- उपाध्यक्ष विष्णु पौडेलले नेकपा (एमाले) को सांगठनिक पुनर्गठनका लागि प्रक्रिया अघि बढाइएको बताएका छन्।
- सचिवालयको बैठकले निर्वाचनको विस्तृत समीक्षा गर्न र पुनर्गठनका लागि एक कार्यदल गठन गर्ने निर्णय गरेको छ।
- पौडेलले चुनावी पराजयका आन्तरिक-वाह्य कारणहरूको गम्भीर समीक्षा गरिने र उन्नति गर्ने योजनामा रहेको बताए।
काठमाडौँ- नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले गत वर्षको फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले सोचेअनुरूप परिणाम प्राप्त गर्न नसकेको स्वीकार गर्दै सांगठनिक पुनर्गठनको प्रक्रिया अघि बढाइने बताएका छन् ।
निर्वाचनमा व्यहोरेको पराजयलाई ‘गम्भीर धक्का’ का रूपमा चित्रण गर्दै उनले यसलाई अस्थायी असफलतामा सिमित राखेर पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने उद्घोष गरेका हुन् ।
पार्टीको पछिल्लो बैठकका निर्णयहरूबारे जानकारी दिँदै उपाध्यक्ष पौडेलले निर्वाचनमा प्राप्त परिणामका आन्तरिक र वाह्य कारणहरूको गम्भीर समीक्षा भइरहेको बताए । उपाध्यक्ष पौडेलले पार्टी हालको अवस्था र कार्यशैलीबाट मात्र अगाडि बढ्न नसक्ने निष्कर्षमा पुगेको जानकारी दिए । सचिवालयको पछिल्लो बैठकले पार्टीको सांगठनिक जीवनलाई पुनर्गठित गर्ने निर्णय गरेको उल्लेख गर्दै उनले त्यसका लागि आवश्यक गृहकार्य शुरु भइसकेको बताए ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले निर्वाचनको विस्तृत समीक्षा गर्न र पार्टी पुनर्गठनसम्बन्धी ठोस प्रश्ताव तयार पार्न एक कार्यदल समेत गठन गरेको छ । उक्त कार्यदलले तयार पार्ने प्रतिवेदन र प्रस्तावका आधारमा एमालेले आगामी रणनीति तय गर्ने उनको भनाइ छ ।
उनले भने, ‘अध्यक्ष कमरेडले पछि राख्नु नै हुनेछ कि हामीले खासगरी यो निर्वाचनमा किन धक्का व्यहोर्नुपर्यो, यसका कारणहरूमा हामी जान चाहेका छौँ । पराजयका कारणहरूमा आन्तरिक कारण के रहे, वाह्य कारण के रहे, देशभित्रका र बाहिरका कारण के रहे, पार्टीभित्रका कारण के रहे—यी सबै कुराको हामी समग्र रूपमा समीक्षा गर्नेछौँ । यसबाट हामी यथोचित ढंगले शिक्षा लिनेछौँ । हाम्रो पार्टी अहिले जस्तो छ, हामी जसरी काम गर्दैछौं, यही रूपमा र यस्तै ढंगले अगाडि बढ्न सक्दैन भन्ने निष्कर्षका साथ हामीले पार्टीको संगठनात्मक जीवनलाई पनि पुनर्गठन गर्नेछौं भन्ने निष्कर्ष सचिवालयको बैठकबाट निकालेका छौँ । त्यो सचिवालयको बैठकले निर्वाचनको समीक्षा गर्ने, समीक्षा प्रश्ताव तयार गर्ने तथा पार्टीको पुनर्गठन सम्बन्धी प्रश्ताव तयार गर्ने प्रयोजनका लागि एउटा कार्यदल निर्माण गरेको छ भन्ने मलाई लाग्छ ।’
उपाध्यक्ष पौडेलले निर्वाचनको धक्कालाई शक्तिमा बदल्न र पार्टीलाई जनताको विश्वासिलो शक्तिका रूपमा पुनस्र्थापित गर्न सांगठनिक सुदृढीकरण अपरिहार्य रहेकोमा जोड दिए ।
भर्खरै
लोकप्रिय
