मध्यविन्दु

नेपालका नेताको जन्म, जीवन र मृत्यु–२

‘हाम्रा धेरै आमाबाबुले धेरै छोराछोरी विदेशका लागि जन्माए। अनि ती धेरै छोराछोरीले झन् धेरै छोराछोरी विदेशीका लागि जन्माउँदै छन्।’

‘सपनाको घोडा’ कथाबाट तानिएका हुन् यी हरफ।

हाम्रा बाबुआमाले विदेशका लागि छोराछोरी जन्माए जस्तै हाम्रो समाजले विदेशीका लागि नेता जन्माउँदैछ। देशमा स्वशासन छैन। प्यारासाइट लिडरसिप छ। शासित छ नेपाल–परजीवितन्त्रको शासन भोगिरहेको छ। ‘क्लेप्टोक्रेसी’ शासकीय दिशा र दर्शन बनेको छ ।

‘मान्छेको जन्म मान्छेबाटै हुन्छ तर नेताको जन्म समाजबाट हुन्छ। हरेक समाजले आफ्नो योग्यता, क्षमता र हैसियत अनुसारको नेता जन्माउँछ।’ नेपालका नेताको जन्म, जीवन र मृत्यु–दुई। अर्थात अन्तिम भाग त्यहीँबाट अघि बढाएको छु, जहाँ अघिल्लो भाग टुङ्ग्याएको थिएँ।

समाजले देशका लागि असल नेता जन्माउन सकेन तर भारत र पराई देशका लागि धेरै असल मित्र जन्मायो। ती देशमैत्री हैन मित्रमैत्री भावनाले ओतप्रोत भए। बरु आफ्ना जनतालाई विष ख्वाउन तयार भए तर ‘नमक हलाली’ को जिउँदो उदाहरण बनेर मित्रता निर्वाह गरे।

नेपाली राजनीतिक नेतृत्वमा केही समय अगाडिसम्म लज्जा आफैं लजाएको थियो। अहिले लज्जाले मृत्युवरण गरिसकेको छ। त्यसैले नेतृत्वमा लज्जावोध छैन, निर्लज्जता मात्र बाँकी छ।

प्यारासाईट लिडरशिपको कूटनीतिक निर्लज्जताको ताजा उदाहरण–भारतीय जाजुसी संस्था ‘रअ’ का नवनियुक्त प्रमुख सामान्त कुमार गोयलको दर्शनभेट। गोयल सुटुक्क नेपाल छिरे। उनले पशुपतिको दर्शनमात्र गरेरनन् राष्ट्रपति विद्यादेवी भण्डारीलाई र प्रधानमन्त्री केपी ओलीलाई दर्शन पनि दिए। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई पनि कृपा गरे, दर्शन दिए। (रअ प्रमुखले गरे पशुपतिको दर्शन र चार उच्चपदस्थसँग भेट– देश सञ्चार डट कम

एउटा पराई देशको खुफिया संस्थाको प्रमुखले देशको राष्ट्रपति, प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरुलाई भेट्छ। घटना चोरका घरमा चोर पाहुना आए जस्तो हुन्छ। न राष्ट्रपति बोल्छ, न प्रधानमन्त्री! तैँ चुप मै चुप–सबै चुप! राष्ट्रिय स्वाभिमान र मर्यादालाई यो हदसम्म गिराउँदा पनि न अरु कुनै नेता नै बोल्छन्? न जनता नै बोल्छन् ? नेतामा छोडौँ, के नेपाली जनतामा सास बाँकी छ? कि मुर्दाहरुको देश हो नेपाल? राष्ट्रिय स्वाभिमानको सद्गति (अन्त्येष्टि) हुँदा पनि किन मौन मलामी बनेका छन् सारा नेपाली?

रअ प्रमुख सामान्त कुमार गोयललाई राष्ट्रप्रमुख र सरकार प्रमुखले जस्केलाबाट छिराएर भेट्नु भनेको कूटनीतिक विचलनको विदारक दृष्य हो। विनष्टको कुरुप बिम्ब हो । नैतिक स्खलनको नाङ्गो चित्र हो ।

मान्छे मर्नु पर्दैन, जब नैतिकता मर्छ भने।

लास जल्नु पर्दैन, जब स्वाभिमान जल्छ भने।

नेपालमा अहिले नैतिकताको लास लडिरहेको छ। स्वाभिमानको चिता जलिरहेको छ। कसले सोचेको थियो, वीर र स्वाभिमानीहरुको देश भनेर संसारमा चिनिएको नेपालको यो दूर्गति?

समाजले कस्ता नेता जन्मायो ? दोष कसलाई दिन्छौँ ?

अतीसय भएपछि पीडा पोख्ने एउटा सार्वजनिक थलो हो–सामाजिक सञ्जाल। अहिले नेपालको राजनीति नै भ्रष्टाचार, दूराचार र वेथितिको मूल भएको छ। जनताका नायक हुनु पर्ने नेता भ्रष्टाचारी र दूराचारीका ‘कुलदेवता’ बनेका छन्।

सामाजिक सञ्जालमा कतिपय नेताका बारेमा भएका टिप्पणी असभ्य मानिएला तर सभ्य र असभ्यको सीमा रेखा नेताले नै मेटिसकेका छन्। मर्यादामा बस्ने नेतालाई देउता मान्न अझै तयार छन्, जनता।

जनताले नेताका कुकृत्यलाई आमाको कोख र बाबुको वीर्यको दोषसम्म देखाउन थालेका छन्। तर आमाको कोख र बाबुको वीर्य हैन, दोषी हामी हाैँ। हामी मिलेर बनेको समाज दोषी हो। अपराधी नेता मात्र हैन, समाज पनि हो। जसले दण्डित गर्नु पर्नेलाई पुरस्कृत गरिरहेको छ। विचरा ती आमाबाबुले नेता जन्माएका थिएनन्, मान्छेको रुपमा एउटा मान्छे जन्माएका थिए। नेता जन्माउने हामी हौँ, हाम्रो समाज हो। तिनलाई भ्रष्ट बनाउने पनि हामी हौँ, हाम्रो समाज हो।

नेताको जन्म


नेता राजनीतिमा मात्र हुँदैनन्। नेता चोरका पनि हुन्छन्। गुण्डाका पनि हुन्छन्। डाकाका पनि हुन्छन्। साधु–सन्तका पनि हुन्छन्।

चोरले नेता चुने भने कस्तो नेता चुन्छन्? उत्तर सामान्य छ–सबैभन्दा ठूलो, सबैभन्दा चलाख, सबैभन्दा धूर्त र सबैभन्दा धेरै चोर्न सक्ने चोरलाई नै चुन्छन्।

गुण्डाले नेता चुने भने पनि त्यही हो– सबैभन्दा खुङ्खार गुण्डालाई नै नेता चुन्छन्। डाकाले पनि त्यही चुनावशैली अपनाउँछन्–सबैभन्दा बलियो डाकालाई नै नेता चुन्छन्।

चोरको समूह पनि एउटा समाज हो। चोरसँगै गुण्डा, डाका र साधु–सन्तको समूह पनि एउटा समाज हो। त्यही समाजबाट चोरका नेता, गुण्डाका नेता, डाकाका नेता र साधु–सन्तका नेताको जन्म हुन्छ।

देशका नागरिकको समूह पनि एउटा समाज हो। नागरिकको त्यही समाजबाट देशका राजनीतिक नेताको जन्म हुन्छ। आ–आफ्ना समाजअनुसारका आ–आफ्ना नेता जन्मिन्छन्।

नेपालकै कुरा गरौं। वीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता नेता जुन समाजले जन्मायो, त्यही समाजले शेरबहादुर देउवा पनि जन्मायो। पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारी जुन समाजले जन्मायो त्यही समाज केपी ओली, विद्यादेवी भण्डारी र माधव नेपाल पनि जन्मायो। नरबहादुर कर्माचार्य र निर्मल लामा जुन समाजले जन्मायो त्यही समाजले पुष्पकमल दाहाल प्रचण्ड पनि जन्मायो।

हामी कस्ता नेता जन्माउँदै छौ ? हिजो र आजका नेताको चरित्रले स्पष्ट देखाउँछ–समाजले हैसियत गुमाउँदै छ। समाज योग्यताहीन बन्दैछ।

यद्यपि केही नेताको जीवनशैली सरल देखिन्छ। सौम्य र सादगीपूर्ण । केवी गुरुङ्, नारायणकाजी श्रेष्ठ, घनश्याम भूसाल, नारायणमान विजुच्छे उदाहरणीय छन् जस्तो लाग्छ। राजनीतिकदर्शन र वैचारिक मान्यता छेपाराको रङ्गजस्तो मौसमी भए पनि बाबुराम भट्टराईको व्यक्तिगत जीवनशैलीमा सादापन देखिन्छ। सादगीका पर्यायी नेताको जन्म पनि त्यही समाजबाट भएको हो, जुन समाजले सादगीको विपर्याय र बिडम्बनाका रुपमा वामदेव गौतम, कृष्णबहादुर महरा र ‘प्रचण्ड–बुहारी’ बिना मगरलाई पनि जन्मायो।

कतिपय विश्व प्रशिद्ध नेता, जसका कर्मले संसार परिवर्तन गरायो। तिनलाई कुनै ईश्वरले बनाएको हैन। कुनै कालिगढले कुँदेर बुद्धि भरेको हैन। कुनै कारखानाले उत्पादन गरेको हैन। हाम्रै जस्तो समाजले जन्माएको हो। बनाएको हो। कुँदेको हो। उत्पादन गरेको हो। राजनीतिक नेतृत्वका लागि समाज नै ईश्वर हो। समाज नै जनक हो। समाज नै कालिगढ हो। समाज नै कारखाना हो।

नेताको जीवन


राष्ट्रपति विद्यादेवी, प्रधानमन्त्री केपी ओली, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड लगायत ‘कथित’ शीर्ष नेताहरु ! देशको एकमुठी माटो हातमा लिएर, सार्वजनिक ठाउँमा उभिएर भन्न सक्नु हुन्छ–म भ्रष्टाचारी हैन, मैले भ्रष्टाचार गरेको छैन भनेर?

अरु आवश्यक छैन, यही एउटा प्रश्नले नेपालका सबै नेताको रंगिन जीवन–चरित्र देखाई दिन्छ।

प्रश्नको उत्तर सामान्य छ तर सबैलाई थाह छ– यो प्रश्नको उत्तर आउँदैन। सूर्य उदाउन छोड्ला तर नेपालका नेताबाट नैतिकता निर्वाह गर्ने काम हुँदैन। उत्तर दिने क्षमता न ओलीजी मा छ, न प्रचण्डजी, न देउवाजी र न अरु शीर्ष नेतामा।

बाँकी के विशेषता छ नेपालका यी नेतामा?


नेतामा हुनु पर्ने गुण जे हो, जति हो त्योभन्दा कति हो कति छ बढी नेपालका नेतामा । इमान्दारिता– पूर्ण छ ! नैतिकता– पूर्ण छ ! निष्ठा– पूर्ण छ ! विवेक– पूर्ण छ ! धर्म– पूर्ण छ ! कर्म छ–पूर्ण छ ! कर्तव्य परायणता–पूर्ण छ ! त्यसैले नेपालका नेता पूर्ण इमान्दारीपूर्वक पूर्ण झूठो बोल्नु हुन्छ। पूर्ण नैतिकता पूर्वक पदको पूर्ण दुरुपयोग गर्नु हुन्छ। पूर्ण निष्ठा पूर्वक ठूल्ठूला भ्रष्टाचार पूर्ण गर्नु हुन्छ। पूर्ण धर्म पूर्वक अधर्म पूर्ण गर्नु हुन्छ। पूर्णविवेक पूर्वक पाप पूर्ण गर्नु हुन्छ। पूर्ण कर्मपूर्वक सम्पूर्ण कुकर्म पूर्ण गरेर देशप्रतिपूर्ण कर्तव्य परायणता निर्वाह गर्नुहुन्छ।

उपनिषदमा एउटा वाक्य रहेछ– ‘पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते।’ त्यो पूर्णबाट पूर्ण निकाले पनि पूर्ण बाँकी रहन्छ। ओली, प्रचण्ड र देउवाजीलगायतका सबै शिर्ष नेताभित्रभित्रै सम्पूर्ण रित्तिए पनि उहाँहरु सधैं पूर्ण हुनुहुन्छ– सम्पूर्ण रित्तोले भरिएको पूर्ण! समाजको चित्र नेताको चरित्रमा झल्किएको– कसरी हैसियत गुमाउँदै छ, हाम्रो समाज!

शेरबहादुर देउवाजीको अकडम्, केपीओलीजीको बकडम् र पुष्पकमल दाहाल‘प्रचण्डजी’को तिकडम् बुद्धिको शिकार भएको छ नेपाल। नेपालको नेतृत्व, नयाँ नेपालका निमार्णकर्ता, परिवर्तनका वाहक, समृद्धिका सारथि– अकडम्–बकडम्–तिकडम्! वाह, नयाँ नेपाल वाह!

नक्कली र ‘पादरी’ डिग्रीसहित मानार्थ डाक्टरीका चारफुल्ली भिरेका श्री ०४ डाक्टर प्रधानमन्त्री केपी ओली विश्व विद्यालयका विद्वानले हिलोमाथि ओछ्याएको रातो कार्पेटमा मुस्कुराउँदै हिँड्नु हुन्छ। भन्नु हुन्छ– देश समृद्धिको बाटोमा लम्किएको छ। एननसेल कर छली, वाइडबडी, टेलिकम फोरजी तथा मेलम्ची आदि गरी १०० अर्ब रुपैयाँ भन्दामाथि भएको भ्रष्टाचारको जिउँदो प्रमाण प्रम ओली सँगसँगै हिडिरहेको छ–उहाँकै छायाँ बनेर। प्रतिपक्षी कांग्रेसका मूली शेरबहादुरजी मौन स्विकृति लक्षणम् साधनामा हुनुहुन्छ–शिशाको घरमा बसेर ढुङ्गा किन हान्ने?

नेताको मृत्यु


नेपालमा नेताको मृत्यु हुन छोड्यो। किनभने नेपालमा नेता जन्मिनै छोडे–मर्नका लागि जन्मनु पर्छ। समाजले नेता हैन भ्रष्टाचारी जन्माउँदै छ। देशका लागि राजनीतिज्ञ हैन परजीवी नेतृत्व जन्माउँदै छ। परजीवितन्त्रले आफ्नै देशलाई परदेश बनाउँदै छ।

नेपालमा मान्छे पनि थोरै मात्र मर्न थाले। किनभने मान्छे भएर मर्नका लागि मान्छे भएर बाँच्नु पर्छ। मान्छे यति निर्बल भयो कि मान्छेले मान्छे भएर बाँच्ने विश्वास गुमायो।

जन्मिँदा सबै मान्छे जन्मिन्छन् तर बाँच्दा मान्छे भएर बाँच्न सक्दैनन् धेरै मान्छे। सबैभन्दा कठिन मर्नु हो, मर्नुभन्दा कठिन मान्छे भएर बाँच्नु हो। यो कठीन जीवनदर्शनबाट सबैभन्दा शिघ्र विचलित कोही हुन्छन् भने ती नेता हुन्छन्– नेपालका नेता!

जन्मिँदा मान्छे जन्मिएको बाँच्दा जीवनभर कोही चोर, कोही ठग, कोही डाँका, कोही हत्यारा, कोही बलमत्कारी, कोही भ्रष्टाचारी, कोही घुस्याहा आदि–इत्यादि भएर बाँच्छन्। ती मर्दा पनि मान्छे मर्दैनन्– चोर मर्छन्, डाँका मर्छन्, हत्यारा मर्छन्, बलत्कारी मर्छन्, भ्रष्टचारी मर्छन्, आदि–इत्यादि मर्छन्।

कर्मले जीवनको नाम मात्र दिँदैन मृत्युको दर्शन पनि दिन्छ। कर्म चोर भयो भने मृत्यु पनि चोरकै हुन्छ, मान्छेको हुँदैन।

अघिल्लो भागमा नै उल्लेख गरेको छु। नेपालका नेता मान्छे जन्मिए पनि अपवाद बाहेक मर्दा न मान्छे भएर मर्न पाउँछन् न नेता! प्राय सबै भ्रष्टाचारी र परजीवि नेता भएर मर्छन्।

अन्त्यमा, मुख्यतः केपी ओलीजी, शेरबहादुरजी र प्रचण्डजी लगायतकन सबै नेता, तपाईँहरु जो नामले नेता हुनु भो तर कर्मले हुन सक्नु भएन– असल हुन केही गर्नु पर्दैन, खराब मात्र नगरे हुन्छ । तर सधैँ खराबको सहारा लिएर असल देखिन खोज्नु हुन्छ फरक त्यहीँ छ–देखिनु र हुनुमा।

त्यसैले नेपालका नेता नामले मात्र नेता भए कर्मले उनीहरुलाई नेता हुन दिएन । आफ्नै कर्मले ती नेतालाई न मान्छे भएर बाँच्न सिकायो न नेता भएर मर्न दियो !

साउन ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्