- पूर्वअर्थमन्त्री विष्णु पौडेललाई रातारात काठमाडौँ ल्याई सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको छ।
- उनलाई बुझाइएको सवारी नेपालगञ्ज-घोराही रुटमा चल्ने हाइस गाडीमा केही सहयोगी र प्रहरीसमेत थिए।
- पौडेललाई विवादास्पद व्यापारी दीपक भट्टसँग जोडिएको आरोपमा पक्राउ गरिएको हो, भट्ट अहिले थुनामा छन्।
काठमाडौँ– सम्पत्ति सुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वअर्थमन्त्री एवम् एमालेका उपाध्यक्ष विष्णु पौडेललाई रातारात काठमाडौँ ल्याइएको छ।
उनलाई सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागमा उपस्थितसमेत गराइएको छ। विभागले विशेष अदालतमा थुनामा राख्न अनुमतिका लागि उपस्थित गराउँदै छ।
पौडेल सोमबार अपराह्न सुर्खेतमा भइरहेको पार्टीको कार्यक्रमस्थलबाट पक्राउ परेका थिए। पक्राउ परेलगत्तै सुर्खेत प्रहरी कार्यालयमा लगेर राखिएको थियो। त्यसपछि उनलाई सुर्खेत प्रहरीले स्कार्पियोमा राखी बाँकेको कोहलपुरसम्म ल्यायो।
कोहलपुरबाट भने उनलाई अर्को गाडी परिवर्तन गरी काठमाडौँ ल्याइएको छ। नेपालगञ्ज-घोराही रुटमा चल्ने बा ५ ख ४०३१ नम्बरको हाइस गाडीमा पौडेललाई रातारात काठमाडौँ ल्याइयो। मंगलबार दिउँसो करिब १२:४५ बजे ७३ वर्षीय पौडेललाई विभागमा उपस्थित गराइएको थियो।
स्रोतकाअनुसार पौडेललाई राति करिब ११ बजे कोहलपुरबाट हिडाइएको थियो। यात्राका क्रममा उनी एक-दुई पटक मात्र कुरा गरेका थिए।
अधिकांश समय भने उनी मौन रहे। धेरै समय उनी सुतेर आराम गरेका थिए। ‘गाडीमा बसेपछि एक-दुईपटक बोल्नुभएको थियो, उहाँ (पौडेल)। बाँकी समय मौन रहनुभयो। धेरै समय सुतेरै आराम गर्नुभएको थियो’, स्रोतले भन्यो।
उनी बिच बाटोमा १-२ घण्टा गाडी राेकेर आरामसमेत गरेका थिए।
छैठौँ पटकसम्म मुलुकको अर्थमन्त्री रहेका पौडेललाई पक्राउ गर्नुअघि विभागले ललितपुरस्थित उनको निवासमा छापासमेत मारेको थियो। पौडेल विवादास्पद व्यापारी दीपक भट्टसँग जोडिएको पाइएपछि उनी पक्राउ परेका हुन्।
सम्पत्ति सुद्धीकरण मुद्दामा पक्राउ परेका भट्ट पूर्पक्षका लागि थुनामा रहेका छन्।
भर्खरै
लोकप्रिय
