'गोस्ट अफ द माउन्टेन'

जब देखियो पुमोरी हिमालको छायाँमा हिउँ चितुवा

कितिया पोवलोभ्स्कीले सगरमाथाको खुम्बु क्षेत्र अन्तर्गत पुमोरी हिमालको छायाँमा खिचेको हिउँ चितुवाको तस्बिर।

(नोट : कितियाले खिचेको तस्बिर वास्तविक नभएका आधार रहेको भन्दै तथ्यजाँचसहितको सामग्री अल्पाइनम्यागमा प्रकाशित भएको छ । तर कितियाले अहिलेसम्म आफ्नो धारणा सार्वजनिक गरेकी छैनन् । मंसिर १० गते अध्यावधिक गरिएको)

काठमाडौँ- पर्वतीय क्षेत्रको पारिस्थितिक प्रणाली नियमित बनाइराख्नका लागि महत्त्वपूर्ण भूमिका हुने ठानिएको हिउँ चितुवाको तस्बिर एक अमेरिकी फोटोग्राफरले हालै सगरमाथा राष्ट्रिय निकुञ्जमा खिच्न सफल भइन्। त्यसलाई सगरमाथा क्षेत्रमा हिउँ चितुवा रहेको पछिल्लो प्रमाणका रूपमा लिइएको छ।

अमेरिकी फोटोग्राफर कितिया पावलोभ्स्कीले सगरमाथा क्षेत्रको पाँच हजार मिटरभन्दा माथि गएर हिउँ चितुवाका तस्बिर खिचेकी हुन्। उनी हिउँ चितुवाको तस्बिर खिच्ने लालसासहित सगरमाथा क्षेत्रमा पुगेकी थिइन्।

‘सगरमाथा क्षेत्रको पाँच हजार १६४ मिटरको उचाइमा हिउँ चितुवाको पाइलाको छाप देखेपछि मलाई विश्वास लाग्यो कि मैले केही फेला पारेँ’, सोही पाइला पछ्याउँदै माथि उक्लिएको उल्लेख गर्दै फोटोग्राफर पावलोभ्स्कीले आफ्नो वेबसाइटमा लेखेकी छन्, ‘पाँच हजार ४८६ मिटरको उचाइमा मौसम अनिश्चित हुन्छ। मिनेटभरमै अत्यधिक चिसो वा सूर्यको करणले झलमल हुन्छ। यो क्षेत्र हिउँ चितुवा हिँडडुल गर्ने सीमाभित्र पर्छ, तर उपत्यका राम्रोसँग देख्नका लागि म अझै उक्लिनुपर्ने थियो।’

सगरमाथा आधार शिविरमा कितिया पोवलोभ्स्की। तस्बिर : कितियाको इन्स्टाग्राम।

पावलोभ्स्कीले गत अक्टोबर दोस्रो हप्ताको सुरुमा सगरमाथाको खुम्बु क्षेत्रअन्तर्गत पुमोरी हिमाल आसपासमा हिउँ चितुवाको तस्बिर खिच्न सफल भएकी हुन्।

उनले लेखेकी छन्, ‘मेरो क्यामराको टेलिफोटो लेन्समार्फत् नियाल्दै गर्दा मैले पुमोरी हिमालको छायाँमा केही देखेँ। सुरुमा लाग्यो- चट्टान हो। तर, त्यो वास्तवमा त्यही थियो, जसको खोजीमा म निस्किएकी थिएँ।’

हिउँ चितुवाको खोजीमा १६५ किलोमिटरभन्दा बढीको यात्रा तय गरेको उनले उल्लेख गरेकी छन्। उनले पुमोरी हिमालको छायाँमा कैद गरेको हिउँ चितुवाको तस्बिर आफ्नो जीवनका निकै कठिन र पुरस्कृत गर्ने तस्बिर रहेको उल्लेख गरेकी छन्।

हिउँ चितुवाको तस्बिर किन महत्त्वपूर्ण?

 

ठूलो बिरालो प्रजाति‍अन्तर्गत मांसाहारी जनावर हिउँ चितुवा पर्वतीय क्षेत्रको तीन हजार मिटरदेखि पाँच हजार पाँच सय मिटरसम्मको उचाइका चट्टान तथा हिउँयुक्त क्षेत्रमा पाइन्छ। तर मंगोलिया र रुसमा भने हिउँ चितुवा समुद्री सतहबाट एक हजारभन्दा तलकै उचाइमा पनि पाइने गरेका छन्।

नेपालमा हिउँ चितुवाको घनत्व पूर्व र मध्य क्षेत्रमा भन्दा मध्य तथा सुदूरपश्चिम क्षेत्रमा बढी रहेको अनुमान छ। सगरमाथा क्षेत्रमा निकै कममात्रै हिउँ चितुवा रहेको आँकलन गरिँदै आएको अवस्थामा पुमोरी हिमालको छायाँमा खिचिएको हिउँ चितुवाको तस्बिरलाई उनीहरूको उपस्थितिको तथ्यगत प्रमाणका रूपमा महत्त्वपूर्ण मानिएको हो।

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सन् २००९ मा गरेको आँकलनमा नेपालमा ३ सयदेखि  ४ सयसम्म हिउँ चितुवा रहेको उल्लेख थियो। अर्को एक आँकलनमा नेपालमा हिउँ चितुवाको संख्या ३ सयदेखि ५ सयसम्म रहेको उल्लेख छ।

कितिया पोवलोभ्स्कीले सगरमाथाको खुम्बु क्षेत्रमा खिचेको हिउँ चितुवाको तस्बिर।

विभागको हिउँ चितुवा संरक्षण कार्ययोजनाअनुसार नेपालका तीन क्षेत्र पूर्व, मध्य र पश्चिममा हिउँ चितुवा पाइन्छन्। त्यसमा गरिएको आँकलनअनुसार पूर्वको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा औसतमा १८ तथा सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा औसतमा चारवटा हिउँ चितुवा छन्। यस्तै, मध्य क्षेत्रको अन्नपूर्ण संरक्षण क्षेत्र र मनास्लु संरक्षण क्षेत्रमा औसतमा १७ वटा हिउँ चितुवा रहेको अनुमान छ।

सबैभन्दा बढी घनत्व रहेको पश्चिमको शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र अपि नम्पा संरक्षण क्षेत्रमा औसतमा ३१९ वटा हिउँ चितुवा रहेको आँकलन गरिएको छ। तर, अहिलेसम्म हिउँ चितुवाको संख्या यकिन रूपमा भन्न सकिने गरी गणना भने भएको छैन।

बढीमा पाँच तथा कम्तीमा दुईवटा मात्रै हिउँ चितुवा रहेको अनुमान भएको क्षेत्रमा फोटोग्राफर पावलोभ्स्कीले भौतिक प्रमाणका रूपमा तस्बिर खिच्नु ठूलो कुरा रहेको विभागले जनाएको छ।

कितिया पोवलोभ्स्कीले खिचेको हिउँ चितुवाको तस्बिर।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा. गणेश पन्तले भने, ‘ठूलो बिरालो प्रजातिअन्तर्गत तराई तथा पहाडमा पाइने बाघ तथा चितुवाको जसरी हिउँ चितुवाको यकिन संख्या भन्न सकिने गरी गणना हुन सकेको छैन। औसत आँकलन मात्रै भन्ने हो, यकिन संख्या थाहा छैन। यस्तो अवस्थामा निकै कम रहेको भनिएको क्षेत्रमा हिउँ चितुवाको तस्बिर खिचिनु राम्रो कुरा हो। यसले हिउँ चितुवाको अध्ययनलाई सहयोग पुग्छ।’

सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायका अनुसार आधिकारिक अनुमानमा बढीमा पाँचवटा मात्रै हिउँ चितुवा रहेको भनिए पनि वास्तविक संख्या त्योभन्दा धेरै हुन सक्छ।

‘हालै सार्वजनिक भएको तस्बिरलाई यहाँ हिउँ चितुवा रहेको पछिल्लो प्रमाणका रूपमा लिन सकिन्छ। तर यहाँका स्थानीय बासिन्दाले बेलाबखतमा हिउँ चितुवा देख्ने गरेको बताउँदै आएका छन्’, प्रमुख संरक्षण अधिकृत उपाध्यायले भने, ‘यस्तै, स्थानीयका पशुचौपाय हिउँ चितुवाले खाएका घटना बेलाबेला सार्वजनिक हुने हुँदा पनि यहाँ आँकलन गरिएभन्दा बढी संख्यामा हिउँ चितुवा रहेको भन्न सकिन्छ।’

उनका अनुसार सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा हिउँ चितुवाको संरक्षण वा अनुसन्धानलाई लिएर विशेष कार्यक्रम भने हाल सञ्चालनमा छैनन्। ‘संरक्षण प्रयासका लागि अनुसन्धानको आवश्यक छ’, उनले भने।

पर्वतीय पारिस्थितिक प्रणाली र ‘गोस्ट अफ द माउन्टेन’

 

माथिल्लो पहाड अर्थात् पर्वतीय क्षेत्रको ठूलो क्षेत्र ओगटेर बस्ने गरेको हिउँ चितुवालाई ‘गोस्ट अफ द माउन्टेन’ पनि भन्ने गरिएको छ। पर्वतीय क्षेत्रको भौगोलिक अवस्थासँग मिल्दोजुल्दो फुस्स्रो खैरो रंगको हुने हिउँ चितुवा लजालु तथा लुकेर बस्ने जनावर हो।

‘लुकेर बस्ने तथा सजिलै नदेखिने हिउँ चितुवालाई रहस्यम जनावरका रूपमा लिइन्छ। उसले चाहेमा सबै देखिने तर मानिसले देख्न निकै मुश्किल हुने गर्छ’, हिउँ चितुवाको क्षेत्रमा अध्ययन गर्दै आएका विश्व वन्यजन्तु कोष नेपालका समुन्द्र सुब्बाले भने, ‘पर्वतीय क्षेत्रको भू-बनोट र र राम्रोसँग मिलेको खैरो छिर्केमिर्के रौँले पनि हिउँ चितुवालाई स्पष्ट रूपमा देख्न गाह्रो बनाउँछ। केही सय मिटरको दूरीमै भए पनि हल्लिएन भने आँखाले झट्ट हेर्दा ठम्याउन नसकिने हुन सक्छ।’

कितिया पोवलोभ्स्कीले खिचेको हिउँ चितुवाको तस्बिर।

विश्व वन्यजन्तु कोष नेपालमा सिनियर रिसर्च अफिसरका रूपमा कार्यरत हिउँ चितुवा अध्येता सुब्बाका अनुसार पर्वतीय पारिस्थितिक प्रणाली व्यवस्थित बनाइराख्नका लागि हिउँ चितुवाको भूमिका प्रमुख रहेको मानिन्छ।

‘जसरी तराईको पारिस्थितिक प्रणालीका लागि बाघको भूमिका महत्त्वपूर्ण हुन्छ, त्यसैगरी पर्वतीय क्षेत्रका लागि हिउँ चितुवाकाे संरक्षण गरेमा समग्र पर्वतीय क्षेत्रको पारिस्थितिक प्रणालीको संरक्षण हुने मानिन्छ’, उनले भने।

हाल डब्लुडब्लुएफ नेपालले शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जसहितका क्षेत्रमा हिउँ चितुवा संरक्षण र अध्ययनमा काम गर्दै आएको छ।

कस्तो छ विश्वमा हिउँ चितुवको अवस्था?

 

नेपालसहित विश्वका १२ देशमा पर्वतीय क्षेत्रको रहस्यमय जनावर हिउँ चितुवा पाइन्छ। पछिल्लो आँकलनअनुसार विश्वभर करिब सात हजार पाँच सय हिउँ चितुवा प्राकृतिक बासस्थानमा छन्।

६००-७०० हिउँ चितुवा विश्वभरका विभिन्न चिडियाखानामा रहेका छन्। नेपालसहित अफगानिस्तान, भुटान, चीन, भारत, काजखस्तान, किर्गिस्तान, मंगोलिया, पाकिस्तान, रुस, ताजकिस्तान र उज्वेकिस्तानको करिब २० लाख वर्ग किलोमिटर क्षेत्रमा हिउँ चितुवाको बासस्थान फैलिएको छ, जसको आकार करिब ग्रिनल्याण्ड वा मेक्सिको जति हुन आउँछ।

साना बुट्यान तथा घाँसमात्रै पाइने पर्वतीय क्षेत्रको चिसो तर सुख्खा स्थानमा पाइने हिउँ चितुवाको ६० प्रतिशत बासस्थानमा चीनमा पर्छ।

नक्सामा हरियो रंगले हिउँ चितुवा पाइने क्षेत्रलाई जनाउँछ । स्रोत : ग्लोबल स्नो लियोपार्ड एण्ड इकोसिस्टम प्रोटेक्सन प्रोग्राम

आइयुसिएन-अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको ‘रेड लिस्ट’ मा हिउँ चितुवा अहिले ‘भल्नरेबल’ अर्थात् दुर्लभ प्रजातिको सूचीमा राखेको छ। आइयुसिएनले सन् १९७२ मा हिउँ चितुवालाई ‘इनजेन्जर्ड’ अथार्त् लोपोन्मुख प्रजातिका रूपमा सूचीकृत गरेको थियो। तर सन् २०१७ मा उसले संख्या केही बढेको भन्दै दुर्लभको सूचीमा राखेको हो।

बासस्थानको विनास, चोरी-शिकारी तथा जलवायु परिवर्तनका कारण बासस्थानमा बढ्दै गएको चापसहितका अवस्थामा हिउँ चितुवालाई लोपोन्मुखबाट दुर्लभको सूचीमा झार्ने आइयुसिएनको निर्णयको आलोचनासमेत भएको थियो।

हिउँ चितुवा कोषले वक्तव्य नै निकालेर आइयुसिएनको निर्णयको विरोध गरेको थियो। ‘उपलब्ध विज्ञानले आइयुसिएनको निर्णयलाई न्यायोचित ठहर गर्दैन र यसको गम्भीर प्रभाव हिउँ चितुवामा पर्न सक्छ’, कोषले भनेको थियो।

सूची परिवर्तन भए पनि सन् २०१७ यता पनि संरक्षण र अनुसन्धानका प्रयास भने जारी छन्। डब्लुडब्लुएफ नेपालका सिनियर रिसर्च अधिकृत समुन्द्र सुब्बाले भने, ‘दुर्लभको सूचीमा राखिनु भनेको अवस्था राम्रो छ भन्ने होइन। केही सुधार भयो तर संरक्षण प्रयास जारी रहनुपर्छ भन्ने मात्रै हो।’

कात्तिक २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्