तीन गाउँको तिर्खा मेट्ने ठूलो वनको मूलको पानी

काभ्रे (धुलिखेल) – बारीमा खनिएको आलुको बोरा लिन जाँदै गरेकी प्रेममाया तामाङले खुशी र दुःखका कुरा गरिन्।
खन्ने बेलामा परेको भारी वर्षाले उनको आलुबालीमा नोक्सानी भयो। एक भारी आलुको बोरा बारीबाट बाटो छेउमा ल्याएकी प्रेममाया अर्को बोरा ल्याउन जाँदै थिइन्।
पानीको कुरा भइरहँदा उनले बालीमा परेको नोक्सानीभन्दा मूल व्यवस्थापन गरी आफ्नो गाउँमा नियमित रूपमा आउने गरेको खानेपानीले दिएको सुख सम्झिइन्।
विगत केही वर्षदेखि स्थानीय रूपमा नै स्वच्छ खानेपानीको व्यवस्थापन हुँदा प्रेममायालगायत अन्यलाई सजिलो भएको छ।
‘रात बिहान मूल खोज्दै जंगल जानु परेको छैन’, धुलिखेल नगरपालिका वडा नम्बर ९ तामाङ गाउँकी ५१ वर्षीया प्रेममायाले भनिन्, ‘गाउँमा साझा धारा बनेपछि पानीलाई दुःख छैन।’
साबिकको नित्यचण्डेश्वरी गाविस-३ का बासिन्दा गाउँ वरपरको जंगलमा मूल भए पनि स्वच्छ खानेपानीको पहुँचमा थिएनन्। पछिल्लो केही वर्षदेखि अवस्था केही फेरिएको छ।
त्यसको कारक, स्थानीय बासिन्दाकै पहलमा सञ्चालित खानेपानी आयोजना- जसको व्यवस्थापन तामाङटोल, कार्की गाउँ र रानाछाप खानेपानी उपभोक्ता समितिले गर्दै आएको छ।
तीन गाउँका ३५ घर-परिवारले विगत चार वर्षदेखि गाउँका धाराबाट पानी पाएका छन्। ‘त्यो वनमा मूलको पानी संकलन गरी गाउँ ल्याएका छौँ’, पानीको मूल रहेको धुलिखेलको ठूलो वन देखाउँदै उपभोक्ता समितिकी अध्यक्ष विमला रानाभाटले भनिन्, ‘विगत चार वर्षदेखि गाउँकै धाराबाट पानी पाएका छौँ।’
तामाङटोल, कार्की गाउँ र रानाछापका बासिन्दाले २०७५ सालको मध्यसम्म गाउँ तलको ‘धुलिखेलको ठूलो वन’ गएर मूलबाट पानी ल्याउन बाध्य थिए। ‘साँझ बिहान पानी लिन जाँदा जनावरको डर थियो’, स्थानीय बासिन्दासमेत रहेकी ४३ वर्षकी रानाभाटले भनिन्, ‘पानीको जोहो गर्ने जिम्मा महिलाकै हुने, जंगल जाँदा सुरक्षाको जोखिम थियो।’
मुस्किलले मेटिएको तिर्खा

धुलिखेल बजारमा समुदायस्तरमा विगत केही दशकदेखि हुुँदै आएको खानेपानीको व्यवस्थापनको चर्चा अन्तर्राष्ट्रियस्तरमा हुँदै आए पनि डाँडाका गाउँमा समस्या थियो। स्थानीयले तत्कालीन गाउँ विकास समिति तथा त्यसपछि नगरपालिकासँग आग्रह गर्दै आए, तर पानीको व्यवस्था हुन सकेन।
लगातार पालिका धाएर आफूहरूले स्थानीय रूपमा नै मूलको पानी संकलन गरी गाउँमा पानी ल्याएको उपभोक्ता समितिको नेतृत्व गरिरहेकी विमला रानाभाटले स्मरण गरिन्।
‘पानी त थियो, तर जंगलमा। खेतबारीको काम छँदैछ, त्यसमाथि पानी ल्याउनका लागि जंगलको अप्ठ्यारो बाटो मूलमा जानु पर्ने थियो’, रानाभाटले भनिन्, ‘लगातार पालिकामा पानीका लागि माग गर्याैँ। लामो प्रयासपछि २०७५ को साउनमा पालिकाले बजेट दियो, गाउँले मिलेर काम गर्याैँ। अनि बल्ल डाँडामाथिको बस्तीमा पानी आएको हो।’

सुरुमा नगरपालिकाले मूलको पानी संकलन गरी राख्नका लागि चाहिने ट्यांकी तथा आवश्यक संरचना बनाउनका लागि दुई किस्ता गरेर दुई लाख रुपैयाँ दिएको थियो। ‘हामी गाउँलेले श्रमदान गर्याैँ’, रानाभाटले भनिन्, ‘मूल पहिचान गरी १२ हजार लिटर क्षमताको ट्यांकी बनायौँ।’
त्यसपछि पालिकाले पानी माथि तान्न तथा धारा वितरणका लागि थप एक लाख रुपैयाँ दिएको अध्यक्ष रानाभाटले बताइन्। ‘सो रकमबाट हामीले माथि ६ हजार लिटर क्षमताको वितरण ट्यांकी बनायौँ। त्यहाँबाट तीन गाउँका लागि सातवटा धारा बनाएर पानी पिउँदै आएका छौँ’, सुरुदेखि नै उपभोक्ता समितिको नेतृत्व गर्दै आएकी रानाभाटले बताइन्।
२०७५ सालदेखि हालको धुलिखेल नगरपालिका- ९ का तीन गाउँका ३५ घरले खानेपानीका लागि जंगलको मूल होइन, त्यहाँबाट ल्याइएको सामूहिक धारा धाउँदै आएका छन्। ‘प्यास मेट्न धेरै सजिलो भएको छ’, तामाङ गाउँकी प्रेममाया तामाङले भनिन्।
एक घर-एक धाराको सपना

घर-घरमै धारा लैजानसक्ने सम्भावना देखेकी अध्यक्ष रानाभाट त्यसका लागि थप सहयोगको खाँचो रहेको बताउँछिन्। ‘मूलको पानी संकलन गरेर राख्ने ट्यांक ठूलो बनाउन सके घर-घरमा धारा पुर्याउन सकिन्थ्यो’, उनले भनिन्, ‘मूलबाट आउने पानी पूरै गाउँलाई प्रतिघर धारा राख्न पुग्नेछ।’
मूलको पानी व्यवस्थित गरी ट्यांकीमा संकलन गर्न थालेपछि पानीको मात्रा बढेको अनुभव गाउँलेले गरेका छन्। संकलन ट्यांकीबाट ३२ एमएमको पाइपमार्फत् पानीमाथि गाउँ नजिक रहेको वितरण ट्यांकीमा ल्याउने गरिएको छ। गाउँलेले भनेजस्तै धुलिखेलको ठूलो वनमा रहेको संकलन ट्यांकीबाट पानीको ठूलो धारा निरन्तर बगिरहेको देखिन्छ।
‘पालिकाबाट सहयोग भएमा खेर गएको पानी संकलन गर्ने अर्को ट्यांकी बनाएर गाउँका हरेक घरमा धारा जडान गर्न सकिन्छ’, रानाभाटले भनिन्, ‘अहिले सामूहिक धाराबाट पानी पिउँदै आएका गाउँलेले घरमै धारा पाउने सम्भावना छ, हामीसँग पानीको स्रोत राम्रो छ।’

डाँडा क्षेत्रमा विगतदेखि नै रहेका तथा पछि बनाइएका पानी संकलन पोखरीले मूलमा पानी निरन्तर गराउन सहयोग गरेको स्थानीयको अनुभव छ। पछिल्ला केही वर्षमा पानीको मात्रा बढेको अनुभव गरिएको बताउने अध्यक्ष रानाभाटले भनिन्, ‘खेर गएको पानी संकलन गरेर घर-घरमा धारा पुर्याउने सपना छ।’
तर, त्यसका लागि आफूहरूलाई स्रोत तथा आवश्यक प्राविधिक सहयोगको खाँचो पर्ने रानाभाटले बताइन्। ‘हामी हाम्रो पानीको स्रोतको व्यवस्थान गर्न सक्षम छौँ’, उनले भनिन्, ‘चाहिएको मात्रै साथ र सहयोग हो। गाउँकै स्रोतबाट गाउँलेले पानी पिउन पाउने व्यवस्था गर्न सकिन्छ।’
त्यसको उदाहारण आफूहरूले अहिले गरिरहेको काम रहेको उनको भनाइ छ। तामाङटोल, कार्की गाउँ र रानाछाप खानेपानी उपभोक्ता समितिले मासिक सात हजार पारिश्रमिकमा गाउँकै एकजना हेरालु राखेको छ।

प्रतिघर महिनाको तीन सय रुपैयाँ संकलन गरेर संकलन ट्यांकीबाट वितरण ट्यांकी तथा त्यहाँबाट धारासम्म पानी लैजानका लागि आवश्यक विद्युतको शुल्क र अन्य व्यवस्थापकीय खर्च टार्दै आएका छन्।
पालिका दर्ता गरे पनि आफूहरुले कर तिर्नु नपरेको उपभोक्ता समितिले जनाएको छ।
‘तर विद्युत महसुलमा हामीले छुट पाएका छैनौँ’, अध्यक्ष रानाभाटले भनिन्, ‘विद्युत महसुलमा छुटका लागि पालिका तथा वडामा कुरा राखे पनि सुनुवाइ भएको छैन। हामीले गाउँमा पानीको दीगो व्यवस्थापनका लागि सहयोग मागेका छौँ, सहयोग भए व्यवस्थापन हामी आफै गर्न सक्छौँ। तिर्खा मेट्ने उपायहरू छन्, मात्रै साथ चाहिएको हो।’
