- नेकपा नेता पुनले प्रधानमन्त्री शाहलाई भैरहवा विमानस्थलको एयर मार्गका लागि भारतसँग कूटनीतिक संवाद प्रारम्भ गर्न आग्रह गरे।
- पुनले लुम्बिनी प्रदेशमा सिंचाई, मल, बिउ, र आधुनिक कृषि औजारमा एकीकृत विकास परियोजना अघि बढाउन सिफारिस गरे।
- शहीद मार्ग निर्माण तथा गण्डकी आर्थिक त्रिभुज परियोजना अघि बढाउन बजेट व्यवस्था गर्न पुनले सरकारमा जोड दिए।
काठमाडौँ – नेकपाका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई विभिन्न विकास आयोजना निर्माणलाई तीव्रता दिन सुझाव दिएका छन्।
प्रधानमन्त्री शाहले सोमबार लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुसँग छलफल गरेका थिए । उक्त छलफलमा सहभागी भएका पुनले आफू निर्वाचित भएको रोल्पा तथा लुम्बिनी प्रदेशका चालु विकास आयोजना र केही नयाँ परियोजनालाई प्राथमिकतामा राखेर काम अघि बढाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए हुन्।
पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तत्काल सञ्चालनमा ल्याउन प्रधानमन्त्रीलाई भने।
पुनले अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि हवाई मार्गका विषयमा भारतसँग कूटनीतिक संवाद अघि बढाउन ढिलाई गर्न नहुनेमा जोड दिए । ‘भैरहवा विमानस्थलमा श्रम डेस्क राखेर अन्तर्राष्ट्रिय उडान नियमित गरेर पर्यटन क्षेत्रमा सम्भावनाको ढोका खोल्न अब ढिला गर्नु हुँदैन’, पुनले भने, ‘अन्तर्राष्ट्रिय हवाइ मार्गका लागि भारतसँग कूटनीतिक पहल गर्न सम्माननीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।’
पुनले दाङको कोइलाबास–रोल्पा–रुकुम हुँदै डोल्पा जोड्ने शहीद मार्ग निर्माणको कामलाई गति दिन माग गरे । उत्तरी छिमेकी चीनको सीमासम्म छुने उक्त सडकको रणनीतिक महत्व रहेको बताए ।
उनले शहीद मार्गको घोराही–होलेरी– खण्ड कालोेपेत्र तथा रोल्पाको सुलीचौरदेखि उवासम्म स्तरोन्तिका लागि बजेट व्यवस्था गरिदिन आग्रह गरे । पुनले रोल्पास्थित माडी बहुउद्धेश्यीय जलविद्युत आयोजनाको काम अघि बढाउन पनि सरकारसँग माग गरे ।
पुनले आफू अर्थमन्त्री भएका बेला आर्थिक वर्ष ०८१÷०८२ को बजेटमा समावेश गरिएको गण्डकी आर्थिक त्रिभुज परियोजना अघि बढाउनुपर्नेमा पनि जोड दिए ।
यस्तै पुनले कृषि उत्पादनका लागि देशकै उर्बर भूमि रहेको लुम्बिनी प्रदेशमा सिंचाई, मल, बिउ, आधुनिक कृषि औजार र बजार व्यवस्थापनसहित एकीकृत विकास परियोजना अघि बढाउन सुझाए ।
भर्खरै
लोकप्रिय
