- अभिनेता राजेश हमालले प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई अपरिपक्वताका रूपमा चित्रण गर्दै आवश्यक परिपक्वता र दूरदृष्टिको अभावमा राष्ट्रले गम्भीर चुनौतीहरू सामना गर्नुपर्ने बताए।
- सीमापार अतिक्रमण र राज्य–प्रायोजित भू–अतिक्रमण फरक रहेको भन्दै हमालले समाधानको लागि संवाद र सहकार्यको सुझाव दिए।
- कालापानी, लिपुलेक, र लिम्पियाधुरा क्षेत्रलाई हमालले राज्य–प्रायोजित भू–अतिक्रमणको प्रमुख उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।
अभिनेता राजेश हमालले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको भूमि मिचेको भनी प्रतिनिधिसभामा केही दिनअघि दिएको अभिव्यक्तिका सन्दर्भमा धारणा राख्दै त्यसलाई प्रधानमन्त्री शाहको अपरिपक्वताका रूपमा चित्रण गरेका छन्।
प्रधानमन्त्री शाहलाई लक्षित गर्दै उनले राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि नहुँदा राष्ट्रले गम्भीर चुनौतीहरू सामना आउन सक्ने भन्दै सचेत पनि गराएका छन्।
पूर्वकुटनीतिज्ञ चुडाबहादुर हमालका छोरा तथा बौद्धिक व्यक्तित्वको परिचय बनाएका हमालले लेखेका छन, ‘आजको डामाडोल र अनिश्चित विश्व राजनीतिक परिवेशमा कुनै राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि नहुँदा राष्ट्रले गम्भीर चुनौतीहरू सामना गर्नुपर्ने अवस्था आउन सक्छ।’
प्रतिनिधिसभामा पहिलोपटक सार्वजनिक अभिव्यक्ति दिएका प्रधानमन्त्री शाहको ‘भारतको भुमि पनि नेपालले मिचेको’ भनाइ आलोचित भइरहेका बेला हमालको धारणा सार्वजनिक भएको हो।
अभिनेता हमालले नेपालको सीमा सम्बन्धी विवादमा ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ फरक विषय भएको उल्लेख गरेका छन्। सीमापार अतिक्रमण प्रायः स्थानीय नागरिक, खुला सीमा, नदीको धार परिवर्तन, हराएका सीमा स्तम्भ वा बस्ती विस्तारजस्ता कारणसँग सम्बन्धित रहेको राय प्रकट गरेका छन्।
यस्ता समस्या प्रशासनिक तथा स्थानीय प्रकृतिका हुने भएकाले संवाद, संयुक्त सर्वेक्षण र आपसी सहकार्यबाट समाधान गर्न सकिने उनले बताएका छन्।
तर राज्य–प्रायोजित भू–अतिक्रमण भने पूर्णतः फरक प्रकृतिको विषय भएको हमालको भनाइ छ। उनका अनुसार यस्तो अवस्थामा कुनै राष्ट्र आफैं विवादित भूभागमा आफ्नो नियन्त्रण विस्तार गर्न सक्रिय हुन्छ। त्यसका लागि सडक निर्माण, प्रशासनिक संरचना स्थापना, सुरक्षा निकाय परिचालन, सरकारी नक्सा संशोधन तथा राज्यको अधिकार औपचारिक रूपमा लागू गर्ने काम गरिन्छ।
हमालले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई राज्य–प्रायोजित भू–अतिक्रमणको प्रमुख उदाहरणका रूपमा उल्लेख गरेका छन्।
भर्खरै
लोकप्रिय
