काठमाडौँ – शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ मा ६०० करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गर्दै नेपाली निर्जीवन बीमा उद्योगमा नयाँ ऐतिहासिक उपलब्धि हासिल गरेको जनाएको छ।
उक्त उपलब्धिले नेपालको बीमा क्षेत्रको दायरा विस्तार, बीमा पहुँच अभिवृद्धि तथा राष्ट्रको आर्थिक जोखिम व्यवस्थापन क्षमतामा कम्पनीले पुर्याएको योगदानलाई थप सुदृढ बनाएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
स्थापनाकालदेखि नै बीमाको पहुँच विस्तार, नवीन बीमालेखको विकास तथा गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको शिखर इन्स्योरेन्सले हाल देशभरका ७३ जिल्लामा फैलिएका १३१ कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीले यस सञ्जालमार्फत बीमा पहुँच वृद्धि र वित्तीय समावेशीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको जनाएको छ।
कम्पनीका अनुसार यसको सफलताका प्रमुख आधारहरूमा सुदृढ वित्तीय अवस्था, सक्षम व्यवस्थापन, व्यावसायिक जनशक्ति, उच्चस्तरीय पुनर्बीमा व्यवस्था, छिटो तथा पारदर्शी दाबी भुक्तानी प्रणाली, प्रविधिमैत्री सेवा, ग्राहक केन्द्रित कार्यसंस्कृति, संस्थागत सुशासन, प्रभावकारी जोखिम व्यवस्थापन प्रणाली तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त व्यवस्थापन अभ्यास रहेका छन्।
शिखर इन्स्योरेन्सले कम्पनीप्रति विश्वास गर्ने ग्राहक, अभिकर्ता, सर्भेयर, पुनर्बीमक, शेयरधनी, नियामक निकाय, बैंक तथा वित्तीय संस्था, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाप्रति कृतज्ञता व्यक्त गरेको छ।
कम्पनीले आगामी दिनमा पनि नवीनता, उत्कृष्ट सेवा, सुशासन तथा व्यवसायिक उत्कृष्टताप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै नेपालको बीमा क्षेत्रको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।
भर्खरै
लोकप्रिय
