- रोहिणी राणाको तेस्रो कुकबुकले फ्युजन खानाका सजिला परिकार प्रस्तुत गर्ने उद्देश्य राखेको छ।
- राणाले खाना पकाउने रुचिलाई परिष्कृत गर्दै राणा परिवारमा प्रवेशपछि पाककलामा सिद्धहस्त बन्न थालेकी थिइन्।
- गौरवशमशेर मकवानपुर पुग्दा पाककलासम्बन्धी किताब लेख्ने सोच जन्मिए पनि, पछि फ्युजन कुकबुकले संसार देख्यो।
रोहिणी राणाको पहिलो कुकबुक पेन्ग्युइन र्यान्डम हाउसले सन् २०२१ मा छाप्यो। त्यसयताका पाँच वर्षमै उनको तेस्रो कुकबुक यही साता प्रकाशित हुँदै छ। उनै रोहिणी राणासँग हामीले यसपटकको देशसञ्चार चौतारीका लागि कुरा गरेका छौँ।
भारतको उत्तर प्रदेशमा जन्मिएर नैनीताल र अजमेरमा पढेकी रोहिणीलाई नेपालको बबरशमशेरको परिवारमा बिहा होला भन्ने कल्पनासम्म थिएन। अजमेरमा बिए अनर्सको परीक्षा आउन तीन दिन बाँकी छँदा उनलाई त्यहाँ नै हेर्न पुगे- गौरवशमशेर जबरा र उनको परिवार। गौरवशमशेरको लामो नामसँग हच्किएकी रोहिणी कालान्तरमा बिहा गरेर त्यही बबरमहलमा आइपुगिन्।
‘इंगेजमेन्ट र बिहेबीचको ८ महिनामा मैले खाना पकाउन खिचेँ,’ खाना पकाउने उनको रुचिको विउ त्यो बेला बल्ल रोपिएको थियो।
‘मेरो पनि खाना पकाउने रुचि रैछ बिस्तारै खाना पकाउने सिपमै पारंगत हुन थालेँ,’ उनले सम्झिन्।
बिहे गरेपछि उनको हातबाट साहित्य छुट्यो र डाडुपन्यू हातमा आयो। राणा परिवारमा एक वर्षसम्म बुहारीलाई कुनै पनि काम लगाउने चलन थिएन। तर बिस्तारै उनी भान्सामा पसिन् र मिठामिठा परिकार बनाएर श्रीमान् गौरवशमशेर राणा र परिवारजनलाई खुसी पार्न थालिन्।
‘बुहारीले पाँचतारे होटलभन्दा मिठो पकाउँछिन् भनेपछि म दंग परेँ’, रोहिणी ससुरा भरतशमशेरले आफ्नो प्रशंसा गरेको सम्झिन्छिन्। एक दिन घरमा उनले केक र स्यान्डविच बनाउँदा ससुरा एकदम खुसी भएपछि रोहिणीलाई बिस्तारै खाना पकाएर परिवारका सदस्यहरूलाई खुसी पार्न प्रेरणा मिल्यो।
गौरवशमशेर मकवानपुरको सुपारीटार ब्यारेकमा प्रमुख भएर पुगेपछि भने खालि समयमा पाककलासम्बन्धी किताब लेख्ने सोच जन्मिएको उनी बताउँछिन्। तर, त्यो बेला खेस्रामा लेखिएका रेसिपी र भूमिका कतै हराए। बल्ल आजभन्दा ७ वर्षअघि फेरि सम्झिएर कुकबुक लेखन सुरु गरेको उनी बताउँछिन्।
उनले २०२१ मा राणा ‘कुकबुक’ निकालिन् भने त्यसपछि नेपालका विभिन्न जातजातिका परिकार ‘नेपाल कुकबुक’ भन्ने संग्रहमामार्फत ल्याइन्।
‘यो साता आउन लागेको मेरो फ्युजन कुकबुकमा भने मैले विभिन्न खानाहरूको फ्युजन रूप पस्केकी छु,’ उनले भनिन्, ‘अहिलेको समयमा खाना पकाउन मानिससँग कम समय छ, यही हिसाबले सजिलो खानाका परिकारहरू यसमा ल्याएकी छु।’
देशसञ्चार चौतारीका क्रममा राणाले खाना कसरी कूटनीतिको भाग पनि हुनसक्छ भन्नेबारे पनि चर्चा गरेकी छन्। उनका लागि खाना सबैभन्दा राम्रो ‘स्ट्रेस बस्टर’ हो। ‘खाना पकाउन भान्सा छिरेपछि म आफूलाई हलुका र तनावमुक्त महसुस गर्छु,’ उनले देशसञ्चार चौतारीका क्रममा भनिन्।
भर्खरै
लोकप्रिय
