काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले आगामी निर्वाचनसम्ममा जनतालाई सङ्गठित गरी नयाँ आन्दोलनको ज्वारभाटा सिर्जना गर्नसके कम्युनिष्ट पार्टी पुनः शक्तिमा आउने दाबी गरेका छन्।
शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले हाल प्रतिनिधि सभामा पार्टीको १७ सिट रहेको उल्लेख गर्दै जनतालाई सही ढङ्गले प्रशिक्षित गर्नसके कम्युनिष्ट शक्ति पुनः स्थापित हुनेमा कुनै द्विविधा नरहेको बताएका हुन्।
उनले भने, ‘अहिले पनि हामी १७ सिटमै छौँ। अब आगामी निर्वाचनमा हामीले जनतालाई सङ्गठित गरेर नयाँ आन्दोलनको ज्वारभाटा ल्याउन सक्यौँ भने नेपाली कम्युनिष्ट पार्टी फेरि शक्तिमा आउनेछ, यसमा कुनै द्विविधा छैन।’
उनले क्रान्तिकारी विचारको निरन्तरता नभएमा आन्दोलनले माथि उठाएको वर्ग नै प्रतिक्रान्तिको सहयोगी बन्नसक्ने जोखिम औँल्याए। उनले भूमण्डलीकरण र डिजिटल पुँजीवादले सिर्जना गरेका चुनौतीहरूबारे समेत सचेत गराए।
पुँजीवादले हरेक क्षेत्रलाई डिजिटल र भर्चुअल माध्यमबाट नियन्त्रण गरिरहेको उल्लेख गर्दै उनले यसको गहन अध्ययन गरी श्रमजीवी जनताको पक्षमा उपयोग गर्नुपर्नेमा जोड दिए।
वैदेशिक रोजगारीका कारण नेपाली समाजमा परिरहेको प्रभाव र बदलिँदो भौतिक अवस्थाले मानिसको चेतनामा परिवर्तन ल्याइरहेको उनको तर्क छ। नेता पुनले वर्तमान विश्वको बदलिँदो स्वरूपलाई सही ढङ्गले विश्लेषण गरी जनताको पक्षमा काम गर्न नसके आन्दोलनले क्षति व्यहोर्नुपर्ने चेतावनीसमेत दिए।
भर्खरै
लोकप्रिय
