- रमेश सिप्पीले ‘शोले’ फिल्मको निर्माणमा प्राविधिक चुनौती र मौसमको प्रतिकूलताले बजेट तीन गुना बढाएको बताए।
- सिप्पीले शोलेको सफलताको मुख्य श्रेय पटकथा र पात्रहरूलाई दिंदै, सलिम-जाबेदसँग काम गर्न पाएकोमा भाग्यमानी माने।
- फिल्म ‘शोले’ को प्रारम्भिक असफलतापछि छैटौँ हप्तादेखि सफलताको बाटो पहिल्याएको अनुभव रमेश सिप्पीले नेपाली दर्शकलाई सुनाए।
‘सो जा बच्चा नहीं तो गब्बर आ जाएगा’
यो संवाद, कालजयी बलिउड फिल्म ‘शोले’को हो। काल्पनिक तर अत्यन्तै प्रभावशाली पात्र गब्बर सिंह (अमजद खान)को त्रास गाउँ-गाउँमा थियो। १९७५ मा प्रदर्शन आएको चार घण्टा लामो शोलेलाई निर्देशन गरेका हुन् दिग्गज फिल्म निर्देशक रमेश सिप्पीले। उनै सिप्पीले शुक्रबार नेपाल पर्यटन बोर्डको हलमा फिल्म यात्रा र शोलेको सफलता नेपाली दर्शकलाई सुनाए।
काठमाडौँमा जारी नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को दोस्रो दिन (शुक्रबार) आयोजित ‘सिनेमा संवाद विथ रमेश सिप्पी र राजेश हमाल’ संवादमा बोल्दै उनले फिल्म ‘शोले’ निर्माणका क्रममा भोगेका रोचक र सङ्घर्षपूर्ण अनुभवहरू बाँडेका हुन्।
‘शोले सुरुमा डिजास्टर थियो पहिलो र दोस्रो हप्तातिर त हामी शोले चल्दैन भनेर निराश थियौँ तर फिल्मले छैटौँ हप्तादेखि सफलताको बाटो पहिल्यायो,’ उनले भने।
फिल्म शोलेको छायांकन स्थल थियो बैंगलोर नजिकैको रामनगर,जहाँ कृत्रिम गाउँ अर्थात चम्बलको भ्याली निर्माण गर्नु परेको उनले सुनाए। अग्ला पहाड र ठुला–ठुला चट्टानहरू भएको ठाउँ रोजिएको थियो, जहाँ एउटै दृश्य खिच्न पनि कैयौँ दिन कुर्नुपर्थ्यो। छायांकन स्थल टाढा र जोखिम ठाउँमा भएकाले लगानी तीन गुना बढेको बताए।
‘शोले सुरुमा १ करोड भारतीय रुपैयाँको बजेटमा बनाउने सोचिएको थियौँ तर, सुटिङका क्रममा विभिन्न प्राविधिक चुनौती र मौसमको प्रतिकूलताका कारण बजेट बढेर ३ करोड पुगेको थियो, जुन सन् १९७० को दशकमा निकै ठूलो रकम हो,’ उनले भने।
मौसमका कारण एउटा दृश्य खिच्न मात्र २१ दिन लागेको स्मरण गरे। हमालले सिप्पीलाई ‘यो फिल्म असफल भएको भए के हुन्थ्यो?’ भन्ने प्रश्न गर्दा सिप्पीले भने, ‘म यहाँ (निफमा) हुँदैन थिएँ।’
शोलेको सफलताको कारण हमालले सोधिरहँदा सिप्पीले प्रसिद्ध फिल्म लेखकद्वय सलिम-जाबेदलाई सम्झिए। ‘मसँग सलिम जाबेद थिए जसका कारण फिल्मको पटकथा र पात्रहरू कालजयी भए,’ उनले भने, ‘फिल्मको गब्बर सिंह, साम्बा, कालियादेखि बसन्तीको घोडासम्मलाई दर्शकले आज पनि उत्तिकै माया गर्छन्।’
शलिम-जावेदले सुरुवातमा आफूलाई वान लाइन स्टोरी मात्रै सुनाएको स्मरण गर्दै उनले भने, ‘उनीहरूसँग एउटा सानो आइडिया थियो। त्यो आइडिया पहिले अरू कसैको लागि थियो। उनले यो मेरो प्रकारको फिल्म होइन भनेर गरेनन्। त्यसपछि उनीहरूले मलाई एक आर्मी अफिसर र दुई अपराधीहरूको कथा सुनाए। म भाग्यमानी थिएँ कि मसँग ती दुई अद्भूत लेखकहरू थिए र हामीले यस्तो स्क्रिप्ट तयार गर्न सक्यौँ जसमा सबै तत्वहरू थिए।’
सिप्पीले फिल्मको सफलताको मुख्य श्रेय पटकथा र पात्रहरूलाई दिए । यस फिल्ममा जय-बिरु गब्बर सिंह, साम्बा, कालियादेखि बसन्तीको घोडासम्मलाई दर्शकले आज पनि उत्तिकै माया गर्छन्। फिल्मका सबै पात्रसहित घोडाको समेत नाम दर्शकलाई याद अझै छ।
हमालले कुराकानीका क्रममा नेपालमा धर्मेन्द्र अभिनीत फिल्मलाई नेपाली दर्शकले हरिरहेका थिएनन् र पनि शोले हेर्ने सीमा पारी बिहार र युपीका थुप्रै सहर पुगेको कथा पनि सुनाए । उनले भने, ‘शोले फिल्म हेर्न बिहार जाने नेपाली दर्शक थिए।’
सन् १९७५ मा आधिकारिक प्रदर्शनमा आए पनि यो फिल्म १९७३ अक्टोबर २ मा छायांकन सुरु भएको थियो। र शोलेको स्क्रिप्ट तयार भएको ६ महिनापछि छायांकन सुरु भएको सिप्पीले सुनाए।
पात्रहरूको चरित्र चित्रणका सन्दर्भमा सिप्पीले जयबिरुको चरित्र दुवै हमालभित्र रहेको पनि बताउन भ्याए। राजेश हमालको प्रशंसा गर्दै भने, ‘मैले सुनेको थिएँ तपाईं जयबिरुको चरित्र निर्वाह गर्न सक्नु हुन्छ।’
त्यसैगरी अमिताभ बच्चन अभिनित जञ्जिर फिल्म प्रदर्शनको मितिको अघिल्लो दिन मात्र शोलेको लागि साइन गरेको पनि स्मरण गरे सिप्पीले। ‘अमिताभ नयाँ थिए र करिअरको उचाइ छोइसकेका थिएनन्। शोलेका लागि अमिताभलाई साइन गराएको भोलिपल्ट जञ्जिर चल्यो। त्यो फिल्म हिट भयो। धन्न उनलाई हामीले सस्तोमा अनुबन्ध गरेका थियौँ। तर उनको अभिनयले फिल्ममा नयाँ उचाइ थप्यो।’
अहिलेको पुस्ताले ‘शोले’ लाई बलिउडको सबैभन्दा सफल फिल्मको रूपमा चिन्ने गरेको बताए उनले।
२४ वर्षको उमेरमा शोले निर्देशन गरेको सिप्पीले फिल्म निर्माण एउटा जोखिमपूर्ण यात्रा भएको बताए। ‘शोले’ को सफलताले आफूलाई फिल्म जगतमा स्थापित गराएको सुनाए । उनले भने, ‘शोले बनाउँदा म हलिउडका हलिउड फिल्महरूबाट प्रभावित भएको थिएँ।’
शोले एक मसलादार फिल्म हो। तर दर्शकले रुचाइदिए। भारतीय ग्रामीण परिवेश र चम्बलको डाँकाहरूको कथा मिसाएर नयाँ शैलीको निर्माण गरेको बताउँछन् उनी।
कराँची (हालको पाकिस्तान)मा जन्मेका सिप्पी भारत पाकिस्तान अलग भएसँगै भारत आएका थिए। उनका पिता जिपी सिप्पीले भारतीय फिल्म उद्योग र कन्स्ट्रक्शनको काम गरेको सम्झिएँ। कन्स्ट्रक्शनका साथै फिल्म निर्माणमा हात हाले सिप्पीले होम प्रडक्शनबाटै केही फिल्म बनाए। ‘शान’ ‘शक्ति’ ‘सीता और गीता’ ‘अन्दाज’ ‘सागर’ जस्ता फिल्म निर्देशन गरेका थिए सिप्पीले।
२५ वर्षको उमेरमा पहिलो फिल्म अन्दाज निर्देशन गरेको थिए जसमा उनका पिता जीपी सिप्पी निर्माता थिए । उनी भन्छन्, ‘विजनेश गरे पनि फिल्म हाम्रो प्यासन थियो।’
बलिउड तथा साउथ भारतका कलाकारहरूलाई हिन्दी फिल्ममा जोड्ने पुराना निर्देशकमा सिप्पी पनि एक हुन्। अहिले सिनेमा बनाउन ठूलो लगानी चाहिने समय आएको स्वीकार्छन्। तर प्रविधिले सिनेमा निर्माण सजिलो बनाइदिएको पनि बताउँछन्। प्रविधिले विश्वका सिनेमा हेर्न सजिलो बनाएको बताउने सिप्पी परिवर्तित प्रविधिले कथामा काम गर्न चुनौती देख्छन्। उनी भन्छन्, ‘प्रत्येक टेक्नोलोजी परिवर्तित छ।’
हमालले प्रविधिसँगै कथा भन्ने चुनौती बढेको कुरामा सिप्पीले सहमति देखाए । साथै पात्रको ट्रान्सफर्मेशनका बारेमा पनि छलफल गरे।
करिब एक घन्टा बढी चलेको कुराकानीमा सिप्पीले नयाँ फिल्म कम बजेटमा निर्माण गर्न लागेको बारे बताए। उनले भने, ‘म नयाँ प्रोजेक्ट गर्दै छु। युपी र मथुरामा मेरो फिल्मको लोकेशन छ। सानो बजेटको फिल्म हुने छ।’
तस्बिरहरू: बर्षा शाह
भर्खरै
लोकप्रिय
