- नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले बजेट संशोधन नभए सरकारबाट बाहिरिने चेतावनी दिएको छ।
- प्रदेश सरकारको बजेटमा सहमति, साझा नीति तथा कार्यक्रमको अभाव रहेको भन्दै एमालेले असन्तुष्टि व्यक्त गरेको छ।
- सुदूरपश्चिम प्रदेश सरकारले ३७ अर्बको बजेट प्रतिपक्ष दलको बहिस्कारबीच असार १ गते प्रस्तुत गर्यो।
धनगढी- असार १ गते प्रदेश सभामा प्रस्तुत भएकाे बजेट प्रति असन्तुष्टी जनाउँदै नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले बजेट संशाेधन नभए सरकारबाट बाहिरिने निर्णय गरेकाे छ ।
एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले संयुक्त सरकारको सहमति, साझा नीति तथा कार्यक्रमअनुसार बजेट निर्माण नगरिएको निष्कर्ष निकाल्दै बजेटमा आवश्यक संशोधन गर्न माग गरेको हो ।
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट विनियोजन गर्दा संयुक्त सरकारको सहमति र नीति तथा कार्यक्रमअनुरूप नभई एकलौटी गर्न खोजिएकोप्रति असहमति प्रकट गर्दै बजेटमा आवश्यक संशोधन गर्न यो बैठक माग गर्दछ,’ प्रदेश उपसचिव तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख भागरथी विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश कमिटीबाट सो विषयमा संसदीय दललाई निर्देशन दिने र संशोधन नगरिएमा संयुक्त सरकारमा सहभागी हुन नसक्ने समेत निर्णय गरिएको छ ।’
प्रदेश कार्यालय धनगढीमा प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम इन्चार्ज दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा यहि असार १ गते नेपाली कांग्रेस र नेकपा एमालेकाे संयुक्त सरकारले ल्याएकाे बजेटबारे समिक्षा गरेकाे थियाे ।
बैठकले प्रदेश सरकारको बजेटबारे असन्तुष्टि व्यक्त गर्दै बजेट विनियोजन प्रक्रिया एकलौटी ढंगले अघि बढाइएको आरोप लगाएको छ । एमालेले संयुक्त सरकार सञ्चालनका क्रममा भएका सहमतिहरूको सम्मान गर्दै बजेट पुनः संशोधन गर्न आग्रह गरेको छ ।
यता, एमाले संसदीय दलले पनि प्रदेश सभामा बजेटबारे संशाेधन प्रस्ताव दर्ता गरिसकेकाे छ । प्रदेश सभामा बजेट प्रस्तुत गरेकाे ९ दिन बितेपनि बजेट छलफलबारे कुनै प्रकृया अघि बढेकाे छैन ।
कांग्रेसका नेता कमल शाहकाे नेतृत्वमा रहेकाे सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते मध्य राति प्रतिपक्ष दलकाे बहिस्कारका बिच ३७ अर्ब भन्दा बढीकाे बजेट प्रस्तुत गरेकाे थियाे ।
भर्खरै
लोकप्रिय
