विजयकुमार, किप इट अप ब्रदर!

लामो समयसम्म कसैको संगत गर्‍यो वा कुनै अवस्थाको चिन्तन गर्‍यो भने त्यसको असर हाम्रो व्यवहारमा पर्छ। हतार मेरो स्वभाव थियो। म सधैँ हतारमै हुन्थेँ। पत्रकारिताको यात्राले त्यो हतारको स्वभावमा अझै मल थप्यो।

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई भन्ने गर्नुहुन्थ्यो- दौडेर र सुतेर एउटै ठाउँमा पुग्छौँ हामी। आफू दिउँसो सुत्ने सन्दर्भमा उहाँको यस्तो प्रस्टोक्ति आउँथ्यो।

हिजोआज म महसुस गर्छु – यदि टाढा पुग्नु छ भने बिस्तारै हिँड। धेरै टाढा पुग्नु छ भने हिँड्दै नहिँड।

आजकाल हतार गर्दिनँ म। हतार नगर्न सिकिरहेको छु।

लेखक तथा पत्रकार विजयकुमारलाई म लेखक तथा पत्रकारभन्दा बढी एउटा सामान्य मानिसका रुपमा चिन्छु। पद वा सामाजिक प्रतिष्ठासँग मेरो कहिल्यै कुनै आकर्षण रहेन। ती हाम्रो व्यवहारिक जीवनका स्थानहरु हुन्। हाम्रो कर्म वा दिनचर्यासँग जोडिएर आउने पद हाम्रो वास्तविक परिचय होइन।

त्यही भएर केपी ओली, डोनल्ड ट्रम्प वा नरेन्द्र मोदीभन्दा मलाई सन्दुक रुइत, महावीर पुन वा गोविन्द केसी बढी मन पर्छन्। हामीलाई ढाकेका दसौँ आवरणका पर्तहरु उघारेपछि बल्ल हामी वास्तविक आफू भेट्टाउने यात्रामा हुन्छौँ। विजयकुमारलाई म एउटा अग्रज पत्रकारभन्दा बढी आफू भेट्टाउने यात्राका सहयात्रीका रुपमा चिन्छु।

म सत्यको अन्वेषक हुँ। सत्यका अन्वेषकहरु मेरा प्रिय हुन्छन्। सत्यको अन्वेषकको सबैभन्दा पहिलो गुण के हो भने ऊ आफू र सत्यमध्ये सत्यलाई रोज्छ। सत्यलाई आफूभन्दा प्रिय ठान्छ। मेरा धारणा, मेरा विचार वा मेरा व्यवहार सत्यभन्दा एक औँश पनि फरक छन् भने मलाई ती स्वीकार्य छैनन्। विजयकुमार पनि सत्यका एउटा यस्तै अन्वेषक हुन् भन्ने म महसुस गर्छु।

एक दिन विजयकुमार र म सँगै छोटो यात्रामा थियौँ। झम्सिखेलदेखि तीनकुनेसम्म। विजयकुमारलाई मैले भनेँ- दाइ, जीवनमा धेरै हतारिएँ। अब नहतारिन प्राक्टिस गर्दैछु।

मतिर हेरेर मुस्काउँदै विजयकुमारले भने- नाइस मनोज। मलाई जगदीश घिमिरे दाइले उहिल्यै मिलन कुन्देराको ‘स्लोनेस’ भन्ने किताब पढ्न दिनुभएको थियो। हतार गरेर कहिँ पुगिँदैन।

मलाई माफ गर्नुहोस्- अचेल म धेरै किताब पढ्दिनँ। यस्तो होइन कि किताबमा मलाई कुनै रुचि छैन। किताब मेरो सर्वाधिक प्रिय वस्तुमध्ये एक हो। तर मलाई किताबहरुले आकर्षण गर्न छाडेका छन् हिजोआज। मैले खोजेको किताब बजारमा पाउन सक्दिन म।

विजयकुमारको ‘सम्बन्धहरु’ पढिसकेपछि मलाई लाग्यो- यो किताब मैले खोजेको किताब बन्न नसके पनि बन्न सक्थ्यो। वा बन्न सक्छ, अहिले पनि।

सम्पादन नगरिएका किताबहरुले मलाई आकर्षण गर्दैनन्। लेखकको अनुभूति र ज्ञानको अद्वितीय संगम हुनुपर्छ किताब जसका शब्दले पाठकलाई एउटा अनौठो आनन्दको बोध गराऊन्। किताबलाई जति एउटा उत्कृष्ट दृष्टिक्षमता भएको लेखक चाहिन्छ, त्यति नै उत्कृष्ट सर्वकालिक चेत भएको सम्पादक चाहिन्छ। सम्पादन नभएका किताब शब्दका डंगुरहरुमात्र हुन्। तिनले उतार्दैनन्, फसाउँछन्।

किताबलाई एउटा असल सम्पादक चाहिन्छ भन्ने नेपाली लेखकहरुले बुझ्न सकेका छैनन् सामान्यतया:। अफसोस केमा छ भने विजयकुमारले पनि बुझेका छैनन् यो। वा, बुझ्न सकेका छैनन्। वा, बुझ्न चाहेका छैनन्।

हतारमा छ यो किताब। विजयकुमारको मस्तिष्कजस्तै। फटाफट उक्लेको छ, शिखर टेक्न हतारिएजसरी।

आप्पा शेर्पाको एउटा वाक्य सम्झन्छु- आफैँमा स्थित रहेर विस्तारै पाइला चाले शिखर चढ्न असम्भव हुन्न। आप्पा शेर्पाको यो वाक्यले मलाई जीवनमा धेरै प्रेरणा दिएको छ।

अर्को कुरा- मलाई ‘मसलाहरु’ भएको किताब मन पर्दैन। विजयकुमारको किताबमा पनि ‘मसलाहरु’ छन्। हो, मसलाले परिकारलाई तिख्खर र स्वादिलो त बनाउँछ तर वास्तविक स्वादमा पर्दा लपेटिदिन्छ। पाठकले थाहा नै पाउँदैन- म मसला खाइरहेको छु वा ब्रोकाउलीको तरकारी!

विजयकुमारको मलाई मन पर्ने अर्को पाटो उनको बालसुलभता हो। उनी आफ्नै थोरबहुत घमण्डबाहेक अरु भार बोकेर हिँड्दैनन्। योगिनीसँग संवाद गरेजस्तै उनलाई आफ्नो मै हुँ भन्ने भावको मखुण्डोबारे ज्ञान हुन पनि सक्छ, नहुन पनि।

सम्बन्धहरुको सबैभन्दा ठूलो विशेषता केही हो भने सरलता। यो किताब सरल छ। सरलता एउटा अभ्यास हो। विजयकुमार त्यो अभ्यासमा छन् भन्ने बुझ्न सकिन्छ। सरलताको अभ्यासका क्रममा उनले आफूले मात्र बुझ्ने केही शब्दहरु किताबमा प्रयोग गरेका छन् जसलाई निश्चय नै लक्षित पाठकले बुझ्नसक्ने बनाउन सकिन्छ। सकिन्थ्यो।

अनि- भाव महत्त्वपूर्ण हो। धेरै महत्त्वपूर्ण। यसमा सभ्य संसारमा कुनै विमति छैन। तर, भाषा पनि कम महत्त्वपूर्ण होइन। भाव र भाषाबीचको फरक के हो भने भाव तिम्रो हुन्छ भने भाषा तिम्रोमात्र भयो भने ‘डेन्जरस’ हुन्छ। बिजुलीको करेन्ट लाग्ने ठाउँमा खतराको चिह्न राखेजस्तो ‘डेन्जरस’ होइन तर अनर्थ लाग्ने गरी ‘डेन्जरस।’ लेखकको भाव व्यक्त गर्ने भाषा पाठकले बुझेनन् भने श्रम व्यर्थ जान्छ। किताब लेख्नुको श्रम व्यर्थ जानु किसानले बारीमा रोपेका फर्सीहरु ‘लाइ’ लागेर सखाप भएजस्तै हो। त्यो जोखिम लेखकले नमोलेकै राम्रो। विजयकुमारले पनि।

भाषा सरल हुनुपर्छ निसन्देह। र, सरलता बढो कठीन हुन्छ। दुरुह हुन्छ। सबैभन्दा अप्ठ्यारो हुन्छ सरलता। सरल बन्न सजिलो छैन। विजयकुमारले त्यो अभ्यास गरेका छन्। यसका लागि हार्दिक धन्यवाद। उनले आफ्ना जटिल र गहन भावलाई सरल शैलीमा पस्कने प्रयास गरेका छन्। तर, आफैँले मात्र बुझ्ने र पाठकका लागि बोधगम्य नहुने शब्दले सरलता निश्चित गर्न सक्दैन।

ब्यागेज कुनै पनि राम्रो होइन। चाहे त्यो भाषाको होस् वा चाहे मै हुँ भन्ने भावको। किताब लेखन एउटा साधना हो जो अरुले देख्न सक्छन्। अरुले देख्ने साधना अरुले बुझ्ने खालको हुनुपर्छ। डायरी आफ्नो लागि लेखिन्छ भने किताब अरुका लागि। हिन्दी, अंग्रेजी र बोलीचालीका भाषा प्रयोग गर्दा ती भाषा लेखकको होइन, पाठकको हुनुपर्छ। भाव लेखकको, भाषा हाम्रो। लेखकको पनि, पाठकको पनि।

हामी बाहिर हेर्छौँ सामान्यतया:। आफूलाई हेर्देनौँ। आफ्ना कमजोरीहरु स्वीकार गर्दैनौँ। आफ्नो आङको भैसी देख्दैनौँ, अरुको आङको जुम्रा पनि देख्छौँ। आफूबाहेक सारा संसारमा परिवर्तनको अपेक्षा गर्छौँ तर आफू भने सबै विषयमा निपुण छौँ भन्ने ठान्छौँ।

भाव ठूलो हो निसन्देह, तर भाषा पनि कम होइन।

फेरि अध्यात्म र वैज्ञानिक जीवनपद्धतिको हामीले गर्ने अभ्यासमा के ठूलो, के सानो। सबै चिजहरुको आआफ्नो ठाउँमा विशेष महत्त्व हुन्छ नै। केपी ओली ठूला होलान्, म पनि त कम हैन नि!

जीवनमा हामीले के हेर्छौ र के पछ्याउँछौँ भन्ने महत्तवपूर्ण हुन्छ। विजयकुमारले किताबमा देखाएको सबैभन्दा महत्वपूर्ण पक्ष जीवनदर्शन र त्यसलाई उनले हेर्ने भाव र विचारहरु हुन्। हामी बाहिर हेर्छौँ सामान्यतया:। आफूलाई हेर्देनौँ। आफ्ना कमजोरीहरु स्वीकार गर्दैनौँ। आफ्नो आङको भैसी देख्दैनौँ, अरुको आङको जुम्रा पनि देख्छौँ। आफूबाहेक सारा संसारमा परिवर्तनको अपेक्षा गर्छौँ तर आफू भने सबै विषयमा निपुण छौँ भन्ने ठान्छौँ।

विजयकुमारले केही सीमित पात्रहरुमार्फत आफ्ना ‘अब्जर्भेसन’ पाठकसँग साटेका छन्। पाठकहरुलाई पनि अप्रत्यक्ष रुपमा आफूलाई हेर्न र आफ्नै स्वरुपमा स्थित हुन सन्देश दिएका छन्। आफूलाई हेर्न उनले कहिले आफ्ना छोराछोरी, कहिले रिम्पोछे, कहिले योगिनी, कहिले आकाश, कहिले नतालिया र कहिले सुम्निमासँगका सम्बन्धहरुलाई किताबमा ल्याएका छन्।

स्वीकारभाव हामीले जीवनमा अवलम्बन गर्नुपर्ने गुण हो। र, मृत्युको स्वीकारभाव सबैभन्दा ठूलो आध्यात्मिक कर्म। जीवन छोटो छ। ब्याट्रीको पर्सेन्टेज घट्दै गइरहेको छ। त्यो ब्याट्री फेसबुक चलाएर, अरुको निन्दा गरेर सक्ने कि आफैँमा स्थित भएर? यो मिलियन डलरको प्रश्न हो जुन आफैँसँग सोध्न विजयकुमारले पाठकहरुलाई उक्साएका छन्।

फेक आइडी चलाएरमात्र जीवन सक्ने कि रियल आइडी पनि चलाउने? मखुण्डोहरुमात्र लगाएर संसार हेर्ने कि कहिलेकाहिँ साँच्चैको आँखा पनि प्रयोग गर्ने? यी प्रश्नहरुमा पाठक घोत्लिए भने यो पुस्तकको ठूलो पूण्यकर्म हुन्छ।

‘सम्बन्धहरु’ एउटा यस्तो पुस्तक हो जसका हजारौँ शब्दहरुमध्येबाट केही शब्दमात्र पाठकले ग्रहण गर्नसके भने जीवन बदलिने दिशामा केही न केही योगदान पुग्छ, निश्चय नै।

प्रिय लेखक, अर्कोपटक अलि कम हतारिनू। मिलेसम्म सुस्तरी हरेक श्वासको आनन्द लिँदै च्याप्टर अघि बढाउँ न! आखिर श्वासभन्दा ठूलो कुन पो किताब हुन सक्ला!

अनि अ गुड बुक इज अ गुड इडिटिङ। भाव जति ‘खुंखार’ हुन्छ नि, इडिटिङ पनि त्यस्तै ‘खुंखार’ हुनुपर्छ। भावलाई अझ तिखार्न हो इडिडिङ। मैले भनेँ नि- भाव हाम्रो आफ्नो र निजात्मक हुन्छ, पर्सनल। भाषाचाहिँ पर्सनल होइन है। भाषा कम से कम यति सरल र यति बोधगम्य हुनुपर्छ कि पाठकहरुले ठ्याक्कै मेरा भाव बुझून्!

विजयकुमारको भावको गहनतालाई सम्पादनको गहनता नपुगेको ‘सम्बन्धहरु’मा प्रस्ट देखिन्छ। यो भन्न कुनै आइतबार कुर्नु पर्दैन।

एनिवेज ब्रदर, यु डिड अ ग्रेट जब। यु ट्राइड वेल।

किप इट अप ब्रो!

फाल्गुन १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्