- सीमा विवाद अध्ययन समितिले हुम्ला र बाजुराका स्थानीयसँग छलफल गर्दै लोकेशनमा पुगेर अध्ययन सम्पन्न गरेको छ।
- समितिले स्थानीय अनुभव र नापी नक्साहरूको प्रमाण संकलन सकेर सरकारलाई प्रतिवेदन बुझाउने भएको छ।
- डंगोल नेतृत्वको टोलीले राजनीतिक दल र नागरिक समाजसँगै बाजुराका जनप्रतिनिधिसँग समेत छलफल गरेको थियो।
हुम्ला – बाजुरा र हुम्ला जिल्लाको सीमा विवादका लागि गठित अध्ययन समितिको टोलीले दुवै जिल्लामा पुगेर अध्ययन सम्पन्न गरेको छ।
सीमा विवादको यथार्थ अध्ययनका लागि नापी विभागका उपमहानिर्देशक एवं अध्ययन समितिका संयोजक सुशील डंगोलको टोली स्थलगत रुपमा लाम्पाटा, हुम्ला र वाजुरा जिल्लामा पुगेर स्थानीयसँग छलफल र यथार्थ कुरा बुझ्ने कार्य सम्पन्न गरेको हो।
बाजुरा र हुम्ला जिल्लाको सीमा विवादका लागि सरकारले गठन गरेको अध्ययन समितिले हुम्लाको सदरमुकाम सिमकोट, बाजुराको मार्तडीमा पुगेर आफ्नो काम सम्पन्न गरेको टोलीका प्रमुख डंगोलले बताए।
टोलीले हुम्ला र बाजुराका स्थानीयसँग छलफल, सुझाव, राय, सुझाव माग गर्ने, केही तत्थ्य लिने काम सम्पन्न गरेर मार्तडीबाट फिर्ता भएको होे। यसअघि सीमा विवाद अध्ययन टोलीसंग हुम्ला जिल्लाको तर्फबाट भएका प्रमाण, पुस्तौदेखि गर्दै आएको भोगचलन र स्थानीयले भोगेका अनुभव सुनाएका थिए।
हाल दुई जिल्लाविच देखिएको सीमा विवाद भएको क्षेत्रमा हुम्लाकै तत्कालीन गाउँपञ्चायत र गाउँ विकास समितिबीच विवाद भएपछि जिल्ला अदालत र जुम्ला अदालतमा पुगेको र त्यसको फैसला, जरिवाना, मिलापपत्र गरिएको प्रमाणसमेत पेश गरिएको थियो।
टोलीलाई हुम्लावासीको तर्फबाट तथ्य, प्रमाण, अदालतको फैसलालगायत कागजात प्रमाण बुझाइएको थियो। त्यसैगरी, टोलीले बाजुराको मार्तडीमा पनि जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाजसँग पनि छलफल गरिएको थियो।
बाजुराका स्थानीयले नापीको नक्सा र गुगल नक्सा टोलीलाई पेश गर्ने कार्य गरिएको छ। समितिका संयोजक डंगोलले तत्थ्य र यथार्थ स्थानीय स्तरबाटै बुझ्ने कार्य पूरा भएको र अब प्रतिवेदन तयार गरिने बताए। स्थानीयबाट आएका सवै कुरा आफ्नो प्रतिवेदनमा समेटेर सरकारलाई बुझाउने उनले बताए।
यसअघि अध्ययन समितिका संयोजक डंगोलको नेतृत्वमा पाँच सदस्य लाम्पाटा, हुम्ला र बाजुरा जिल्लामा पुगेको थियो।
टोलीमा प्रधानमन्त्री कार्यालय तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव हरिप्रसाद गुरागाई, गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारी, कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयका उपसचिव खिमानन्द अर्याल र सुदूरपश्चि प्रदेश मुख्यमन्त्री कार्यालयका उपसचिव नारायण शाह हुम्ला आइपुगेका थिए।
दुई जिल्लाको सीमा क्षेत्र लाम्पाटामा गत जेठ ३ गते झपड भएको थियो। त्यसपछि सरकारले जेठ ११ गते डंगोलको संयोजकत्वमा सीमा विवाद अध्ययन समिति गठन गरिएको थियो।
लाम्पाटा झडपको छानबिन गर्न यसअघि गृह मन्त्रालय नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बिमलराज पौडेलको संयोजकत्वमा एक जाँचवुझ समिति गठन गरेको थियो।
सो समितिले दुवै जिल्लाको स्थलगत अध्ययनपछि प्रतिबेदन गृह मन्त्रालयमा बुझाइसकेको छ।
भर्खरै
लोकप्रिय
