नाटक ‘अछेता’मा देखिएको कर्णाली र मष्ट परम्परा

नाटक ‘अछेता’मा देखिएको कर्णाली र मष्ट परम्परा
+
-

बाउबाजेले मान्दै आएको मष्ट परम्परा र त्यसले पतुर्ने धामी त्यतिखेर बदलिन्छ जतिखेर आफ्नै काखको नवजात शिशु छोरोलाई बचाउन सक्दैन।

आफ्नै परम्परा र आस्थाको धरोहरमा उभिएर बाँच्दै आएको दल कामी (झकेन बिसी)ले बालक छोरो बचाउन गरेको संघर्ष र कर्णाली खस सभ्यता, संस्कार, संस्कृतिको रिफ्लेक्शन नै नाटक ‘अछेता’ हो।

बत्तिसपुतलीस्थित शिल्पी नाटकघरमा मञ्चन भइरहेको नाटक अक्षताले सिंगो कर्णाली खस सभ्यता संस्कृति र कर्णालीका अनेकन समस्यालाई मिहिनताका साथ देखाउँछ, जहाँका मान्ठा सोही नियति बाँच्न अभिशप्त छन्।

मष्ट परम्परालाई शिरोपर गरी बाँच्दै आएका कर्णालीका मान्ठालाई नेता, समाज र भूगोलले मात्रै होइन देउताले पनि झुक्काइरहेको छ, जसको मार सबैभन्दा बढी दलित समुदायले खेप्नु परेको नाटक ‘अछेता’मा देखिन्छ।

किन दलित समुदायले नै खेप्नु पर्‍यो? त्यसका लागि नाटकमा प्रवेश गरौँ।

झ्याली र दमाहसँगै जब डाङ्ग्रीले धामी पतुर्ने उद्घोष गर्छन् अनि हेराइकुराइ गर्नेहरूको भीड लाग्छ। भानले अछेता मन्छाउँछन्। धामी पतुर्छन्। हेराइ-कुराइ हुन्छ। दान दक्षिणा हुन्छ। त्यही लिएर घर पुगेका दल (झकेन) श्रीमती गीता (सुस्मिता कुवँर) सँग खुसी बाँड्छन्। आफूले गर्दै आएको कर्म र धर्ममाथि गर्वानुभूति सुनाउँछन्। तर श्रीमती गीताको रहर छ तेस्रो सन्तान पाउने। र जन्मिने तेस्रो सन्तान ‘भाउ’लाई अघिल्ला दुई सन्तान गुमाए झै गुमाउन चाहँदिन। गीताको खुसी र सन्तानको रहर गरेर दल ठूलो मष्ट धामीको शरणमा पर्छन्। मष्ट धामीले अछेता दिँदै भन्छन्, ‘यो चामल खान दिनु र शिरानमा राख्न भन्नू। सपनामा सेतो हात्ती देखियो भने सम्झिनु मनले चिताएको पुग्यो।’

एक दिन गीताको मनले चिताएको पुग्छ।

गीता दुई जिउकी हुन्छे। छोरो जन्मिन्छ। छैंटी खेल्छन्। मागल गाउँछन्। नाचगान हुन्छ। दलको मनमा भने सबै कृपा देवताले गर्दा भएको हो भन्ने छ। देउताभन्दा पर उसले सोच्दैन। थानलाई अछेता चढाउनु, ध्वजा बाँध्नुमा ऊ हर्षित र खुसी छ।

एकदिन बालक नमजाले रून्छ। निरन्तर रून्छ। आमा गीता बच्चालाई ज्वरो आएकाले तुरुन्तै अस्पताल लैजान चाहन्छे। तर बाउ दल देउताकै भरोसामा अल्झिन खोज्छ। गीता छोरालाई बचाउनका लागि देउताको भरोसामा नपरी स्वास्थ्य चौकी लैजान्छे। तर डाक्टर हुँदैनन्। जिल्ला अस्पताल लैजान्छे तर डाक्टर सहर झरे। अब उसलाई छोरो बचाउन सहर जानु छ।

अघिल्ला दुई सन्तान अस्पताल पुर्‍याउन नसकेकै कारण गुमाउनु परेको गीतालाई राम्रै थाहा भएकाले ऊ चुक्न चाहँदिन। तर गीता र दलको आर्थिक अवस्था अत्यन्तै कमजोर छ।

किन कमजोर छ?

दल धामी मात्रै पतुर्दैन। ऊ पुर्ख्यौली पेशा आरन पनि चलाउँछ। आँसी, भाँडाकुडाहरू अर्चपेर खलो उठाउनु र त्यसैले जीवन निर्वाह गर्नु उसको दैनिकी हो। तर बालक छोरोलाई अस्पताल लैजान पैसा चाहिन्छ। त्यही पैसा खोज्न श्रीमान दललाई ठूलै सकस पर्छ।

गीता पैसा खोज्न निरन्तर दबाब दिन्छे। तर दल ऋण खोज्न पनि सक्दैन। वडाध्यक्षलाई काँसको गाग्रीबाट मूर्ति बनाइदिने दलले छोरा बिरामी भएकोबारे बताउँछ। तर वडाअध्यक्ष साह्रै निर्मम भइदिन्छन्। ऊ छोरो बचाइदिन आफूभन्दा ठूलो धामी (जसको कृपाले सन्तान भएको विश्वास दलले गरेको थियो) शरणमा पर्छ। धामीले पैसा दिन नसके पनि अछेता र ध्वजा दिन्छ। अक्षेता र ध्वजालाई सञ्जिबिनी बुटी सम्झिएर थान हिँड्छ। थानमा दलले बनाएको काँसको मूर्ति सेलाउन लागेका वडाध्यक्ष दल दलित भएकै कारण भित्र पस्न दिँदैनन्। विभेद गरिसकेका वडाध्यक्षले पैसा दिएर दललाई नबोल्न अनुरोध गर्छन्। पैसाले छोरो बचाउन आशमा दल पनि मौन फर्किन्छ। तर छोरो त्यतिन्जेलसम्म बाँच्न सक्दैन।

तेस्रो सन्तान गुमाउन पुगेको दल परम्पारगत आस्था र धरोहरमा बाँचेको मष्ट देवता पनि बचाउन सक्दैन।

के कर्णालीलाई दु:ख दिने देवता हुन? के नेता हुन्? कि राज्य संयन्त्र हो? कि भूगोल हो? यस्तै यस्तै प्रश्नहरु नाटक अक्षेताले गर्छ। बेलाबेला मागल बज्नु ठाडिभाका गाइनु। असारे भाका र बालो नाचलाई, दमाह र झ्याली बज्नुले कर्णाली छुटाउँदैन। साना साना विम्बात्मक गतिविधिले नाटकलाई थप जिज्ञासु बनाउँछ।

नाटकले कर्णाली चिनाउने भव्य सेट आकर्षक छ। सेतो कमेरो र रातो माटोले लिपेको घर छ। घर छेउमा छ आरन। घरको पिँढीमा पानीको गाग्री र गिलास। गीता झ्यालमा बसेर गाउँछिन्। नाटकमा देखिने सेट भव्य छ र प्रपोटीले कर्णालीको जीवनशैली झल्काइरहन्छ। राता, सेता र पहेँलो रङका ध्वजा टाँगेर देवीदेउताको स्थान (थान) बनाइएको थियो। लाग्थ्यो, कर्णालीको एउटा झल्को नै आएर बसेको छ थिएटरमा।

समाजमा उसको सीप र श्रम चलेको छ, तर मन्दिरमा अछेता चलेको छैन। किनकि मष्ट देउताले आफूलाई दाजुभाइका रुपमा चिन्ने गरे पनि आधुनिक समाजले त्यसलाई स्वीकार्दैन।

कर्णालीमा बाह्र भाइ मष्ट दलित समुदाय र गैरदलित समुदायमा समान पुजिन्छन्। दुवै समुदायका धामी हुन्छन्। ती धामी जब काँप्छन् तब उनीहरुमा कुनै विभेद हुँदैन। देउताले आफूलाई दाजुभाइका रूपमा परिचित गराउँछ। अंकमाल गर्छ। सद्भाव र प्रेम देखाउँछ। त्यही प्रेममा गदगद भइदिन्छ दल कामी। आफू धामी भएकोमा गहिरो विश्वासमा पर्छ। गाउँ समाजमा परेका दु:ख र जनानीको रोगव्याधलाई न्यूनीकरण गर्न धामीको ठूलो भूमिका जनविश्वासमा छ। नि:सन्तान परिवारलाई सन्तान दिने हैसियतसमेत राख्ने ती धामी कर्णालीको समाजमा ठूला छन्। तिनको विश्वास र आस्था मान्दिनु पर्छ। तिनको चित्त दुखाउन हुने छैन।

शरीर काँपिरहेको अवस्थामा कथित उच्च वा निच जात नछुटिने तर धामी रोकिनेबित्तिकै पुनः छुत र अछुत छुट्टिएको देखाइन्छ।

बाबिराको धामीले जालदेवी महिलालाई महिनावारी भएर संसार मैलो पारिस् भन्ने लान्छना लगाउँछन्। दले कामीलाई ‘देउताको थानमा आएर आँसु नझार्, तँलाई राम्रो नहोला’ भनेर पीडा पोख्नबाटै रोकिन्छ।

कर्णाली प्रदेश प्रकृतिपूजक र मस्टोपूजक मान्ने समाज हो। यसर्थ कर्णालीका मान्ठाले भोग्दै आएको भौगोलिक विभेद जातीय विभेद राजनीतिक विभेद र सामाजिक विभेद अछेतामा देख्न सकिन्छ।

त्यसैगरी नाटक अछेताले बालबालिका कुपोषणले कसरी ज्यान गुमाइरहेका छन् भन्ने दृष्य पनि देख्न सकिन्छ। कर्णाली प्रदेश उच्च शिशु मृत्युदर भएको प्रदेश हो। त्यसमा पनि दलित समुदायका शिशुको संख्या अझ धेरै छ। पोषणको कमी, स्वास्थ्य संस्थासम्मको कमजोर पहुँच, अशिक्षा र गरिबीका कारण मातृ स्वास्थ्य र शिशु मृत्युदर नाजुक अवस्थामा छ। जात व्यवस्थाको जाँतोमा पिल्सिएर ज्यान गुमाउनेको संख्यामा नवजात शिशुको आँकडा पनि उच्च हुनु अर्को उदेकलाग्दो तथ्यलाई नाटकमा देख्न सकिन्छ।

अक्षेता शुद्ध दाना हो तर समाज शुद्ध छैन। जात व्यवस्था, पितृसत्ता र वर्ग व्यवस्थाले आफ्नो गर्भमा हुर्काएका विभेद, दुःख र संघर्षका दृश्यहरू नाटकमा यत्रतत्र छ।

गीता भने छोरालाई अस्पताल लैजाने भन्छिन्। रूढीवाद र अन्धविश्वासबाट माथि उठेकी महिलाको नेतृत्व स्वीकार्न नसकेको यो कथाले महिलाले भोग्नुपरेको अर्को उत्पीडन पनि देखाउँछ। प्रसव पीडा सहेर बच्चा जन्माउने महिला।

नाटकमा गीता प्रगतिशिल छे। जीवन भोगाइ र सन्तान गुमाउनु पर्दाको पीडाले ऊ परिपक्क भएकी होली। तर दल परम्परागत छ। ऊ देउताभन्दा माथि कोही नभएकोमा ढक्क छ। गीताको भूमिका सशक्त छ र पनि पुरुषले उसको निर्णय मान्दैन किनकि दल पुरुष हो। दले र गीताको छोरा विरामी पर्दा दले ‘देउताकोमा जाने, अछेता हेराउने’ भन्छ।

गीताको रंगमञ्च यात्रा सुरुवाती हो भने दल उर्फ झकेनको रंगमञ्च यात्रा एक दशक पुगेको छ। यो एक दशकमा झकेनले आफ्नो अभिनयमा ल्याएको विविधता प्रंसशायोग्य छ। ‘चिरिएका साँझ’ दीक्षान्त, सखी, अनि देउराली रुन्छि हिउँको पृथ्वी यात्रा सहित केही चलचित्रमा पनि अभिनय गरिसकेका झकेन निकट भविष्यमा उम्दा कलाकारको रूपमा स्थापित हुनेछन्।

कर्णालीको कथालाई मिहिन भन्न सक्नुको अर्को कारण हो निर्देशक । नाटक लेखक तथा निर्देशक गोविन्द सुनार कर्णालीका हुन् र स्वयं दलित समुदायका भएकाले दल पात्रमाथि उनले सक्दो संघर्ष स्थापित गरेका छन्। उनै सुनार भन्छन्, ‘यो मेरो कथा हो। मैले बाँचेको समाजको कथा हो,जहाँका मान्ठा अहिले पनि त्यही जीवन बाँच्न विवश छन्।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…