हाम्रा पिताजी शिवराज आचार्य कौण्‍डिन्न्यायनको संस्कृत-शिक्षा-पद्धति

हाम्रा पिताजी शिवराज आचार्य कौण्‍डिन्न्यायनको संस्कृत-शिक्षा-पद्धति
+
-
देशसञ्चार AI सारांश
  • पौरस्त्य शिक्षा प्रणालीले मानव जीवनलाई धर्म, अर्थ, काम, मोक्षका उद्देश्यप्राप्तिमा दिशा दिँदै, समग्र विकासका लागि आवश्यक गुणहरू प्रदान गर्छ।

  • संस्कृत शिक्षामा कमजोरीहरूको उपचारका लागि आधुनिक पाठ्यक्रमको पुनरावलोकन र चार महत्वपूर्ण प्रकारका शिक्षालाई जोड्नुपर्ने महत्त्वपूर्ण भनाइ छ।

  • सरकारी योजनाले संस्कृत शिक्षामा आघात पुर्याएकोप्रति चिन्ता जनाउँदै, वास्तविक विद्वत्ताका लागि पुरातन गुरुकुल शैली अपनाउनु उपयुक्त हुन सक्ने सुझाव दिइएको छ।

विषयप्रवेश

वैदिक सनातन धर्मले र संस्कृत वाङ्मयले मानवीय जीवनका सर्वाङ्गीण पक्षलाई समेटेको छ। पौरस्त्य (प्राच्य) जीवनपद्धतिमा धर्म, अर्थ, काम र मोक्ष यी चार पुरुषार्थलाई सन्तुलित रूपमा सेवन गर्नु र मोक्ष प्राप्त गर्नु मानवजीवनको उद्देश्य मानिएको छ। मानवमा मानवोचित उदात्त गुणहरूको आधान गर्नु गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, जातकर्म इत्यादि सोर संस्कारहरूको प्रयोजन हो। पौरस्त्य शिक्षा (संस्कृत-शिक्षा) हाम्रो सभ्यता, धर्म, संस्कृति, दर्शन, जीवनपद्धति र पहिचानको आधारशिलासमेत हो।

शिक्षाको उद्देश्य मानवको सर्वाङ्गीण विकास गर्नु हो। त्यसैले विचार, विवेक, बुद्धि, वाणी, कार्यकुशलता इत्यादिलाई परिष्‍कृत पार्नु शिक्षाको मूल उद्देश्य हो भन्न सकिन्छ। यी उद्देश्यप्राप्तिमा आधुनिक शिक्षा कति सफल छ भनेर मूल्याङ्कन गर्दा सन्तोषजनक स्थिति देखिँदैन। साथै जीवनका उपर्‍युक्त चारै पुरुषार्थ प्राप्त गर्न सहायता पुर्‍याउन पनि आधुनिक शिक्षा पर्याप्त छैन। केवल अर्थोपार्जन गर्न र त्यसबाट भौतिक सुखसुविधा उपभोग गर्न मात्र सिकाउने शिक्षामा धर्म र अध्यात्म पनि जोड्न अत्यावश्यक देखिन्छ।
यहाँ हाम्रा पिताजीले आफ्ना सन्ततिलाई (हामीलाई) शिक्षा दिन केकस्ता विचारले केकस्तो उद्देश्य लिएर कस्तो पद्धतिको अवलम्बन गर्नुभएको थियो भनेर उहाँकै चिन्तन र परिकल्पना (पद्यबद्ध लेख) प्रस्तुत गर्न खोजिएको छ।

आधुनिक संस्कृतशिक्षामा रहेका कमजोरी

हाम्रा पिताजी सुगृहीतनामा शिवराज आचार्य कौण्डिन्न्यायनले (१९९७–२०७४) नेपालमा संस्कृत¬शिक्षाको संरक्षण, संवर्धन र सुदृढीकरणका लागि जनस्तरमा धेरै काम गर्नुभएको थियो। साथै सरकारी शिक्षानीतिमा र पाठ्यक्रममा सुधार गराउन लामो सङ्घर्ष पनि गर्नुभएको थियो। यो उहाँको जीवनका विभिन्न पक्षमध्ये एउटा महत्त्वपूर्ण पक्ष थियो।

वर्तमान समयमा नेपाल र भारतका विद्यालय तथा विश्वविद्यालयमा पाश्चात्त्यहरूद्वारा प्रवर्तित संस्कृतका र अन्य विषयका पाठ्यक्रमअनुसार पठनपाठन चलिरहेको छ। यसबाट विद्या र धर्मको वास्तविक संरक्षण गर्न सकिँदैन भन्ने उहाँको ठम्याइ थियो। केवल व्याकरण, साहित्य, न्याय, ज्योतिष आदि विषयहरूमध्ये एक-दुई विषय मात्र राम्रोसँग अध्ययन गरेर आचार्य र विद्यावारिधि उपाधि प्राप्त गर्दा पनि वास्तविक विद्वत्ता प्राप्त हुन सग्दैन। वास्तविक विद्वत्ताका लागि आर्ष (ऋषिहरुद्वारा प्रवर्तित) शिक्षाप्रणाली नै आवश्यक छ, जसमा मीमांसाशास्त्र र वेदका छ वटा अङ्गसहित स्वशाखावेदको गुरुमुखबाट विधिपूर्वक अध्ययन गर्नुपर्ने हुन्छ। शिक्षणका निम्ति आवश्यक शिक्षाको प्रयोजन, शिष्‍यको योग्यता, गुरुको योग्यता, विद्याग्रहणका निम्ति अधिकारी र अनधिकारी व्यक्ति, अध्ययनविधि, वेदादि-विद्याग्रहणका नियम, विद्यादाननियम, विद्यारक्षा र विद्यावृद्धि गर्न चाहिने अध्यापकका र विद्यार्थीका नियम इत्यादि विषय पनि वेदाङ्ग शिक्षाशास्त्रमा बताइएको छ (द्र.– कौण्‍डिन्न्यायन¬शिक्क्षा, प्रथम अध्याय, पृ. ८९–१६७)। प्राचीन गुरुकुलमा पनि बटुकहरूलाई उपनयन (व्रतबन्ध) पूर्वक वेद-वेदाङ्गहरूको शास्त्रीय शिक्षाका साथै लौकिक-व्यावहारिक शिक्षासमेत दिइन्थ्यो।

वर्तमान परिस्थितिमा संस्कृतशिक्षालाई कसरी सन्तुलित र सर्वजनोपयोगी बनाउन सकिन्छ भनेर उहाँले मार्ग देखाउनुभएको थियो– (१) धार्मिक, (२) शास्त्रीय, (३) वैज्ञानिक र (४) साधारण यी चार प्रकारका शिक्षाका रूपमा संस्कृतशिक्षा लिन इच्छुक चार प्रकारका व्यक्तिहरूका लागि अनुकूल हुने गरेर संस्कृतशिक्षा सार्थक रूपमा सञ्चालित गर्नुपर्छ र त्यसका लागि तदनुरूपको राम्रो पाठ्यक्रम बनाउन पर्छ भनेर पाठ्यक्रमको नवीन स्वरूप तथा अवधारणा उहाँले प्रस्तुत गर्नुभएको थियो।

वि.सं. २०११ मा नेपाल राष्ट्रिय शिक्षा आयोगले (उड्-कमिटिले) नेपालभर छरिएर रहेका २३३ भाषापाठशालामा (संस्कृत प्राथमिक विद्यालयमा) संस्कृतको पठनपाठन गर्न नपाइने बनाउन सिफारिस गर्यो, अनि ती भाषापाठशाला मास्सिए। त्यस कमिटिमा संस्कृतका ठुला मानिएका पण्डित पद्मप्रसाद भट्टराई र सोमनाथ सिग्द्याल पनि थिए। उनीहरूलाई समेत भाषापाठशालामा संस्कृत पढाउन निषेध गर्ने उक्त सिफारिसमा हस्ताक्षर गराइएको रहेछ। त्यसपछि २०२८ सालको नयाँ शिक्षा योजनाले पनि संस्कृतशिक्षामा धेरै नै आघात पुर्‍यायो।

यसले संस्कृतलाई ८ कक्षादेखि मात्र पढ्न पाइने बनायो। फलस्वरूप संस्कृतका ३४ ओटा निम्न माध्यमिक विद्यालयहरू बन्द भए। प्रवेशिका परीक्षा (एस्.एल्.सी.) सम्म राखिएको अनिवार्य संस्कृत पनि हटाइयो। यसरी संस्कृतलाई क्षीण बनाएर मास्न खोज्ने विदेशी-विधर्मीहरूका सल्लाहअनुसार सरकारी योजना चल्न थाल्यो। तदनुसारको पाठ्यक्रम बनाउन संस्कृतका अन्य सबै पण्डितहरू असहमत भएर विरोध जनाएकामा त्यतिखेरका ४ जना संस्कृतज्ञहरू सरकारको निर्णयअनुसारको पाठ्यक्रम बनाउन संलग्न भए। त्यसैले उनीहरू संस्कृतका शिक्षक-विद्यार्थीहरूका माझमा त्यति वेला अतिनिन्दित हुन पनि पुगे। तथापि सरकारले भने आफूले लाएअराएको काम विनासङ्कोच गर्ने तिनै ४ जनालाई संस्कृतशिक्षाको सरकारी नेतृत्वमा पछिसम्म पनि नियुक्त गर्‍यो र तिनैद्वारा संस्कृतशिक्षालाई थप दुर्बल बनाउने नीति अवलम्बन गरिरह्यो। यस कार्यको पनि हाम्रा पिताजीले विरोध गरिरहनुभयो।

यसरी संस्कृतशिक्षामा सरकारले पुर्‍याएको आघातलाई देखेर हाम्रा पिताजीले संस्कृतशिक्षाको संरक्षणका लागि वि.सं.२०२८ मा संस्कृतप्रमेमीहरूलाई सङ्घटित गरेर नेपाल-संस्कृत-परिषद्को स्थापना र सञ्चालन गर्नुभएको थियो। यो संस्था २०४६ सालसम्म विशेष क्रियाशील थियो।

वाराणसीको सम्पूर्णानन्द-संस्कृत-विश्वविद्यालयमा आफू विद्यावारिधि तहको अध्ययन गर्न जाँदा उहाँले संस्कृतशिक्षामा मूल विषयका रूपमा नीतिशास्त्र विषय पनि राख्न आवश्यक छ भनेर विश्वविद्यालयकै गाण्डीवम् भन्ने पत्रिकामा लेख छपाउनुभएको थियो (१९।११, २०३९, फाल्गुन)। नेपालमा पनि विद्यालय र विश्वविद्यालय तहमा सरल र व्यवहारोपयोगी नीतिशास्त्र मूल विषय राख्न धेरै प्रयास गर्नुभएको थियो। उहाँले साधारणशिक्षा, संस्कृतशिक्षा र गुरुकुलीय शिक्षाका विषयमा छलफल गरेर सरकारसित माग प्रस्तुत गर्न पछिल्लो पटक २०७१।३।१६ मितिमा पद्मकन्या बहुमुखी क्याम्पसका भवनमा स्वाध्यायशालाकुटुम्बका तर्फबाट गोष्ठीको आयोजना गर्नुभएको थियो। शिक्षामन्त्री, प्रधानमन्त्री र राजासित पनि यथावसर भेटेर आफ्ना कुराहरू पनि राख्नुभएको थियो। धेरै लेख र पर्चा-पुस्तिका वेलावेलामा छापेर यथावसर मन्त्री, सांसद, सम्बद्ध अधिकारी र संस्कृतशिक्षाप्रेमीहरूका बिचमा वितरण पनि गर्नुभएको थियो। नीतिशास्त्र विषय पाठ्यक्रममा थपिए पनि त्यसको पठनपाठन सबैतिर सबै तहमा चलाइएको छैन। संस्कृत तथा साधारण शिक्षामा अपेक्षित सुधार आउन पनि सकेको छैन। नेपालका शिक्षामा ऐले पनि धेरै समस्या र कमीकमजोरी छँदैछन्।

अहिले देशभर चलाइराखिएको साधारण वा प्राविधिक शिक्षाप्रणाली समुचित छैन। त्यसैको फलस्वरूप उच्चशिक्षा पाएका व्यक्तिमा समेत आफ्ना राष्ट्र, धर्म, संस्कृति, इतिहास, जाति, भाषा, वेषभूषा इत्यादिमा स्वाभिमान देखिँदैन। बरु अल्लि बढी पैसा र सुविधा पाउँदा विदेशी-विधर्मीको दास हुन र तिनैले लाएअराएको काम गर्न लालायित हुने गरेको देखिन्छ। साथै विदेशको नागरिक हुन आवेदन दिने र त्यस्तो अवसर पाउँदा सफल भएको ठान्ने शिक्षित भनिएका (उच्च¬शिक्षाको प्रमाणपत्र पाएका) नेपालीहरू पनि यत्रतत्र पाइन्छन्। विदेशीले विदेशमा तालिम दिएका तथा छात्रवृत्ति दिएर पढाएका व्यक्तिहरूको ‘ब्रेन्-वश्’ गरेर तिनलाई आफ्नो धर्म, संस्कृति र परम्पराको विरोधी बनाएर नेपालका विभिन्न क्षेत्रमा प्रभावशाली व्यक्तिका रूपमा उभ्याउन उनीहरू सफल भएका छन्। वस्तुस्थिति यस्तो विडम्बनापूर्ण रहेको छ।

यसप्रकार नेपालको राष्ट्रिय शिक्षाप्रणाली लगभग खोक्रो भैसकेको हुँदा त्यसबाट शिक्षाको वास्तविक उद्देश्य प्राप्त हुन नसक्ने देखेर हाम्रा पिताजीले हामीलाई सानो उमेरमा सार्वजनिक विद्यालयमा नपठाउने र घरमा आफैँले आफ्नै पाठ्यक्रमअनुसार पढाउने गरेर तदनुरूपको सुसंस्कार दिने पद्धति अँगाल्नुभएको थियो। अहिले विचार गर्दा यो उहाँको त्यति वेलाको एक साहसिक, दूरदृष्टिपूर्ण र जोकोहीले गर्नै नसक्ने विलक्षण कार्य थियो भन्ने लाग्छ। यस विषयको विस्तृत विवेचना पछि कुनै वेला गरौँला। अहिले यहाँ उहाँले अँगाल्नुभएको आर्ष (ऋषिहरूद्वारा प्रवर्तित) शिक्षाप्रणालीका (संस्कृतशिक्षाका) विषयमा उहाँले नै रचना गर्नुभएका शालिनी वृत्तका (छन्दका) ११ पद्यहरू र तिनको अनुवाद प्रस्तुत गर्न खोजिएको छ। उहाँले ती पद्य अनुवादसहित वि.सं. २०४० मा ‘चुँदी रम्घा’ भन्ने पत्रिकामा (भानुपुस्तकालय, तनहुँ, वर्ष ३) प्रकाशित गर्नुभएको थियो।

मदीया संस्कृत-शिक्षण-पद्धतिः (मेरो संस्कृत शिक्षणको बाटो)

दोषावस्तर् हि प्रयुक्तैश्च मौखैर्
ह्रस्वैर्वाक्यैर्बालभावानुकूलैः ।
दैव्यां भारत्यां नये स्वान् सुतान् हि
सैषा वाणी तातभाषाऽस्ति चैषाम् ॥१॥

अनुवाद– रातदिन मौखिक रूपले प्रयोग गरिएका, छोटा-छोटा, बालभावका अनुकूल (संस्कृत-) वाक्यहरूले आफ्नै छोराछोरीलाई देवतासितको वाग्-व्यवहारमा (प्रार्थनादिमा) समेत काम लाग्ने भाषा (संस्कृत) मा प्रवृत्त गराउँछु; यो संस्कृत वाणी यिनीहरूको तातभाषा (पितृभाषा) छ।

टिप्पणी– पिताजीले हामी सानो हुँदा हामीसित सधैँ संस्कृत भाषामा बोल्नुहुन्थ्यो। ७ जना सन्ततिमध्ये पछिल्ला ३ जनाको संस्कृतमै बोली फुटेको थियो। त्यसैले हाम्रो मातृभाषा नेपाली भए पनि पितृभाषा संस्कृत बन्न पुग्यो। उहाँले संस्कृत बोल्दा छोटाछोटा सरल वाक्यहरूको प्रयोग गर्नुहुन्थ्यो।

बालकः खेलति, बालकौ खेलतः, बालकाः खेलन्ति (एक बालक खेल्छ, दुई बालक खेल्छन्, धेरै बालक खेल्छन्) जस्ता नेपाली भाषाभाषीका निम्ति सरल हुने नामपद र क्रियापदहरूको तथा एकवचन, द्विवचन र बहुवचन बुझाउन सजिलै सकिने शब्दहरूको प्रयोग गरेर वाक्यरचना गर्न पनि सिकाउनुहुन्थ्यो। रामः क्रीडति, रामौ क्रीडतः, रामाः क्रीडन्ति (एक राम खेल्छ, दुई राम खेल्छन्, धेरै राम खेल्छन्) जस्ता नेपाली भाषाभाषीका निम्ति सरल नहुने क्रियापदहरूको तथा बाल¬बालिकालाई एकवचन, द्विवचन र बहुवचन बुझाउन सजिलै नसकिने शब्दहरूको प्रयोग गर्नुहुन्थेन। अचेल अरूले पनि हाम्रै पिताजीको यस पद्धतिको अनुकरण गरेर वाक्यरचना सिकाउन थालेको पनि देखिन्छ।

रूपैर्नाम्नां वेद-लोकानुकूलैर्
धातूनां चाऽऽदर्शभूतैर्हि कैश्चित् ।
सम्यग् घोष्‍यैः सम्प्रबोध्य स्वभावं
भाषायास्तद्‌बोधमेषां च तन्वे ॥२॥

अनुवाद– वैदिक र लौकिक संस्कृतका अनुकूल, घोकेर कण्ठस्थ पार्न आवश्यक प्रातिपदिकका रूपहरूले र त्यस्तै आदर्शका रूपमा चयन गरिएका कतिपय धातुका रूपहरूले पनि संस्कृतभाषा (वाक्य) को स्वभाव बुझाएर यिनीहरू (आफ्ना छोराछोरी) को संस्कृतभाषाको बोध विस्तृत गराउँछु।

टिप्पणी– संस्कृतका विद्यालय र महाविद्यालयमा १२/१५ वर्ष पढेका विद्यार्थीहरूमध्ये पनि धेरैजसोको संस्कृतभाषाको ज्ञान अपेक्षा¬अनुसारको हुन सकेको देखिँदैन। त्यसको मुख्य कारण संस्कृत भाषा एवं व्याकरणको पाठ्यक्रम र शिक्षणपद्धति उपयुक्त नहुनु हो। व्याकरणका जटिल प्रक्रियालाई भन्दा भाषाको प्रयोगात्मक पक्षलाई जोड दिनुपर्नेमा न त त्यस्तो पाठ्यक्रम बनाइएको छ, न त त्यस्तो शिक्षणपद्धति नै अपनाइने गरेको छ। कौमुदी-पद्धतिले व्याकरणै पढ्दा पनि रूपसिद्धि जानेपछि त्यसलाई विभिन्न प्रकारले प्रयोग गर्ने अभ्यास पनि गराउनुपर्ने आवश्यकता देखिन्छ। अन्यथा रूपसिद्धि-प्रक्रिया जान्नुको औचित्य रहँदैन। अतः हाम्रा पिताजीले मुख्यतया रूपावली घोकाउने र ती रूपहरूको वाक्यमा प्रयोग गर्ने पद्धतिले संस्कृतभाषा सिकाउने गर्नुहुन्थ्यो।

एषां रूपाणां प्रयोगेण युक्तं
वाक्यव्रातं लेखयित्वा च शश्वत् ।
कञ्चिद् रम्यं वा प्रबन्धं कथां वा
लेखप्रौढिङ् कर्तुमेषां समीहे ॥३॥

अनुवाद– यिनै रूपहरूका प्रयोगले युक्त भएका वाक्यसमुदाय, कुनै राम्रो निबन्ध वा कुनै कथा सधैँ लेख्न लगाएर यिनीहरूको लेखमा प्रौढता ल्याउन चाहान्छु।

टिप्पणी– स्वतन्त्र वाक्यहरूको रचना गर्न, नेपालीमा लेखिएका कथाहरूको अनुवाद गर्न र ससाना निबन्ध लेख्न लगाएर तथा तिनमा रहेका भाषिक अशुद्धिहरूको संशोधन गरिदिएर उहाँले आफ्ना सन्ततिमा संस्कृत भाषा शुद्ध लेख्न सक्ने क्षमता विकसित गर्नुभएको थियो।

काव्यं किञ्चित् पाठयित्वाऽल्पमल्पं
तच्छ् लोकान् कण्ठस्थितान् कारयित्वा ।
भाषाबुद्धिं संहिताकार्यवित्तिं
दार्ढ्यप्राप्तां कर्तुमेषां यते च ॥४॥

अनुवाद– हितोपदेश, रघुवंश, भट्टिकाव्य इत्यादिमध्ये कुनै काव्य अलिअलि पढाएर, तिनका श्लोक कण्ठस्थ पार्न लगाएर, यिनीहरूको संस्कृतभाषाको बोध र सन्धिकार्यको बोध पनि दृढतामा पुगेको गराउन प्रयत्न गर्छु।

टिप्पणी– संस्कृत पढ्न चाहनेले आफूलाई मनपर्ने काव्यका श्लोकहरू कण्‍ठ गर्दा धेरै लाभ हुन्छन्– शब्दभण्‍डारमा वृद्धि, वाक्यरचनाको ज्ञान, सन्धिज्ञान इत्यादि। भट्टिकाव्यको अभ्यासबाट चाहिँ विशेष रूपमा व्याकरणका नियमहरूको समेत ज्ञान हुन्छ।

वेदाल् लोकात् सङ्गृहीतैः प्रयत्नाच्
शब्दैः सम्यग् गुम्फितं स्वं निघण्टुम् ।
अध्याप्यैतान् वैदिके लौकिके च
प्रौढान् कर्तुं संस्कृतेऽहं यते च ॥५॥

अनुवाद– वेदबाट र लोकबाट प्रयत्नपूर्वक सङ्ग्रह गरिएका शब्दहरूले राम्ररी गुँथिएको आफ्नै शब्दकोष पढाएर यिनीहरूलाई वैदिक र लौकिक संस्कृतभाषामा प्रौढ गराउन यत्न गर्छु।

टिप्पणी– वेदभाषानिघण्‍टु नामको यस शब्दकोषमा जम्मा ६००८ श्लोक छन्। अमरकोषमा केवल १५२७ श्लोक मात्रै छन् र यसले प्रायः केवल लौकिक संस्कृतभाषालाई मात्र समेटेको छ। वैदिक संस्कृतलाई वा वैदिक पद-पदार्थलाई समेत समेटेर रचना गरिएको यो निघण्‍टु संस्कृतवाङ्मयको अद्वितीय बृहद् निघण्‍टु (श्लोकबद्ध शब्दकोष) हो।

पश्चाद् व्याख्यां मुख्यतो वेदनिष्ठां
यत्नात् कृत्वा पाणिनीयाऽऽगमस्य ।
पुंसः पुत्त्राँस्तां हि सम्पाठ्य सम्यक्
प्रौढान् कर्तुं व्याकृतौ कामये च ॥६॥

अनुवाद– पछि, पाणिनीय व्याकरणशास्त्रको मुख्य रूपमा वेदपरक व्याख्या प्रयत्नपूर्वक गरेर त्यही व्याख्या राम्ररी पढाएर छोराहरूलाई व्याकरणमा प्रौढ बनाउने इच्छा गर्छु।

टिप्पणी– पिताजीले अष्टाध्यायीमा रहेका न्यूनताहरूलाई परिपूर्ति गर्ने उद्देश्यले आवश्यक वार्त्तिक, इष्टि, गणपाठ र चान्द्र व्याकरण, कातन्त्र-व्याकरण इत्यादि अन्य व्याकरणका आवश्यक विषयहरूसमेत समावेश गरेर अष्टाध्यायीको परिष्कृत अभ्यसनीय ६००० भन्दा बढी सूत्र (सूत्र, वार्त्तिक र इष्टिसमेत) भएको नयाँ पाठको सम्पादन २०४२ सालमा पूर्ण गर्नुभएको थियो। तर अन्य धेरै ग्रन्थहरूको रचना र व्याख्या गर्दागर्दै त्यस ग्रन्थको विस्तृत वेदपरक व्याख्या गर्ने उहाँको योजना भने पूर्ण हुन पाएन। तथापि कौण्‍डिन्न्यायनशिक्क्षामा पाणिनीय व्याकरणका केही विषयको व्याख्यात्मक विशेष विवेचना गर्नुभएको छ। अष्टाध्यायीपद्धतिले व्याकरण पढेपछि मात्र विद्वान् हुन सकिन्छ कौमुदीपद्धतिले व्याकरण पढेर कामचलाउ ज्ञान मात्र हुन सक्छ भन्ने उहाँको स्पष्ट ठम्याइ थियो।

शिक्षाशास्त्रप्रोक्तवर्णाक्षरैश्च
व्यक्तैरुच्चाद्यैः स्वरैश्चाऽपि मौखैः ।
सम्यग् भान्तं सन्ततं स्वञ्च वेदं
पुम्भिः पुत्त्रैर् यत्नतो ग्राहये च ॥७॥

अनुवाद– शुक्लयजुर्वेद-प्रातिशाख्य, कातीय-प्रतिज्ञासूत्र, याज्ञवल्क्यशिक्षा आदि शिक्षाशास्त्रका (उच्चारण-शास्त्रका) ग्रन्थले प्रतिपादन गरेका लक्षणसम्पन्न वर्ण र अक्षरहरूले तथा मुखले उच्चारण गरिएका प्रष्ट उदात्तादि स्वरले पनि राम्ररी शोभित भएको स्वशाखावेद निरन्तर रूपमा प्रयत्नपूर्वक छोराहरूलाई ग्रहण गराउँछु।

टिप्पणी– ब्राह्मणको सुदुर्लभ जुनी पाइएकामा सबैभन्दा बर्ता महत्त्व दिएर पढ्नुपर्ने स्वशाखावेद हो भन्ने कुरा राम्ररी बुझेर नै हाम्रा पिताजीले भाषापाठशालामा पहिला पढेका ४० अध्याय वेदमा पनि चित्त नबुझाएर आफू प्रौढ भएपछि विद्यावारिधि उपाधि प्राप्त गरिसकेपछि २०४३ सालदेखि २ वर्ष लगाएर धोती-उपर्ना (नसिएका वस्त्र) लगाएर प्रतिदिन २०/२५ मिनेट हिँडेर गुरु पं. बुद्धिसागर पराजुलीकहाँ गएर विधिपूर्वक स्वशाखावेदका (शुक्ल¬यजुर्वेद-) संहिता, शतपथ¬¬ब्राह्मण, कात्यायनश्रौतसूत्र, पारस्करगृह्यसूत्र र केही परिशिष्टहरूको गुरुमुख गरेर अध्ययन गर्नुभयो र हामी पाँचजना छोराहरूलाई पनि त्यसै गरेर ती ग्रन्थ अध्यापन गराउनुभयो। आरण्यकभाग पढ्दा आफू पनि वनमा गएरै पढ्नुभयो र हामीलाई पनि वनमै गएर पढाउनुभयो। शुक्लयजुर्वेदका अहिलेसम्म मुद्रित कुनै पनि संस्करण पूर्ण रूपले शुद्ध नभएकाले पूर्ण शुद्ध संस्करण प्रकाशित गर्ने उहाँको योजना थियो, त्यसमा धेरै नै काम पनि भइसकेको छ, तर सम्पन्न गरी प्रकाशन गर्न भने बाँकि नै छ।

वेदे स्मृत्यां वाङ्मयेऽन्यत्र चाऽपि
ब्राह्मण्यस्य प्राप्यते यो हि मुख्यः ।
आदर्शः स्वान्तातिसन्तोषकारी
तत्र प्रीतिं स्रष्टुमेषां यते च ॥८॥

अनुवाद– वेद, स्मृति, पुराण र अन्य वाङ्मयमा पनि आफ्ना हृदयलाई राम्रो सन्तोष दिने ब्राह्मणत्वको जुन मुख्य आदर्श पाइन्छ, त्यसमा यिनीहरूको (छोराछोरीहरूको) प्रेम बसाल्ने प्रयास पनि गर्छु।

टिप्पणी– वैदिक जीवनपद्धति लोककल्याणकारी शास्त्रीय वर्णाश्रमधर्ममा आधृत भएकाले त्यसको आदर्श-अनुरूप यथा¬सम्भव ब्राह्मणको शिक्षा र सदाचारको पालन गर्दै सरल र सन्तोषपूर्ण जीवनयात्रा उहाँले चलाउनुभयो। साथै आफ्ना सन्ततिमा पनि त्यसै कुराको संस्कार दिनुभयो।

पाश्चात्त्यानां कूटनीत्या प्रवृत्तां
मिथ्याशिक्षां भौतिकत्वैकनिष्ठाम् ।
तन्मूलाञ्चाऽधर्मतां दासताञ्च
विप्रादीनां मार्ष्टुमेष प्रयत्नः ॥९॥

अनुवाद– पाश्चात्त्यहरूका कूटनीतिले चलेको, भौतिकतामा नै अन्तिम रूपमा विश्रान्त हुने, आभासरूप शिक्षालाई र त्यस शिक्षाका जरियाबाट आएको ब्राह्मण-क्षत्रियादिको स्वधर्मपराङ्मुखता र दासतालाई मेट्न यो प्रयत्न गरिएको हो।

टिप्पणी– भारतमा र नेपालमा पनि मेकाले-पद्धति भनिने गरेको टमस् ब्याबिङ्टन् मकोलि (Thomas Babington Macaulay, सन् १८००–१८५९, वि.सं. १८५७–१९१७) ले प्रवर्तित गरेको आधुनिक पाश्चात्त्य¬शिक्षा-पद्धतिले मान्छेलाई केवल भौतिक सुखसुविधाको दास मात्र बनाएको छ, धार्मिक र आध्यात्मिक चेतनारहित बनाइदिएको छ, पढेर विद्वान् बन्न सक्ने सम्भावनालाई निरस्त गरिदिएको छ, केवल ‘क्लर्क्’ (जागिरे कर्मचारी) हुने योग्यतावृद्धिलाई नै शिक्षा पाएको भन्ने भ्रमात्मक धारणा जनमानसमा विकसित गरिदिएको छ। यसको व्यापक आलोचना पनि हुने गरेको छ । अतः त्यस्तो मिथ्याशिक्षालाई र त्यसबाट आएका कुसंस्कारलाई हटाउन यो आर्षशिक्षा-प्रणालीको चिन्तन र आफ्ना सन्ततिमा त्यसको प्रयोग हाम्रा पिताजीले गर्नुभएको हो।

आर्षीं शिक्षां भौतिकत्वाप्रहीणां
प्रज्ञा-वाक्-कर्म-प्रसाद-प्रदात्रीम् ।
धर्मप्राणां सूपलम्भात्मनिष्ठां
व्यक्तीकर्तुं ह्यास्थितोऽस्त्येष यत्नः ॥१०॥

अनुवाद– भौतिकताले पनि हीन नभएको; बुद्धि, बोली र काममा वैशारद्य (निपुणता) दिने, धर्म प्राण भएको र सजिलरी आत्मनिष्ठा प्राप्त गर्न साधन हुन सक्ने, वैदिक ऋषिहरूको शिक्षालाई व्यक्त पार्न यो प्रयास अँगालिएको हो।

टिप्पणी– शिक्षाले भौतिक, नैतिक, धार्मिक, आध्यात्मिक सबै पक्षलाई समेटेको हुनुपर्छ। भौतिक पक्षलाई समेत समेट्ने आर्ष (ऋषिहरूद्वारा प्रवर्तित) शिक्षा-पद्धतिलाई उहाँले आफ्ना सन्ततिमा प्रयोग गर्नुभयो।

न्याय्यां वृत्तिं वा तपस्यामुपेत्य
आपद्धर्मञ्चाऽवलम्ब्य क्वचित् च ।
स्वे धर्मे ह्यारमतामार्ययूनां
सिद्ध्यै वृद्ध्यै चाऽऽदृतोऽस्त्येष यत्नः ॥११॥

अनुवाद– सामान्यतया शास्त्र, राष्ट्र र समाजले न्यायपूर्ण मानेको वृत्ति (जीविका) अँगालेर, अझै सके तपस्याकै वृत्ति अँगालेर, अनि प्राणसङ्कटादि ठुला सङ्कट पर्दा उक्त सङ्कट नटरुञ्जेल आपद्धर्म नै अँगालेर पनि आफ्ना धर्ममा रमाउने आर्य-युवकहरू जन्माउन र तिनको वृद्धि गर्न यो यत्न समादृत गरिएको हो।

टिप्पणी– नयाँ पुस्ताका युवाहरूमा विद्या, धर्म, सत्य र न्यायका पक्षमा दृढतापूर्वक उब्भिएर स्वतन्त्रता-पूर्वक जीविका चलाएर स्वधर्ममा र स्वराष्ट्रमा अडिने सुसंस्कार हाल्नका निम्ति यस्तो आर्षशिक्षाको अवलम्बन गर्नुपर्ने उहाँको निश्चय थियो।

उपसंहार

यस्तो पौरस्त्य (वैदिक) शिक्षा र संस्कारबाट नयाँ पुस्ताका युवाहरूमा स्वावलम्बन, स्वाभिमान, स्वधर्म-संस्कृतिप्रेम, स्वदेशप्रेम, सदाचार, त्याग, तपस्या इत्यादि उदात्त गुणहरू आउँछन् र उनीहरूमा परचक्रीको दास हुनबाट बच्ने भावना पनि विकसित हुन्छ। त्यसैले हाम्रा पिताजीले उक्तप्रकारको शिक्षा र संस्कारको परिकल्पना तथा प्रयोग गर्नुभएको हो। बोली फुट्नेबित्तिकैदेखि १५ वर्ष लगाएर अङ्ग्रेजी भाषा (विदेशी भाषा) सिकाउने, संस्कारकै रूपमा अङ्ग्रेजी शिक्षा दिने र त्यसका निम्ति अत्यधिक राष्ट्रिय साधन-स्रोतको व्यय गर्ने वर्तमान नेपाली शिक्षानीति राष्ट्रहित विपरीत छ, संस्कृत पढेका व्यक्तिले आवश्यकतानुसार अङ्ग्रेजी १/२ वर्षमै सजिलरी सिक्न सकिन्छ भन्ने कुरामा उहाँ जोड दिनुहुन्थ्यो।

नयाँ पुस्ताका युवाहरूमा विद्या, धर्म, सत्य र न्यायका पक्षमा दृढता¬पूर्वक उब्भिएर स्वतन्त्रतापूर्वक जीविका चलाएर स्वधर्ममा अडिने र आफ्नै राष्ट्रलाई समृद्ध बनाउन लाग्ने सुसंस्कार स्थापित गर्न यस्तो आर्षशिक्षाको अवलम्बन गर्नुपर्ने उहाँको निश्चय थियो। यो नेपाली राष्ट्रियताका दृष्टिले समेत महत्त्वपूर्ण कार्य हो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…