- श्रीकृष्णलाई प्रेम सम्बन्धकै कारण हिरासतमै मारिएको आरोप लगाउँदै उनकी आमाले देखाएको जाहेरी दर्ता गर्न प्रहरीले मानेन।
- बिन्दामायाका अनुसार प्रेम विवाह गरेर छोरो फसेको भन्दै कठोर मानसिक यातना दिँदै हत्या गरिएको हो।
- प्रहरीले आत्महत्या बताएको घटनामा अनुसन्धान समिति बनेको छ, तर आमाको न्यायका लागि संघर्ष जारी छ।
‘मेरो श्रीकृष्णलाई हिरासतमै मारिदिए।’
सिन्धुलीको सुनकोशी गाउँपालिका- ३ को श्रीकृष्ण विककी ४७ वर्षीय आमा बिन्दामायाले भनिन् र आफ्नै हातको कागज हेरिन्। त्यो किटानी जाहेरीको दरखास्त थियो जसलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले १५ गते मंगलबार दर्ता गर्न मानेन। अनि त्यही कागज बोकेर उनी न्याय खोज्न काठमाडौँ आएकी हुन्।
‘छोरोको न्यायका लागि सत्यतथ्य छानबिन होस र दोषीलाई कार्वाही होस् भनेर जाहेरी दिन गएँ तर दर्ता गरिदिनु भएन। अब न्याय खोज्न कहाँ जाउँ?’ विन्दाले रूदैरुँदै भनिन्।
‘बाहुन-क्षेत्रीको छोरीसँग प्रेम विवाह गर्यो भन्दैमा बलात्कारी बनाउन पाइन्छ? बलात्कार आरोपमा फसाउने। सबै प्रेम गर्नेहरू बलात्कारी हुन् त?’ उनले प्रतिप्रश्न गरिन्।
बिन्दामायालाई छोरो गुमाउनुको पीडा छ नै, इलाका प्रहरी तथा जिल्ला प्रशासनलगायतले आफूलाई हप्काउने गरेको बताउँछिन् उनी। मानसिक यातना दिँदै आएको पनि उनले बताइन्। ‘एउटै जाहेरी कतिपटक दर्ता गर्ने अब लिँदैनौँ भन्दै हप्काउँछन्,’ बिन्दामायाले भनिन्।
प्रहरीका अनुसार खोटाङकी एक बालिकासँग अन्तरजातीय प्रेम विवाह गरेका श्रीकृष्णविरुद्ध बालिकाका परिवारले जबरजस्ती करणीको जाहेरी प्रहरी वृत्त सातदोबाटो ललितपुरमा दिएका थिए। सोही आधारमा प्रहरीले उनलाई पक्राउ गरी घटनास्थलको क्षेत्राधिकार पर्ने खुर्कोट पठाएको थियो। र श्रीकृष्णको वैशाख ७ गते प्रहरी हिरासतमा शङ्कास्पद मृत्यु भएको थियो।
‘प्रेम गरेको कारण मेरो छोरोलाई मारिदिए,’ बिन्दामायाले भनिन्। उनको भक्कानो छुट्यो। बिन्दामायासँगै आएकी छोरीले उनलाई समालिन्। भाइको न्यायका लागि आएकी दिदीका आँखा पनि गिला भइदिए।
श्रीकृष्ण काठमाडौँमा गाडी चलाउँथे। दैनिक सवारी चलाउँदै आएका उनको कथित उपल्लो जातकी किशोरीसँग प्रेम थियो। आफ्नो प्रेमकोबारे श्रीकृष्णले आमा विन्दामायासँग भनेका पनि रहेछन्। बिन्दामायाले श्रीकृष्णलाई सम्झाएकी रहेछन्। तर प्रेमको अगाडि बिन्दामायाको केही जोर चलेन। श्रीकृष्णले युवतीसँग प्रेमपूर्वक २८ चैत २०८२ मा १६ वर्षीया प्रेमिकासँग भागी विवाह गरे। ललितपुर सानागाउँस्थित आफ्नै कोठामा श्रीकृष्णले भित्र्याएका थिए।
‘दुई वर्षदेखि उनीहरू प्रेममा थिएँ,’ बिन्दामायाले भनिन्, ‘विवाह गरेर उनीहरू नयाँ वर्ष मनाउन गाउँ आएका थिए। आएकै केही दिनमा लालितपुर सातदोबाटोका प्रहरीले फोन गरेर बोलाए।’
मेरो सोझो छोरो केही अप्ठ्यारो नमानी आयो। अनि प्रहरीले ललितपुरमै मानसिक याताना दिएको थियो। पिटेको पनि रहेछ।’ बिन्दामायाले भनिन् र आफूले बाँचेको समाजलाई सरापिन्।
ललितपुरको सातदोबाटो प्रहरीले पक्राउ गरेर उनलाई सिन्धुलीको खुर्कोट प्रहरीलाई बुझायो। ४ वैशाखमा सिन्धुलीको खुर्कोट हिरासत पुर्याइयो। तीन दिनपछि ७ वैशाखको साँझ ६ बजे प्रहरीले उनले शौचालयमा झुण्डिएर आत्महत्या गरेको खबर दियो।
तर बिन्दा झुण्डिएर आत्महत्या गरेकोमा पत्याउँदिनन्। उनको आरोप छ, ‘प्रहरीले कुटीकुटी मारेको हो।’
हिरासतमा राखिएका श्रीकृष्ण ५ फिटका थिए तर ३ फिटको झ्यालमा झुण्डिएको अवस्थामा भेटिनु, शरीरमा निलडाम हुनु र प्रहरीले सीसीटीभी फुटेज देखाउन आलटाल गर्नुले हत्या नै गरिएको उनको भनाइ छ।
आफ्नै सुतिको सर्टले झुण्डिएर मरेको भन्छन् प्रहरी। सुतिको पुरानो सर्टमा झुण्डिएको भन्छन्। कसरी पत्याउनु। पुरानो सुतिको कपडाले के श्रीकृष्णलाई धान्यो होला ?’ उनी प्रश्न गर्छिन्। स्वयमलाई जिज्ञासु बनाउँछिन्।

प्रहरीले अनेक बाहना बनाएको ठान्छिन् उनी। आफूलाई घटनास्थलसम्म नलगिदिएकोप्रति पनि उनी गुनासो गर्छिन्। भन्छिन, ‘छोरो कहाँ के गरेर ज्यान फ्याँक्यो भनेर मैले हेर्न पाउँदिन। के प्रहरी कार्यलय हो भनेर हामीले घटानास्थल हेर्न नपाउने?’
उनीसँग अनेकन प्रश्न छन्। जसको जवाफ सरकार वा प्रहरीबाट सुन्न चाहन्छिन्। घटनाको बारे ढिलो गरी खबर गर्नुले पनि उनी शंका गर्छिन्। ‘मलाई शव बुझ भनेर मानसिक दबाब दिइरहेका छन्। के मैले न्याय नपाउने,’ उनी भन्छिन्, ‘श्रीकृष्ण स्वयंले पासो लगायो कि कसैले लगाइदिए भन्ने मैले सत्यतथ्य थाहा नपाउने। मेरो प्रश्नहरूको उत्तर नपाएसम्म म लड्ने छ।’
उनको शव वैशाख ११ गते काठमाडौँ ल्याएर पोस्टमार्टम गरिएको हो। बिन्दामायाले शव अझै बुझेकी छैनन्। भन्छिन्, ‘न्याय नपाएसम्म मेरो कृष्णको लास लिँदिनँ।’
प्रहरी के भन्छन्?
मङ्गलवार मृतकको आमाले प्रहरी प्रशासन विरुद्ध किटानी जाहेरी दिँदा नलिएको बारे जिल्ला प्रहरी प्रमुख समेत रहेका प्रहरी उपरीक्षक (एसपी) लाल ध्वज सुवेदीले भने, ‘एउटै घटनामा १० वटा जाहेरी दर्ता हुँदैन। एउटा दर्ता भइसकेकाले पूरक जानकारी लिने हो, जाहेरी लिइरहनु पर्दैन।’
एसपी सुवेदीले छानबिन समिति समेत गठन भएर छानबिन अघि बढिसकेकाले छानबिन समितिको प्रतिवेदनका आधारमा थप कारबाही अघि बढ्ने बताए।
प्रहरीले दर्ता गर्न किटानी जाहेरी अस्वीकार गरेपछि आवश्यक प्रक्रिया अवलम्बनको माग गर्दै श्रीकृष्णकी आमा विन्दामायाले जिल्ला सरकारी वकिलको कार्यालय सिन्धुलीमा निवेदन दिएकी थिइन् तर त्यहाँ पनि अस्वीकार गरियो। त्यसपछि उनी मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ५ अनुसार हुलाकमार्फत जिल्ला सरकारी वकिल कार्यालयमा उजुरी गर्न बाध्य भइन्।
उजुरी प्राप्त भएपछि सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालय वा प्रहरी कार्यालयले त्यसको अभिलेख राखी जाहेरी दरखास्त वा सूचना कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाउनुपर्ने कानुनी व्यवस्था छ। प्रहरी र सरकारी वकिलले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि हुलाकमार्फत दर्ता गरिएको अधिवक्ता कुमार थपलियाले जानकारी दिए।
इलाका प्रहरी कार्यालय सिन्धुलीका तत्कालीन प्रहरी निरीक्षक वसन्तबहादुर भुजेल, जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ९एसपी० लाल ध्वज सुवेदी, सिन्धुलीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) स्किम श्रेष्ठ, सहायक हिरासत इन्चार्ज, प्रहरी वृत्त ललितपुर सातदोबाटोका तत्कालीन प्रहरी इन्चार्ज र हिरासत इन्चार्जविरुद्ध किटानी जाहेरी दिइएको उनको भनाई छ।
नेपाल प्रहरीले श्रीकृष्णको मृत्यु प्रकरणबारे छानबिन गर्न वैशाख ११ गते प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिनेशकुमार आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेर पठाइसकेको छ।
अधिकारकर्मी के भन्छन्?
सिन्धुलीका श्रीकृष्ण विकको न्यायका लागि घटनाका बारे बुझ्न सांसदहरु खुर्कोट नै पुगेका थिए। त्यसै गरी संघीय राजधानी काठमाडौँमा दलित अधिकारकर्मीहरूले सरकारलाई श्रीकृष्णको न्यायका लागि ध्यानाकर्षण गराएका छन्।
दलित सासद, दलित नागरिक समाज र संयुक्त राजनितिक दलित सघर्ष समितिबीच समन्वय बैठक पश्चात रास्वपाका सभापति रवि लामिछानेलाई ज्ञापन पत्र बुझाएका छन्।
बैठकमा सांसद तथा दलित अधिकारकर्मी गणेश विश्वकर्माको घटनाको बारेमा बिस्तृत जानकारी गराउँदै भने,’श्रीकृष्णको आत्महत्या होइन, सुनियोजित हत्या हो।’

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी
त्यसैगरी सांसद गणेश विश्वकर्माले श्रीकृष्ण विकको आत्महत्या नभएको दशवटा आधारहरू रहेको बताउँछन्। साथै श्रीकृष्ण बिकको घटनालाई सत्यतथ्य छानबिन भएन भने दलितहरू सडकमा उत्रिने बताए सांसद विकेले। त्यसैगरी पूर्वराजदूत तथा समता फाउण्डेशनका अध्यक्ष पदम सुन्दासले ‘श्रीकृष्ण बिकको न्यायका सरकार गम्भीर हुनु पर्ने बताए।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नै तयार पारेको जाहेरी दर्ता लिन नमानेपछि पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन्। त्रिपाठी भन्छन्, ‘दलितलाई कहिले आउँछ लोकतन्त्र?’
त्यसैगरी, श्रीकृष्णको न्यायका लागि संयुक्त राजनीतिक दल संघर्ष समीतिका संयोजक दलजीत श्रीपाली २१ गतेसम्म विभिन्न कार्यक्रम दबाबमूलक कार्यक्रम नै गर्न थालेको बताउँछन्, ‘श्रीकृष्णको न्यायका लागि एक भएर अघि बढ्न आह्वान गर्दछु।’
भर्खरै
लोकप्रिय
