- निगौल गाई गौशाला कार्यालय प्रमुखलाई कुटपिट गरेको आरोपमा ८ जना नगरप्रहरीविरुद्ध आपराधिक उपद्रव शीर्षकमा मुद्दा चलाइएको छ।
- नगरप्रहरीको पक्राउपछि नगरपालिका तथा मातहतका सम्पूर्ण कार्यालय कर्मचारीहरुले विरोधस्वरुप कार्यालयहरु बन्द गरेका छन्।
- कर्मचारीहरुले नगरप्रहरीलाई रिहाई नगरेसम्म सेवाप्रवाह हुन नसक्ने चेतावनी विज्ञप्तिमार्फत दिएका छन्।
जनकपुरधाम – निगौल गाई गौशाला व्यवस्थापन कार्यालयका प्रमुख कान्तीकुमारी पाण्डेलाई हातपात तथा कुटपिट गरेको आरोपमा पक्राउ परेका नगरप्रहरीविरुद्ध आपराधिक उपद्रव तथा हुलदंगा शीर्षकमा मुद्दा चलाइएको छ।
पाण्डेले प्रहरीमा जाहेरी दिएपछि बिहीबार साँझ करिब साढे पाँच बजेको समयमा पक्राउ परेका गौशाला नगरपालिकाका ८ जना नगरप्रहरी विरुद्ध मुद्दा दर्ता गर्दै महोत्तरी जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक पन्चलाल गेलेले जानकारी दिए।
प्रहरीले लक्ष्मी नारायण चौधरी, जुलेर प्रसाद सिंह, रितु कुमारी, रमेश पासवान, राजेश कुमार महतो, पानबहादुर लामा, अजय कुमार यादव र चन्द्रीका कुमारी चौधरीलाई पक्राउ गरि मुद्दा चलाएको हो।
यता, प्रहरीले नगरप्रहरीलाई पक्राउ गरेपछि कर्मचारीले नगरपालिका तथा मातहतका सम्पूर्ण कार्यालय बन्द गरेको छ।नगरप्रहरी पक्राउ विरोधमा कर्मचारीहरुले नगरपालिकासहित स्वास्थ्य कार्यालय, सामुदायिक विद्यालयल, वडा कार्यालयहरु बन्द गरेको छ।
नगरपालिकाका कर्मचारीहरुले प्रहरीले कार्यालयमा प्रवेश गरेर नगरप्रहरीलाई धरपकड शैलीमा हिरासतमा लिएको भन्दै हिरासतमा रहेका नगरप्रहरीलाई रिहाई नगरेसम्म र नगरपालिका र मातहतका कार्यालयको कर्मचारीको सम्बन्धित निकायबाट सुरक्षाको प्रत्याभुति नभएसम्म नगरपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था र सम्पूर्ण सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरु सेवा प्रवाह गर्न नसक्ने विज्ञप्तिमार्फत जनाएको हो।
भर्खरै
लोकप्रिय
