- गण्डकी प्रदेशको ‘मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम’ अन्तर्गत कावासोतीका विद्यालयहरू आविष्कार र उत्पादन केन्द्र बन्दैछन् ।
- त्रिभुवन बाल माध्यमिक विद्यालयले ‘राधा’ रोबट निर्माण गरी विद्यार्थीहरूलाई रोबोटिक्समा प्रारम्भिक ज्ञान र प्रेरणा दिएको छ ।
- विद्यालयहरूले कृषि, वातावरण संरक्षण, नवीकरणीय ऊर्जा, जैविक फोहोरको प्रयोग लगायतका परियोजनाहरू सञ्चालन गर्दै विद्यार्थीमा व्यावहारिक सीप विकास गराइरहेका छन् ।
त्रिवेणी (नवलपरासी) — नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिकाभित्रका विद्यालयहरू अहिले परम्परागत शिक्षण शैलीबाट माथि उठेर आविष्कार र उत्पादनको केन्द्र बन्न थालेका छन् ।
गण्डकी प्रदेश सरकारको ‘मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम’ अन्तर्गत नगरपालिकाले ‘आविष्कार र उत्पादनको जग मेरो विद्यालय’ अभियान सञ्चालन गरेपछि यहाँका २३ वटा विद्यालयमा विभिन्न नवप्रवर्तनात्मक तथा उत्पादनमुखी परियोजनाहरू सुरु भएका हुन् ।
यस कार्यक्रमले शिक्षालाई कक्षाकोठाको चौघेराभन्दा बाहिर निकालेर व्यावहारिक प्रयोग, अनुसन्धान र उत्पादनसँग जोड्ने प्रयास गरेको नगरपालिकाका शिक्षा शाखा अधिकृत राजन पाण्डेले जानकारी दिए ।
यसै अभियानअन्तर्गत कावासोती–१७ मा रहेको त्रिभुवन बाल माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीहरू मिलेर ‘राधा’ नामक रोबटको निर्माण गरेका छन् ।
विद्यालयमा आउने पाहुनाहरूलाई नमस्कार गर्दै स्वागत गर्ने यस रोबटको निर्माणले विद्यार्थीहरूमा रोबोटिक्स र कोडिङको आधारभूत ज्ञान विकास गराउनुका साथै प्रविधिको क्षेत्रमा भविष्य खोज्न ठूलो प्रेरणा दिएको विज्ञान शिक्षक सुजन पोख्रेलले बताए ।
यसैगरी, रोबोट निर्माणमा सहभागी कक्षा ९ की छात्रा समृद्धि पोख्रेलले यस नवीन कार्यबाट आफूले नयाँ र उत्साहजनक अनुभव प्राप्त गरेको सुनाए।
विद्यार्थीहरूलाई प्रविधिसँगै कृषि र वातावरण संरक्षणका क्षेत्रमा पनि सक्रिय बनाइएको छ । पालिकाभित्रका विभिन्न विद्यालयले स्थानीय आवश्यकता अनुसारका परियोजनाहरू सञ्चालन गरिरहेका छन् । जस्तै:
- पिठौली आधारभूत विद्यालय (कावासोती–१३): नवीकरणीय ऊर्जामा आधारित बेसार प्रशोधन इकाई स्थापना गरेको छ ।
- गोसाइँबाबा आधारभूत विद्यालय: अम्बा र बेसारखेती तथा त्यसको प्रशोधन कार्यक्रम चलाइरहेको छ ।
- नेपाल राष्ट्रिय आधारभूत विद्यालय: विद्यालयकै भान्साबाट निस्कने जैविक फोहोरको प्रयोग गरी बायोग्यास (मलमूत्र ग्यास) उत्पादन सुरु गरेको छ ।
यसबाहेक अन्य विद्यालयहरूमा सोलार ड्रायर निर्माण, फलफूल तथा तरकारी उत्पादन, जैविक एवं गड्यौला मल निर्माण, नर्सरी स्थापना, स्मार्ट सिँचाइ प्रणाली र इकोपोखरी निर्माणजस्ता रचनात्मक कामहरू तीव्र रूपमा भइरहेका छन् ।
शिक्षा शाखा अधिकृत पाण्डेका अनुसार यो कार्यक्रम केवल सैद्धान्तिक ज्ञानमा मात्र सीमित नभई विद्यार्थीहरूमा समस्या समाधान गर्ने क्षमता, अनुसन्धान, नेतृत्व र उद्यमशीलता जस्ता जीवनोपयोगी सीप विकास गर्न केन्द्रित छ । “विद्यार्थीले किताब मात्र पढ्ने होइन, भोलिका दिनमा आत्मनिर्भर र सक्षम बन्न सकून् भनेर यो अभियान चलाइएको हो,” उनले भने।
कार्यक्रमलाई थप प्रभावकारी बनाउन र विद्यालयहरू बीच प्रतिस्पर्धात्मक भावनाको विकास गर्न परियोजनाको मूल्याङ्कनपछि उत्कृष्ट तीन विद्यालयलाई प्रतिविद्यालय रु. १ लाख र उत्कृष्ट १० शिक्षकलाई जनही रु. १० हजार पुरस्कार प्रदान गरिने योजना नगरपालिकाले बनाएको छ ।
सीमित बजेट, प्राविधिक सहयोगको कमी र समय व्यवस्थापन जस्ता चुनौतीहरू रहे पनि यस कार्यक्रमले विद्यालयहरूलाई विशुद्ध पढाइ हुने थलोबाट सिकाइ, अनुसन्धान र उत्पादनको गतिशील केन्द्रका रूपमा रूपान्तरण गर्न थालेको छ ।
भर्खरै
लोकप्रिय
