- रूपन्देहीका शालिकराम घिमिरेले रास्वपाको लुम्बिनी प्रदेश अध्यक्षको चुनावमा सर्वाधिक मत प्राप्त गरे।
- पहिलो चरणको मतदानबाट आवश्यक मत नआएपछि गोपाल घिमिरेको समर्थनले शालिकरामलाई निर्विरोध अध्यक्ष बनायो।
- लुम्बिनी प्रदेशमा जारी अधिवेशनमा सम्पूर्ण प्रदेशभरका प्रतिनिधिहरूको सहभागिता रहेको बताइएको छ।
दाङ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लुम्बिनी प्रदेश अध्यक्षमा रूपन्देहीका शालिकराम घिमिरे निर्वाचित भएका छन् । उनी पार्टीका निवर्तमान उपसभापति हुन् ।
दाङको घोराहीमा शनिबारदेखि जारी प्रथम प्रदेश अधिवेशनअन्तर्गत भएको निर्वाचनमा सभापति पदका लागि ६ जनाबीच प्रतिस्पर्धा भएको थियो । पहिलो चरणको मतदानमा शालिकरामले सर्वाधिक १ सय ९९ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्द्वी गोपाल घिमिरेले ८७ मत प्राप्त गरेका थिए ।
पार्टीको विधानअनुसार सभापति पदमा निर्वाचित हुन उम्मेदवारले कुल खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था छ । निर्वाचनमा कुल ५ सय ५२ मत खसेकाले कुनै एक उम्मेदवारले निर्वाचित हुन कम्तीमा २ सय ७७ मत प्राप्त गर्नुपर्ने थियो ।
पहिलो चरणको मतदानबाट कुनै पनि उम्मेदवारले आवश्यक मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको निर्वाचनको तयारी गरिएको थियो । तर दोस्रो स्थानमा रहेका गोपाल घिमिरेले सर्वाधिक मत प्राप्त गरेका शालिकरामलाई समर्थन जनाएपछि दोस्रो चरणको मतदान आवश्यक परेन ।
मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाले पहिलो र दोस्रो स्थानमा रहेका उम्मेदवारबीच सहमति भई समर्थन प्राप्त भएकाले दोस्रो चरणको निर्वाचन नगरी शालिकरामलाई प्रदेश अध्यक्ष घोषणा गरिएको जानकारी दिए ।
रास्वपाको लुम्बिनी प्रदेश नेतृत्व चयनका लागि जारी अधिवेशनमा प्रदेशभरका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
भर्खरै
लोकप्रिय
