- नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसनले भृकुटीमण्डपमा ११-१६ अगस्ट २०२६ मा दोस्रो ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ आयोजना गर्ने भएको छ।
- एक्स्पोमा ५५ ब्रान्डका ४० भन्दा बढी नयाँ उत्पादनहरू प्रस्तुत गरिनेछ भने विशेष बैंकिङ सुविधा पनि उपलब्ध हुनेछ।
- एक्स्पोले देशको आर्थिक वृद्धि र रोजगारमा सघाउ पुर्याउने लक्ष्य राखी मोबिलिटी र प्रविधिसम्बन्धी निःशुल्क लर्निङ सेसनहरू सञ्चालन गर्नेछ।
काठमाडौं- नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी महिना काठमाडौंमा दोस्रो संस्करणको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ।
संस्थाले सोमबार काठमाडौंस्थित द सोल्टी होटलमा एक पत्रकार सम्मेलनको आयोजना गरी नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रर्दशनीको मुख्य विवरण सार्वजनिक गरेको हो।
उक्त पत्रकार सम्मेलनमा सञ्चारकर्मी, प्रायोजक, साझेदार, प्रदर्शक, नाइमाका बोर्ड सदस्य तथा अटोमोबाइल क्षेत्रका सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
विज्ञप्ति अनुसार, यो एक्स्पो यही ११ देखि १६ अगस्ट २०२६ (अर्थात् २०८३ साउन २६ देखि ३१ गतेसम्म) काठमाडौंको भृकुटीमण्डपमा संचालन हुनेछ। प्रदर्शनीमा कुल ५१ वटा स्टलहरू रहनेछन्, जहाँ ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ उत्पादनहरू लन्च गरिने जानकारी दिइएको छ।
यस एक्स्पोमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे, कमर्सियल भेहिकल, इलेक्ट्रिक तथा हाइब्रिड मोबिलिटी सोलुसन, प्रविधि, सेवा तथा मोबिलिटीसम्बन्धी अन्य विविध उत्पादनहरू समेटिनेछन्।
पत्रकार सम्मेलनमा बोल्दै नाइमाका अध्यक्ष रितु सिंह वैद्यले एक वर्षअघि २१ सदस्य कम्पनीबाट सुरु भएको संस्था हाल ३६ प्रमुख सदस्य कम्पनीमा विस्तार भएको जानकारी दिइन्। उनले नाइमाको दृष्टि “Empowering Growth Through Mobility” र मिसन “Mobility for All” रहेको बताउँदै मोबिलिटी क्षेत्रको सुधारले देशको आर्थिक वृद्धि, रोजगारी र उद्यमशीलतामा सघाउ पुर्याउने उल्लेख गरिन्।
नाइमाले विगतमा ट्राफिक प्रहरीको क्षमता अभिवृद्धि, क्षतिग्रस्त कार्यालयहरूको पुनर्निर्माणमा आकस्मिक सहयोग, तथा सडक सुरक्षा सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गर्दै आएको र यस पटक एक्स्पोको टिकट आम्दानीको कम्तीमा १० प्रतिशत अनुसन्धान फेलोसिप तथा तालिमका लागि छुट्याइने योजना रहेको पनि उनले स्पष्ट पारिन्।
कार्यक्रममा नाइमाका बोर्ड सदस्य सन्दीप शारडाले निजी क्षेत्र राष्ट्रको अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भएको र यस्ता प्रदर्शनीले आर्थिक गतिशीलता बढाउने बताए। त्यस्तै, अटो शो प्लानिङ कमिटीका संयोजक गौरव शारडाले यस वर्षको एक्स्पोलाई अझ व्यवस्थित, समावेशी र अपाङ्गता भएका व्यक्तिहरूका लागि समेत सहज हुने गरी डिजाइन गरिएको जानकारी दिए।
मनसुनलाई ध्यानमा राख्दै प्रदर्शनीस्थलमा विशेष व्यवस्था गरिएको र आगन्तुकहरूका लागि नेपाल पुलिस क्लबमा पार्किङको व्यवस्था मिलाइएको छ। एक्स्पो अवधिभर राइड पार्टनर ‘पठाओ’ ले भृकुटीमण्डप आउने–जाने यात्रामा छुट दिनेछ भने ‘युनियन पे’ मार्फत टिकट खरिद गर्दा क्यासब्याक सुविधा पाइनेछ। यसका साथै नेपाल पुलिस क्लबको अडिटोरियम हलमा मोबिलिटी र प्रविधिसम्बन्धी निःशुल्क लर्निङ सेसनहरू समेत संचालन गरिनेछन्।
यस वर्षको एक्स्पोलाई ग्लोबल आईएमई बैंकले सह-प्रायोजक (Co-Sponsor) तथा रेड बुलले ‘पावर्ड बाई’ स्पोन्सरका रूपमा सहयोग गरेका छन्। ग्लोबल आईएमई बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले एक्स्पोमा आगन्तुकहरूका लागि विशेष बैंकिङ तथा वाहन वित्तीय सुविधाहरू उपलब्ध गराइने जानकारी दिए भने रेड बुलका मार्केटिङ प्रमुख श्रय कृष्ण श्रेष्ठले एक्स्पो अवधिमा आकर्षक कार्यक्रमहरू प्रस्तुत गरिने बताए।
यसैगरी बैंकिङ पार्टनरका रूपमा एनएमबी र सिद्धार्थ बैंक, इन्स्योरेन्स पार्टनरका रूपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स लगायत विभिन्न दुई दर्जनभन्दा बढी स्थापित संस्थाहरू यस एक्स्पोको विभिन्न विधामा साझेदारका रूपमा आबद्ध भएका छन्।
पत्रकार सम्मेलनको सहजीकरण गरेका नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले यस एक्स्पोलाई प्रदर्शनी र सिकाइको उत्कृष्ट र बृहत स्थल बनाउने प्रतिबद्धता व्यक्त गरे। नाइमाले परिवार, विद्यार्थी, पेशाकर्मी, उद्यमी, नीति निर्माता तथा आम सर्वसाधारणलाई भदौमा आयोजना हुने यस बृहत् मोबिलिटी प्लेटफर्ममा सहभागी हुन हार्दिक आमन्त्रण गरेको छ।
भर्खरै
लोकप्रिय
