नेपालका नेताको जन्म, जीवन र मृत्यु!

नेता जो थिए, ती मरिसके। जो छैनन्, ती जन्मन बाँकी छन्। जो छन् ती बाँचेका छन् तर मान्छे भएर बाँच्न सकेका छैनन्।

मान्छे हुन नसकेका ती! जो नेता भएर बाँचेका छन् तर नेता भएर मर्न पाउँदैनन्।

प्रश्न उठ्छ– नेपालका नेता ‘किन’ नेता भएर मर्न पाउँदैनन्?

नेपालका नेता एड्स रोगी हुन् भ्रष्टाचाररुपी एड्सका किटाणुले सङ्क्रमित छन्। यो ‘किन’को संक्षिप्त उत्तर यही हो।

भ्रष्टाचारलाई देशको क्यान्सर भनिन्छ तर नेपालको भ्रष्टाचार क्यान्सर हैन, एड्स हो। क्यान्सर निको हुन्छ, एड्स हुँदैन। क्यान्सर आफैँभित्र उत्पन्न हुन्छ, एड्स् सर्छ। जसरी भ्रष्टाचार दलको माथिल्लो तहका चारकौडीका नेताबाट सर्दै–फैलँदै कौडीतहका नेतासम्म पुग्छ।

एड्स् लागेपछि मान्छे एड्स बोकेरै मर्छ। उही रुपको भ्रष्टाचाररुपी एड्स रोगको भारी बनेका नेपालका नेता भ्रष्टाचारको भार बोकेरै मर्छन्। मर्ने गरेका छन्।

अतः जन्मेपछि मर्नु पर्छ। जन्मनु ठूलो कुरा हो, मर्नु हैन। सामान्य हो।

अजीव छ, नेपाली नेताको जीवन! लोकतान्त्रिक गणतन्त्र नेपाल नै एउटा यस्तो देश हो, जहाँका नेता ‘आजीवन नेता’ हुन्छन् तर नेता भएर मर्न पाउँदैनन्। तिनै नेता जन्मिँदा मान्छे जन्मिन्छन् तर मान्छे भएर मर्न पाउँदैनन्।

मान्छेबाट मान्छे नै जन्मिन्छ। मान्छे जन्मिएपछि मान्छे नै मर्छ। तर अपवादबाहेक नेपालका नेता, जन्मिँदा मान्छे जन्मिए पनि मर्दा न मान्छे भएर मर्न पाउँछन्, न नेता भएर मर्न पाउँछन्! प्राय: सबै भ्रष्टाचारी भएर मर्छन्! किनभने आजीवन भ्रष्टाचार गर्छन– त्यो आर्थिक होस् वा नैतिक!

भ्रष्टाचार कहाँ छ, भ्रष्टाचारी कहाँ छन्? खोज्नु पर्दैन। खोज्ने हो भने भ्रष्टाचार कहाँ छैन, भ्रष्टाचारी कहाँ छैनन् भनेर खोज्नु पर्छ तर त्यो भेटिँदैन।

नेपाली राजनीतिक विकृतिका आदिपुरुष शेरबहादुर देउवाजी र शिखरपुरुष केपी ओलीजी! मान्छे भएर मर्न मान्छे भएर बाँच्नुपर्छ। नेता भएर मर्न नैतिक गुण भरिएको हुनुपर्छ। जब मान्छे भ्रष्ट हुन्छ, उसले मनुसत्व गुमाइसकेको हुन्छ। ऊ मान्छे बाँच्दैन, भ्रष्ट बाँच्छ। त्यसले मर्दा पनि भ्रष्ट मर्छ, मान्छे मर्दैन।

एउटा प्रसङ्ग जोड्न चाहन्छु। केही दिनअघि पाकिस्तानी जनताका कानले एउटा सुखद समाचार सुन्न पाए– पूर्व प्रधानमन्त्री नवाज शरीफलाई सात वर्ष कारावास सजाय! तीन पटक प्रधानमन्त्री बन्ने भाग्यशाली शरीफ भ्रष्टाचारको आरोपमा दण्डित भए।

योसँगै अर्को सुखद समाचार जोडियो– उनीमात्र दण्डित भएनन्, शरीफकी उत्तराधिकारी मानिएकी उनकी छोरी मरियम नवाज र उनका पति मोहमद सफदर पनि कारागारको ‘रोटी–चाँवल’ खान पुगे।

६९ वर्षीय नवाजलाई एक वर्षअघि नै अदालतले अयोग्य नागरिक ठहर गरेको थियो। आजीवन चुनाव लड्न नपाउने गरी प्रतिवन्ध पनि लगाएको थियो ।

पाकिस्तानको भ्रष्ट्राचार विरोधी संस्था राष्ट्रिय जवाफदेही व्यूरोले मुद्दा चलायो। मुद्दा चलाउने सरकारी वकिल थिए– सरदार मुजफ्फर अब्बास। भ्रष्टाचारी नवाजलाई कारागारमा कोचेर देशलाई न्याय दिने न्यायाधीश थिए– मुहमद अरशद मलिक।

तिनै पाकिस्तानी जनताले भरखरै अर्को सुखद समाचार सुने– पाकिस्तानका पूर्व राष्ट्रपति असिफ अली जर्दारीको गिरफ्तारी। कारण उही थियो, भ्रष्टाचार। पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोका पति सन् २००८ देखि २०१३ सम्म पाकिस्तानका राष्ट्रपति थिए। यसअघि पनि उनले भ्रष्टाचारीका रुपमा जेल सजाय भोगिसकेका थिए। अहिले हिरासतमा राखेर उनीमाथि छानबिन हुँदैछ।

यो एउटा उदाहरण हो, भ्रष्टाचारको आरोपमा पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरीफ जेल गए। पूर्व राष्ट्रपति असिफ अली जर्दारी प्रहरी हिरासतभित्र छानबिनमा छन्। तर नेपालमा कति हो कति नवाज सरीफ र असिफ जर्दारीहरु सत्तामा छन्। सत्ताको वरिपरि छन्। आलोपालो गरीगरी सत्ताप्राप्तिको फोहरी खेलमा निर्लिप्त छन्। भ्रष्टाचारको भेलमा बगेका छन्। व्यक्ति र गुटको स्वार्थका लागि सत्ताको चरम दुरुपयोग गरेका छन्।

यद्यपि नवाज र असिफको भ्रष्टाचार अभियोग केही करोडमा सीमित छ। तर नेपालका नेताको भ्रष्टाचारको सूचाङ्क करोडौ हैन अर्बौँ–अर्बमा छ। सरकार– ‘लुट् न कान्छा लुट’  जस्ता फुच्चे गीतमा प्रतिबन्ध लाउँछ तर भ्रष्टाचारका बारेमा चुँ बोल्दैन।

पाकिस्तानमा जस्तै नेपालमा पनि संविधान छ। विधि–विधान छ। नियम–कानुन छ। अधिकार, कर्तव्य र परिभाषा छ। दण्ड–सजायको व्यवस्था छ। भ्रष्टाचार हेर्ने निकाय छ। आयोग छ। अदालत छ। सबै छ । तर, नेपालमा भ्रष्टाचारै भ्रष्टाचार छ। जता हेर्‍यो, त्यतै भ्रष्टाचार! सबै नेता भ्रष्ट छन्। अपवाद बाहेक कुन नेता चोखा होलान्? तर, किन कुनै नेता जेल जाँदैनन्? नेपालका तिनै भ्रष्ट नवाज र असिफहरु नै पटक–पटक सत्ता प्राप्त गर्छन्, प्रधानमन्त्री बन्छन्?

मान्छेबाट मान्छे नै जन्मिन्छ। मान्छे जन्मिएपछि मान्छे नै मर्छ। तर अपवादबाहेक नेपालका नेता, जन्मिँदा मान्छे जन्मिए पनि मर्दा न मान्छे भएर मर्न पाउँछन्, न नेता भएर मर्न पाउँछन्! प्राय: सबै भ्रष्टाचारी भएर मर्छन्! किनभने आजीवन भ्रष्टाचार गर्छन– त्यो आर्थिक होस् वा नैतिक!

नेपालमा पनि न्यान्याधीश (?) छन् तर पाकिस्तानका मुहमद अरशद मलिकजस्ता न्यायमूर्ति छैनन्। नेपालमा पनि सरकारी वकिल छन् तर पाकिस्तानका सरदार मुजफ्फर अब्बासजस्ता कर्तव्यनिष्ठ सरकारी वकिल छैनन्। नेपालमा पनि अख्तियार दुरुपयोग आयोग जस्ता भ्रष्टाचार विरोधी संस्था छन् तर पाकिस्तानको राष्ट्रिय जवाफदेही व्यूरोजस्ता राष्ट्रको एक भरपर्दो अङ्गका रुपमा उभिएका संस्था छैनन्। नियम–कानुनको पालना गर्ने र गराउने निकाय र नेतृत्व छ तर तिनमा निष्ठा छैन। सत्ताको भारदारी र ताबेदारीमा घुँडा टेकेका छन्। कर्तव्यच्यूत छन्। कर्तव्यहीन बनेका छन्।

नेपालमा जस्तै भ्रष्ट नेता पाकिस्तानमा पनि छन्। भ्रष्टाचार पाकिस्तानमा पनि छ तर विधि–विधान र नियम–कानुनलाई पाकिस्तानी न्याय–व्यवस्थाले मर्न दिएको छैन।

पाकिस्तानी सत्ता, प्रशासन र न्यायप्रणालीमा मान्छे भएर बाँच्ने मान्छे अझै बाँचेका छन्। तर नेपालमा आफूभित्रको मान्छेलाई मारेर घुस्याहा, दलाल, माफिया, भ्रष्टाचारी र बलत्कारी बनेर बाँचेका छन्। तीनका कारिन्दा भएर बाँचेका छन्। राजनीतिक, न्यायिक र प्रशासनिक नेतृत्वले मान्छेको हैसियत गुमाइसकेका छन्। त्यसैले ती मर्दा पनि मान्छे हैन, घुस्याहा मर्छन्। दलाल मर्छन्। माफिया मर्छन्। भ्रष्टचारी मर्छन्। बलात्कारी मर्छन्।

त्यही पाकिस्तानमा प्रधानमन्त्री इमरान खानले सरकारी सुविधा कटौती गरिरहेका छन्। प्रधानमन्त्री, मन्त्री लगायत उच्चतहले भोगिरहेका विलासितालाई त्यागेर मितव्ययीता अपनाएका छन् तर एउटा कङ्गाल देश नेपालमा प्रधानमन्त्रीलाई करोडौंका नयाँ आवास चाहिएको छ। मन्त्रीहरुलाई करोडौं करोडका गाडी र सुविधा थपिएका छन्। आवासभित्रै शैलुन चाहिएको छ। लुटिएको छ देश।

प्रधानमन्त्री निवासमा शैलुनमात्र हैन, बार र नाइट क्लब पनि थपे प्रधानमन्त्रीले सुरापान र मनोरञ्जनका लागि कतै जानु पर्ने थिएन। राष्ट्रपतिको सुविधाका लागि एउटा गल्फकोर्सको निमार्ण गरे ‘टाइम पास’ र ‘चिल–आउट’ गर्न सजिलो हुने थियो।

जुन देशका लाखौं नागरिकले जीवनभर ५० हजार कमाउन सक्दैनन्, त्यो देशको नागरिकले झण्डै पचास हजार राष्ट्रको ऋण बोकेको छ। त्यो देशको त्यो नागरिकले एक सन्तान जन्माउँदा अर्को ५० हजार राष्ट्रिय ऋण बोक्छ। त्यही देशको राष्ट्रपतिका हजूरमा अठार करोडको गाडी! साढे एकअर्बको हेलिकप्टर!

विद्यादेवी वेलायती महारनी भिक्टोरियाभन्दा बढी भोग–विसालमा डुबेकी छिन्। भनिन्छ– विनासकाले विपरित बुद्धि ! तर हैन, यो। सर्वनासकाले सर्वबुद्धि भ्रष्टम् हो, यो!

अमेरिकामा ट्रम्पको शासन छ। उनैका दलका प्रभाशाली नेताहरु जेल गए। तीमध्ये केही महिनाअघि जेल जाने एक थिए, डिन सेकोलस। न्युयोर्क, जहाँ विपक्षी डेमोक्र्याटको उपस्थिति सधैं बलियो छ। त्यही न्यूयोर्क राज्यमा लामो समयदेखि रिपब्लिकनका संसदीय दल प्रमुख रहेका डिनमाथि लागेको आरोप थियो– भ्रष्टाचार।

तर डिनले कसैसँग कुनै आर्थिक लेनदेन गरेका थिएनन्। आफ्ना छोरालाई कुनै कम्पनीको परामर्शदाता नियुक्त गरी बीसहजार डलर भुक्तानी गर्न दबाब दिएको आरोपमा उनी जेल गए। पदको दुरुपयोग गरेको आरोमा तुरुन्तै पदमुक्त भए। लोकतन्त्र र कानुनी राजको एउटा सानो उदाहरण हो, यो।

नेपालमा मार्सीको भातले देशको कानुन परिवर्तन गरिदिन्छ। एउटा नेताको बिहेको वर्षगाँठको भोजले एनसेलले देशलाई तिनु पर्ने पचासौं अर्बको मुद्दा ढिसमिस हुन्छ। सुमार्गीका लागि सरकारले बेग्लै मार्ग बनाएको छ। एउटा एकनाथले सिङ्गो सरकार चलाउँछ। यस्ता कर्तूतको फेहरिस्त लामै हुन्छ।

केही दिनअघि चीनका एक उपमन्त्रीलाई १५ वर्षको जेल सजाय दिइयो। समाचार अनुसार केही लाख हिनामिना गरेको अभियोगमा उनी जेल गए। हाम्रा प्रधानमन्त्री र मन्त्री हैन पक्ष–विपक्षमा बसेर तालीमात्र बजाउने ‘भेडाजिवी’ सांसद समेत पैसाका बिटाका बिटा सोर्छन्। सबै पाच्य छ।

नेपाल त्यस्तो देश हो, जहाँ जसले जति धेरै भ्रष्टाचार गर्न सक्यो त्यो त्यतिनै ठूलो नेता हुन्छ। त्यत्ति नै बढी पूज्य हुन्छन्। सबैभन्दा बलिया उदाहरण हुनुहुन्छ– माओ दर्शनवादी महान् क्रान्तिकारी सर्वहारा नेता पुष्पकमल दाहाल एण्ड कम्पनी। अर्का हुनुहुन्छ– मार्कवार्द–लेनिनवाद् दर्शननिष्ठ कम्युनिष्ट नेता केपी शर्मा ओली एण्ड कम्पनी । अर्का हुनुहुन्छ– महान् प्रजातान्त्रिक समाजवादी नेता शेरबहादुर देउवा एण्ड कम्पन । दुराचारको यो फेहरिस्त पनि लामै हुन सक्छ।

नेपाली राजनीतिमा भ्रष्टाचारलाई संस्कारका रुपमा ग्रहण गरिएको छ। सहजरुपमा स्वीकार गरिएको छ। अहिले देशमा नेताबाट नेता जन्मिएका छैनन्। एड्स लागेका बाबुआमाबाट जन्मिएका सन्तान जस्तै भ्रष्टाचारी नेताबाट भ्रष्टाचारी पुस्ता जन्मँदै छन्।

जो भोलि नेता हुन्छ, त्यो नेताभित्र आजै मान्छे मरिसकेको छ। त्यो नेताभित्र नैतिकता रित्तिसकेको छ। आफूभित्रको मान्छे उसले आफैं मारिसकेको छ । नैतिक शक्ति आफैँले गुमाइसकेको छ। ऊ मान्छे भएर बाँच्नै पाउँदैन। ऊ जीवनभर एउटा भ्रष्ट नेता भएर बाँच्छ।

जो जीवनभर भ्रष्ट नेता भएर बाँच्छ उसले न मान्छे भएर मर्न पाउँछ, न नेता भएर। मर्छ तर एउटा भ्रष्ट भएर मर्छ।

मान्छेको जन्म मान्छेबाटै हुन्छ तर नेताको जन्म समाजबाट हुन्छ। हरेक समाजले आफ्नो योग्यता र हैसियत अनुसारको नेता जन्माउँछ। हामीले कस्ता नेता जन्मायौँ?

(‘नेपालका नेताको जन्म, जीवन र मृत्यु– दोस्रो भाग’ क्रमश:)

असार १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्