- सांसद राजीव खत्रीले मानव अधिकार आयोगको प्रतिवेदन कुन पार्टी कार्यालयमा लेखिएको हो भन्दै प्रश्न उठाएका छन्।
- आयोगले जेनजी आन्दोलनलाई जनआन्दोलन नभनी वितण्डा भनेकोमा खत्रीले स्पष्टिकरण माग गर्दै असन्तुष्टि जनाए।
- आयोगले खत्रीसहित रास्वपाका १७ सांसदमाथि आगजनीबारे छानबिन गर्न सिफारिस गरेको छ।
काठमाडौँ– भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको विषयलाई लिएर छानबिन गर्नुपर्ने व्यक्तिमा परेपछि सांसद राजीव खत्री मानव अधिकार आयोगमाथि खनिएका छन्।
आइतबारको संसद बैठकमा बोल्दै उनले आयोगले तयार पारेको प्रतिवेदन कुन पार्टी कार्यालयमा लेखिएको हो भन्नेसम्मको प्रश्न गरे। आयोगले तयार पारेको प्रतिवेदनलाई लिएर कुनै आधारविना जेनजी आन्दोलनलाई जनआन्दोलन नभनेको भन्दै उनले आयोगप्रति रोष प्रकट गरे।
उनले कुनै अमुक पार्टीको भाषा किन प्रयोग गरेकोसमेत भनेर प्रश्न गरे। ‘मानव अधिकार आयोगको प्रतिवेदनको निष्कर्षले एउटा कुरा भन्छ- भदौ २३ र २४ को आन्दोलन जनआन्दोलन होइन, यो नवयुवाहरूले मच्चाएको वितण्डा हो’, उनले भने ‘जेनजी विद्रोहलाई जनआन्दोलन भन्दै निर्वाचनमा गएको शक्ति आज दुई तिहाइको जनमत लिएर सदन र सरकारमा छ, जुन जेनजी विद्रोहलाई सचेत युवाहरूले गरेको जनआन्दोलन हो भनेर जनताले समेत अनुमोदन गरिसकेका छन्। एउटा आयोग यो जनआन्दोलनलाई वितण्डा भन्छ भने यो प्रतिवेदन कुन पार्टी कार्यालयमा लेखियो भनेर प्रश्न किन नगर्ने?’
नेकपा एमालेले जेनजी आन्दोनलाई वितण्डा भन्दै आएको छ। रास्वपाका सांसदसमेत रहेका खत्रीले कुन पार्टी कार्यालयमा लेखिएको भन्दै एमालेतर्फ इङ्गितसमेत गरे।
खत्रीमाथि भदौ २४ गते भएको आगजनीका विषयमा छानबिन गर्नुपर्ने आयोगले सिफारिस गरेको छ। उनीमात्रै होइन, रास्वपाका १७ सांसदमाथि छानबिन गर्नुपर्ने आयोगले भनेको छ।
भर्खरै
लोकप्रिय
