- मुगु जिल्लाका युवाहरूले इन्टरनेट सेवा दुर्गम क्षेत्रमा प्रभावकारी नभएको भन्दै सरकारलाई समस्या समाधानको माग गरेका छन्।
- ज्ञापनपत्रमा ४५ वडामध्ये केवल ३० वडामा सीमित कभरेज भएको र ५%भन्दा कम व्यक्तिलाई इन्टरनेट पहुँच रहेको उल्लेख छ।
- मन्त्री तिमल्सिनाले कर्णालीलाई प्राथमिकता दिइने प्रतिवद्धता जनाउँदै ४जी सेवा विस्तार अभियान अघि बढाउने जानकारी दिए।
मुगु – मुगु जिल्लाका युवाहरूले दुर्गम क्षेत्रमा अझै प्रभावकारी इन्टरनेट र मोबाइल सेवा नपुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। सरकारले सार्वजनिक गरेको १०० दिने नीति तथा कार्यक्रममा कर्णालीका यस्ता समस्या समेटिन नसकेको उनीहरूको गुनासो छ।
मुगुका युवाआशिष देवकोटाको नेतृत्वमा गएको मुगाली युवा टोलीले सूचना तथा सञ्चार प्रविधि मन्त्री विक्रम तिमल्सिनासँग भेट गरी जिल्लाको वास्तविक अवस्था, भौगोलिक चुनौती र समाधानका उपायसहित सुझाव प्रस्तुत गरेको हो।
उनीहरूले प्रस्तुत गरेको ज्ञापन पत्रमा उल्लेख तथ्यांकअनुसार मुगुमा रहेका २४ टेलिकम टावरमध्ये केवल १२ वटामा मात्र 4G सेवा सञ्चालनमा छ भने बाँकी स्थानमा अझै 2G वा कमजोर नेटवर्कमै नागरिक निर्भर छन्। जिल्लाका ४५ वडामध्ये करिब ३० वडामा मात्र सीमित कभरेज पुगेको छ। प्रभावकारी इन्टरनेट पहुँच ५ प्रतिशतभन्दा कम रहेको छ ।
करिब ६४ हजार जनसंख्या रहेको जिल्लामा अधिकांश नागरिक अझै डिजिटल सेवाबाट वञ्चित रहेको भन्दै युवाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। ज्ञापनपत्रमा करिब ९५ प्रतिशत नागरिक भरपर्दो इन्टरनेट सेवाबाट वञ्चित रहेको, गाउँसम्म सरकारी सूचना नपुगेको तथा 4G सेवा विस्तारमा कर्णालीलाई प्राथमिकता नदिइएको उल्लेख गरिएको छ।
दूरसञ्चार सेवाको अभावकै कारण करिब ६० प्रतिशत नागरिक गाउँबाट शहरतर्फ बसाइँसराइ भएको दाबी गर्दै युवाहरूले तत्काल सुधार नभए गाउँहरू रित्तिने चेतावनी दिएका छन्। कतिपय स्थानमा मोबाइल सिग्नल पाउन डाँडामा पुग्नुपर्ने बाध्यता अझै कायम रहेको उनीहरूको भनाइ छ।
युवाहरूले मुगुको अवस्थालाई अन्तर्राष्ट्रिय सन्दर्भसँग तुलना गर्दै राज्यले कर्णालीलाई बारम्बार उपेक्षा गरेको आरोप लगाएका छन्। साथै, आगामी योजना तथा कार्यक्रममा मुगु लगायत दुर्गम जिल्लालाई प्राथमिकतामा राख्न आग्रह गरेकाे देबकाेटाले बताए ।
जवाफमा मन्त्री तिमल्सिनाले हाल देशभर करिब १२०० टावरमार्फत 4G सेवा सञ्चालनमा रहेको र थप ३००० टावर निर्माण प्रक्रिया अघि बढाइएको जानकारी दिए। उनले कर्णाली प्रदेशलाई प्राथमिकतामा राखेर सेवा विस्तार गरिने प्रतिबद्धता जनाएकाे पनि देबकाेटाले जानकारी दिनु भयाे ।
युवाहरूले यसअघि पनि विभिन्न मन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेको उल्लेख गर्दै अब योजना मात्र नभई शीघ्र कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्। उनीहरूले सबै वडामा 4G सेवा विस्तार, टावर स्तरोन्नति तथा दुर्गम क्षेत्रमा विशेष बजेट व्यवस्था गर्न माग गरेका छन्।
मुगु जिल्लाका सोरु, मुगुम कार्मारोंग, खत्याड गाउँपालिका तथा छायाँनाथ–रारा नगरपालिकामा दूरसञ्चार सेवा अझै कमजोर रहेको भन्दै स्थानीयले छिटो सुधारको अपेक्षा गरेका छन्।
भर्खरै
लोकप्रिय
