन्ने भाष्यको प्रतिरोध गर्दै आएका महावीर पुनलाई चुनावका लागि जनतासँग चन्दाको आह्वान गरे। जसले जति सहयोग गरे तिनको नाम-दाम सबै सार्वजनिक गरे। गोप्य राख्न चाहनेका लागि गोप्य नै राखिदिए। चुनाव लड्नका लागि उनले कहिले हिँडेर कहिले त सार्वजनिक गाडी चढेर हिँडेका छन् ।

यसरी हिँडिरहँदा कतै बाटो पुगेका र बत्ती पुगेकोमा खुलेर सामाजिक सञ्जालमा लेख्छन्- ‘पहिलाको सरकारहरुले बनाई दिएको बाटोमा गाडीमा फिलिली गएर चुनाव प्रचार प्रसार र भेटघाट गर्दैछु। उज्यालो को लागि बिजुली बत्ति पनि छ। धन्यवाद पुरानो सरकारहरू।’
पुनले मतदातालाई झुटा आश्वासन बाँडेका छैनन्। ‘चुनावमा हारेर को मर्या छ र? उनी आफ्नो क्षेत्रका जनतालाई भन्छन्, ‘होइन जितिन्छ हैन पक्का जितिन्छ। त्यस कारणले तपाईहरूले बिचार गर्नुहोस्। भोटका लागि कसैलाई करकाप लाउने होइन भन्छु म। कसैको दबाबमा भोट दिने होइन। भोट भन्ने चिज आफ्नो दिमाग प्रयोग गरेर, दिमागले सोचेर राम्रो मान्छेलाई दिने हो।’
सत्तास्वार्थमा अल्मलिएर, राष्ट्रिय दायित्व निर्वाह गर्न उदासीन जस्तै भएका राजनीतिकर्मीहरूको जगजगी भएको मुलुकमा महावीर पुन जसरी आफ्नो अभियानमा लागे, अभियानलाई सफल पार्न जुन भाषा र शैली थियो चुनावताका पनि उस्तै छ।
उम्मेदवारको घोषणा पछि नेता तथा उम्मेदवारहरू चिल्ला गाडी र जम्बो टोली लिएर आफ्नो क्षेत्रमा आफ्ना प्रतिद्वन्द्वीलाई भरमार होच्याउने कोशिश गरिरहेका छन्। महाबीर कसैलाई गाली गर्दैनन्। कसैलाई होच्याउँदैनन्।
प्रविधि, नवप्रवर्तन र आत्मनिर्भरताको माध्यमबाट देशलाई अगाडि बढ्ने बाटो देखाउन कोसिसरत छन् पुन। उनको सोच, संघर्ष र समर्पणले हरेक नेपालीलाई आफ्नै देशमै केही गर्न सकिन्छ भन्ने आशा जगाउँछ। आफूले पाएको अवार्ड र पुरस्कार बेचेर राष्ट्रिय आविष्कार केन्द्रलाई प्रभावकारी बनाउने महावीरलाई धेरैले त बौलायो भने।
सोमबार मात्रै एमाले नेतृ रामकुमारी झाँक्रीले पुनलाई सार्वजनिक रुपमै अपशब्द बोलिन्- ‘गरी खान धौ भएर मागी खाने मान्छे… जहाँ कला र गला बिक्न सुरु हुन्छ…त्यसपछि मागी खान हिँड्ने हो… एउटा बेकुफ मन्त्री… ।’
पुनले झाँक्रीलाई प्रतिकार स्वरुप गाली गरेनन्। होच्याएनन्। मंगलबार आफ्नो फेसबुक पेजमा सिंगो एमालेलाई सुझाव लेखे- ‘एमालेमा यस्तै यस्तै कुबुद्धि भएका हावा नेताहरू निस्के भने एमाले सिद्धिएर जान्छ। आफुले नै गरिखान नसके पछि हावा गफ गर्ने, अरुलाई गालीगलौज गर्ने र आफु भन्दा जान्ने कोहि छैन भन्ने एमालेका साथीहरू लाई मेरो सुझाव- तपाईंहरू भन्दा सत्बुद्धि भएका अरू मान्छेहरू पनि नेपालमा छन्। आफूहरू मात्र राम्रो र अरू सबै नराम्रो भनेर नसोच्नु होला। तपाईंहरूलाई जनताले चिनिसकेका छन्। एमालेका नेताहरूलाई भगवानले सत्बुद्धि दिउन्।’
उनको काम गर्ने शैली, लगन र निरन्तरतालाई मन पर्दैनथ्यो भने विभिन्न राजनीतिक दलले पार्टीमा आवद्ध हुन प्रस्ताव गर्थेनन् होला। ‘निर्वाचन जितेपछि जनताको चाहना अनुसार योजना बनाएर म्याग्दीका विभिन्न क्षेत्रको विकासमा अघि बढ्नेछु,’ उनले भनेका थिए।
नेपाल वायरलेस नेटवर्किङ परियोजनामार्फत शिक्षा, स्वास्थ्य र विकासमा योगदान पुर्याएका पुनलाई वायरलेस इन्टरनेटको क्षेत्रमा पुर्याएको योगदानका रुपमा स्थापित पुनलाई स्थानीयहरूको राम्रै साथ पाएका छन्।
उनी जुन गाउँमा पुगे पनि धेरै बोल्दैनन्। विकासको मुल फुटाउने कुरा गर्दैनन्। सपना बाँड्दैनन्। अहिलेसम्म कुनै उम्मेदवारको बारेमा नकारात्मक टिका टिप्पणी गरेको छैनन्। बरू स्थानीयसँग भेट भएकोमा धन्यवाद दिन्छन्। महावीर गुटुटुटुङ चुनाव प्रचारमा हिँडेको बताउँछन् । जहाँ बस्छन् त्यहाँ खान्छन्, त्यहाँ हुने स्थानीय उत्पादन तथा परिकार र होम होष्टेको बारे खुलेरै प्रंशसा गर्छन्। अग्ला पहाडका खोँचमा लुकेका गाउँको नाम भन्दै चुनाव प्रचार-प्रसारको गन्तव्य बनाउँछन्।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८,नागीका महाविर पुनको स्वतन्त्र उम्मेदावारीले आफ्नो बलियो पकड भएका क्षेत्रमा समेत राजनीतिक दललाई चुनौती थपिएको छ। निर्वाचन आयोगका अनुसार म्याग्दीमा १३ जना उम्मेदवारहरू चुनावी मैदानमा छन्।
भर्खरै
लोकप्रिय
