- नेकपा एमाले नेतृत्वले विशेष महाधिवेशनको माग गर्दै सुरु भएको हस्ताक्षर अभियान बन्द नगरे कारबाही हुने चेतावनी दिएको छ।
- कार्यवाहक अध्यक्ष बादलले विद्रोह दबाउनसक्ने बताएका बेला अभियानकर्ताहरूले आफ्नो आवाज दबाउने प्रयास भएको प्रश्न उठाए।
- महासचिव पोखरेलले अभियान रोक्न दबाब दिए पनि हस्ताक्षरकर्ताहरूले स्पष्ट लिखित प्रतिबद्धता बिना नरोकिने बताए।
काठमाडौँ – नेकपा एमालेले पार्टीभित्र नेतृत्व परिवर्तन र विशेष महाधिवेशनको माग गर्दै सुरु गरिएको हस्ताक्षर अभियान तत्काल बन्द गर्न चेतावनी दिएको छ।
मंगलबार पार्टी कार्यालय च्यासलमा कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेलले अभियानका नेतृत्वकर्ताहरूलाई बोलाएर यस्तो निर्देशन दिएका हुन्। अभियान नरोके कारबाहीसम्म हुन सक्ने चेतावनी नेतृत्वले दिएको छ।
विशेष महाधिवेशनको पक्षमा दबाब बढाइरहेका एमाले बुद्धिजीवी परिषद्का अध्यक्ष गजेन्द्र थपलिया र अनेरास्ववियुका उपमहासचिव कमल जोशीलगायतका नेताहरूलाई पार्टी मुख्यालयमा बोलाइएको थियो।
छलफलका क्रममा कार्यवाहक अध्यक्ष बादलले परिस्थिति अनुसार पार्टीले विद्रोह दबाउन सक्ने बताएपछि दुई पक्षबीच भनाभन समेत भएको थियो। जवाफमा अभियानकर्ताहरूले राज्यविरुद्ध बन्दुक उठाएर आएका नेताले युवाहरूको लोकतान्त्रिक आवाज दबाउन खोजेको भन्दै प्रश्न गरेका थिए।
छलफलमा महासचिव पोखरेलले अभियान रोक्न दबाब दिए पनि अभियानकर्ताहरूले स्पष्ट र लिखित प्रतिबद्धता विना हस्ताक्षर नरोकिने अडान लिएका छन्।
उपाध्यक्ष विष्णु पौडेलले भने स्थितिलाई साम्य पार्न मध्यमार्गी उपाय अपनाउन आग्रह गरेका थिए। नेतृत्वले केन्द्रीय कमिटीमा प्रस्ताव लैजाने मौखिक आश्वासन दिए पनि लिखित प्रतिबद्धता जनाउन अस्वीकार गरेपछि छलफल विना निष्कर्ष टुङ्गिएको छ।
गत फागुन २१ को निर्वाचनमा पार्टीले भोगेको नतिजालाई लिएर एमालेभित्र युवा, विद्यार्थी र बुद्धिजीवीहरू नेतृत्वप्रति रुष्ट देखिएका छन्।
‘जेनजी’ आन्दोलनको भावना अनुसार पार्टीमा आमूल परिवर्तन र अध्यक्ष केपी शर्मा ओलीसहित दोस्रो र तेस्रो पुस्ताका नेताहरूले सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने आवाज उठेको छ।
तर, संस्थापन पक्ष भने तत्काल नेतृत्व छाड्ने वा विशेष महाधिवेशन बोलाउने पक्षमा देखिएको छैन।
भर्खरै
लोकप्रिय
