- नेपाली कांग्रेसभित्र निरंकुशता शुरु भएको बताउँदै नेता डा. शेखर कोइरालाले लोकतन्त्र कमजोर अवस्थामा पुगेको उल्लेख गरे।
- वीपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय एकता र मेलमिलापकै नीतिबाट कांग्रेस अगाडि बढ्नुको विकल्प नभएको कोइरालाले बताए।
- सहमति, सहकार्य र एकताको जरुरत पार्टीभित्रैबाट सुरु गर्नुपर्ने भन्दै पार्टी नफुट्ने प्रतिबद्धता पनि व्यक्त गरे।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्रको स्थापना र निरंकुशताको अन्त्यको लागि स्थापना भएको कांग्रेस पार्टीभित्र निरंकुशता शुरु भएको बताएका छन्।
देश सञ्चारसँग कुरा गर्दै नेता कोइरालाले लोकतन्त्र इतिहासकै कमजोर अवस्थामा पुगेको उल्लेख गरे।
सोही क्रममा २०३३ सालमा वीपी कोइरालाले लिनु भएको राष्ट्रिय एकता र मेलमिलापको नीतिको आवश्यकता आजको दिनमा झनै बढेर गएको उनले प्रष्टाएका थिए।
नेपाली कांग्रेस अब वीपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय एकता र मेलमिलापकै नीतिबाट अगाडि बढ्नुको बिकल्प नभएको कोइरालाले बताएका छन्।
नेता कोइरालाले भने– ‘नेपालको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र प्रजातन्त्रलाई मजबुत बनाउन नेपालका सबै शक्तिका बिचमा सहकार्य र एकता जरुरी छ।’
२०३३ सालमा ८ वर्षलामो भारत निर्वासनबाट नेपाल फर्किएका बिपी कोइरालाले नेपालको राष्ट्रवादको केन्द्रमा राजसंस्था रहेको तथा राजसंस्था र प्रजातान्त्रिक व्यवस्था साथसाथ अगाडि बढ्ने बताएका थिए।
यसअघि आइतबार बिराटनगरमा आयोजित कोशी प्रदेशस्तरिय भेलाका क्रममा उनले गगन थापासँग कुराकानी गर्दा आफूले राखेका पाँच बुँदा सार्वजनिक गरेका थिए। सो भेलामा उनले भने–’सहमति गर्न अहिले के कुराले रोक्यो ?’ नेता कोइरालाले गत महिना गगन थापाले कोइराला निवासमा पुगेर पार्टीका साथीहरूलाई कारबाहीको धम्की दिएपछि बाध्य भएर आफुले राखेका ५ बुँदे सार्वजनिक गरेको बताए। सहमतिबिना कांग्रेस पार्टी एक कदम अगाडि बढ्न नसक्ने भन्दै उनले भने– ‘गिरिजाप्रसाद कोइरालाले भन्ने गर्नुभएको सहमति, सहकार्य र एकता बाटै हामी हिड्नुपर्छ, त्यसका लागि सहमति, सहकार्य र एकता आफ्नै पार्टीभित्रबाट शुरु गर्नुपर्छ ।’ कोइरालाले आफुले कुनैपनि हालतमा पार्टी नफुट्ने र फुट्न नदिने प्रतिबद्धता पनि व्यक्त गरे ।
भर्खरै
लोकप्रिय
