काठमाडौँ – नेपालको सबैभन्दा ठूलो उपभोक्ता प्रदर्शनीमध्ये एक ग्लोबल कन्जुमर एक्स्पो–२०२६ मंगलबार सम्पन्न भएको छ।
पाँच दिनसम्म सञ्चालन भएको प्रदर्शनीको अन्तिम दिन आयोजकले निःशुल्क प्रवेशको व्यवस्था गरेपछि भृकुटीमण्डप प्रदर्शनी हलमा दर्शक तथा किनमेलकर्ताको उल्लेख्य भीड देखिएको थियो।

“शपिङको नयाँ ठेगाना” भन्ने नारासहित इभेन्ट सोलुसनद्वारा आयोजित एक्स्पोको दोस्रो संस्करणमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी प्रदर्शक सहभागी भएका थिए। प्रदर्शनीमा दैनिक उपभोग्य सामग्री, इलेक्ट्रोनिक्स, घरायसी सामग्री, फेसन, स्वास्थ्य तथा सौन्दर्य सामग्री, फर्निचर, अटोमोबाइल एसेसरिजलगायत विभिन्न उत्पादन तथा सेवाहरू राखिएका थिए।

पाँच दिनसम्म सञ्चालन भएको एक्स्पोमा हजारौँ उपभोक्ता, व्यवसायी, खुद्रा विक्रेता तथा उद्यमीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। अन्तिम दिन निःशुल्क प्रवेशको अवसरका कारण परिवारसहित अवलोकनकर्ताको संख्या उल्लेख्य रूपमा बढेको थियो। प्रदर्शनीमा विशेष छुट, प्रत्यक्ष उत्पादन प्रदर्शन (लाइभ डेमो), दैनिक लक्की ड्र तथा आकर्षक उपहार योजनाले आगन्तुकको विशेष आकर्षण बढाएको थियो।

आयोजकका अनुसार एक्स्पोले व्यवसाय–व्यवसाय (B2B) तथा व्यवसाय–उपभोक्ता (B2C) बीच नयाँ व्यावसायिक सम्बन्ध विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको छ। करिब ३५ हजारभन्दा बढी आगन्तुक भित्र्याउने लक्ष्यसहित आयोजना गरिएको यस एक्स्पोले नेपालको बढ्दो उपभोक्ता बजार र व्यापारिक सम्भावनालाई थप उजागर गरेको आयोजकको विश्वास छ।

इभेन्ट सोलुसनले प्रदर्शनीको सफलताका लागि सहभागी प्रदर्शक, साझेदार तथा आगन्तुकप्रति आभार व्यक्त गर्दै आगामी संस्करणलाई अझ व्यापक, व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

भर्खरै
लोकप्रिय
