- नाडा अटोमोवाईल्सका अध्यक्ष उप्रेतीको टोलीले अर्थमन्त्री वाग्लेसँग अटोमोवाइल क्षेत्रका चुनौती र बजेटका विषयमा छलफल गर्यो।
- उप्रेतीले टायर, ब्याट्री गुणस्तर मापनको अभाव र आयात छुटसहित लगानीमैत्री वातावरण निर्माण गर्न ३६ बुँदे सुझाव दिए।
- अर्थमन्त्री वाग्लेले निजी क्षेत्रमैत्री नीति ल्याउन प्रतिबद्धता जनाउँदै नाडासँग पुनः बैठक गर्ने आश्वासन दिए।
काठमाडौं– नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेको छ।
भेटका क्रममा प्रतिनिधिमण्डलले नेपालको अटोमोवाइल क्षेत्रको वर्तमान अवस्था, यस क्षेत्रले भोगिरहेका चुनौती र आगामी बजेटमा समेटिनुपर्ने विषयहरूमा केन्द्रित भई छलफल गरेको थियो।
छलफलका क्रममा अध्यक्ष उप्रेतीले अटोमोवाइल क्षेत्रलाई चलायमान बनाउन सरकारले नयाँ र खुकुलो नीति ल्याउनुपर्नेमा जोड दिए।

उनले नेपालमै उत्पादित टायर, ब्याट्री र लुब्रिकेन्ट्स जस्ता वस्तुको गुणस्तर मापन गर्ने संयन्त्र सरकारसँग नहुँदा व्यवसायीले समस्या झेल्नुपरेको बताए। साथै, अटोमोवाइल उद्योग फस्टाउन कच्चा पदार्थको आयातमा छुट दिनुपर्ने र लगानीमैत्री वातावरण निर्माण गरिनुपर्ने धारणा राख्दै नाडाको तर्फबाट ३६ बुँदे सुझाव समेत पेश गरिएको थियो।
जवाफमा अर्थमन्त्री डा. वाग्लेले सरकार निजी क्षेत्रमैत्री नीति ल्याउन प्रतिबद्ध रहेको र राजस्व वृद्धि हुने गरी करका दरहरू समायोजन गर्न विचार गरिरहेको बताए।
उनले राजस्वको दायरा विस्तार गर्ने, अनियमितता हटाउने र सडक पूर्वाधारमा ठूलो लगानी गर्ने योजना सुनाउँदै आगामी बजेटका सन्दर्भमा नाडासँग पुनः छलफल गर्ने आश्वासन दिए।
उक्त भेटमा नाडाका निवर्तमान अध्यक्ष करण चौधरी, विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठ लगायत अन्य पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
भर्खरै
लोकप्रिय
