- पियूष मिश्रले ‘चौथो काठमाडौँ कलिङ साहित्य महोत्सव’मा बाल्यकाल, थिएटर यात्रा र आत्मकथा ‘तुमारी औकात क्या है?’को अनुभव सुनाउनुभयो।
- आफ्नो परिवारले थिएटर रोज्न गाह्रो भने पनि मिश्रले दृढतापूर्वक कलामा लाग्न संघर्ष गरेको बताउनुभयो।
- मिश्रा युवाहरुलाई विभिन्न प्रतिभालाई चिन्न र प्रयोग गर्न प्रोत्साहित गर्दै, केवल एक क्षेत्रमा सीमित नराख्न सुझाउँछन्।
बलिउड र रंगमञ्चका उम्दा कलाकार, गायक तथा लेखक पियूष मिश्रले अभिनय यात्रामा गरेको संघर्ष बारे नेपाली दर्शक/स्रोतालाई सुनाएका छन्।
काठमाडौँमा जारी ‘चौथो काठमाडौँ कलिङ साहित्य महोत्सव’मा परिवारको अपेक्षाविपरीत कला क्षेत्र रोजेको अनुभव र बलिउडमा गरेको संघर्षबारे सुनाएका हुन्।
महोत्सवको पहिलो दिन आफ्नो बाल्यकाल, थिएटर यात्रा र आफ्नो आत्मकथा ‘तुमारी औकात क्या है?’ बारे पनि उनी खुले।
प्रस्तोता युनुश खानले मध्यस्थ गरेको कार्यक्रम ‘तुम्हारी औकात क्या है पीयूष मिश्रा’ शीर्षकमा बोल्दै उनले आफ्नो आत्मकथा ‘तुम्हारी औकात क्या है’मा जीवनका तीन चरणको कथा समेटेको पनि बताए।
‘मैले पहिलो २० वर्ष ग्वालियरमा, त्यसपछिका २० वर्ष दिल्लीमा र पछिल्ला वर्षहरू मुम्बईमा बिताएँ। पुस्तकमा यी तीनै सहरसँग जोडिएका संघर्ष, अनुभव र सम्झनाहरू समेटिएका छन्,’ उनले भने।
मिश्राले आफ्नो बाल्यकालमा अत्यन्त अन्तर्मुखी भएको बताए । उनले भने, ‘सानैदेखि जीवन र मृत्युका प्रश्नहरूले मलाई घेरिरहन्थे।’
गहिरो स्वर अर्थपूर्ण गीत लेखन र सशक्त अभिनयका लागि परिचित मिश्राले आफ्नो परिवार खान्दानी भए पनि आर्थिक रूपमा अत्यन्तै कमजोर रहेको बताए । उनले भने, ‘मेरो परिवार एकदम खान्दानी थियो । घरमा केही चिजको कमी थिएन र पनि कसैको नाममा बैंक व्यालेन्स थिएन। झट्ट पैसा माग्यो भने दिन नसकिने अवस्था थियो।’
पारिवारिक अवस्था र परिवेशले नै कल्पनाशक्तिलाई फराकिलो बनाउन सकेको बताए।
उनका बुवा उनलाई डाक्टर बनाउन चाहन्थे। तर दश कक्षासम्म पुग्दा उनले बुवाको चाहनाअनुसार डाक्टर नबन्ने निर्णय गरिसकेका थिए।
उनले भने, ‘एक दिन फेल भएको मार्कसिट बुवाको अगाडि राखेर भनेँ, म डाक्टर बन्न चाहन्नँ, म थिएटरमा जान्छु।’
त्यो समय थिएटर रोज्नु सहज निर्णय नभएको बारे पनि उनले बताए, ‘मैले यति भन्न नसकेको भए सधैंलाई पछुताउँथें।’
थिएटरमा लाग्नु त्यो बेला सहज थिएन। परिवारका कोही सदस्य कलामा नलागेका कारण पनि उनले परिवारलाई बुझाउन थप संघर्ष गर्नु परेको बताए। परिवारले ‘थिएटर गरेर जीवन कसरी चलाउँछौ?’ भनेर प्रश्न गरे पनि आफू निर्णयमा अडिग रहेको उनले बताए।
‘उहाँहरूले भन्नुहुन्थ्यो, यसबाट पैसा आउँदैन। मैले भनेँ, पैसा नआए पनि म यही गर्छु,’ उनले भने। तर मिश्रा पैसा मात्रै पनि सबै नभएको बताउँछन्।
मिश्राले जीवनका दुई दशक थिएटरमा समर्पित गरेको उल्लेख गर्दै त्यसैले आफूलाई आजको स्थानसम्म पुर्याएको बताए। पछि उनले दिल्लीको नेसनल स्कुल अफ ड्रामामा अध्ययन गरेका थिए। उनका अनुसार त्यो केवल अध्ययनको अवसर मात्र नभई ग्वालियरको सीमित घेराबाट बाहिर निस्कने माध्यम पनि थियो।

आफ्नो बाल्यकाल अथवा जन्मदर्तामा प्रियाकान्त शर्मा नाम रहेको र विद्यालयमा साथीहरुले जिस्क्याउन थालेपछि उनले नाम परिवर्तन गरेका थिए।
औपन्यासिक शैलीमा लेखिएको किताब ‘तुमारी औकात क्या है?’मा किताबकै नाम किन यस्तो राखेको भन्दा उनी बोल्न चाहेनन्।
‘ग्यांग्स अफ वासेपुर’ एक दुई र ‘गुलाल’ ‘ब्लैक फ्राइडे’ ‘तमाशा’ ‘मकबूल’ र ‘पिंक’ ‘रक-स्टार’ जस्ता फिल्ममा अभिनय गरेका मिश्रा बहुआयामिक प्रतिभा भएका कलाकार हुन्। मिश्राले युवाहरूलाई आफ्नो क्षमतालाई एउटै क्षेत्रमा सीमित नराख्न सुझाव दिए। ‘आफूभित्र भएका विभिन्न प्रतिभालाई चिन्नुपर्छ र प्रयोग गर्नुपर्छ। मानिस केवल एउटा कामका लागि मात्र जन्मिएको हुँदैन,’ उनले भने।
किताब जात्राको पाँचौँ संस्करणमा विशेष अतिथिको रूपमा सहभागी भएका मिश्राले आफ्नो प्रस्तूति दिएका थिए। काठमाडौंप्रति विशेष आत्मीयता रहेको उल्लेख गर्दै मिश्राले आफ्नो ब्यान्डसँग यहाँ प्रस्तुति दिन पाउँदा सधैं खुसी लाग्ने बताए। ‘हाम्रो ब्यान्डमा बलिउड गीत छैनन्, हामीले गाउने सबै गीत थिएटरबाट जन्मिएका हुन्,’ उनले भने, ‘काठमाडौंमा पनि ती गीत प्रस्तुत गर्न उत्साहित हुनेछु।’
कविता गजल र गीतका साथै मिठासपूर्ण बोलीले मन्त्रमुग्ध पार्ने मिश्राका गीतहरुमा फिल्म ‘गुलाल’को ‘आरम्भ है प्रचन्ड’, ‘दुनिया’, फिल्म ‘ग्यांग्स’ अफ वासेपुर’को ‘ड्रक बगल’, फिल्म ‘तशन’को ‘छलिया’ र ‘कोक स्टुडियो’का लागि गाएको ‘हुस्ना’ जस्ता गीत लोकप्रिय छन्।
भर्खरै
लोकप्रिय
