- गायक दीप श्रेष्ठले बुकहिल ब्यालेड्स कार्यक्रममा जीवनका महत्त्वपूर्ण गीतहरू फरक शैलीमा प्रस्तुत गर्नेछन्।
- कार्यक्रम काठमाडौँको शिल्पी थिएटरमा २९ जेठमा आयोजना हुनेछ, जसमा उनी आफ्ना कालजयी गीतहरू प्रस्तुत गर्नेछन्।
- बुकहिल बैलेड्स हरेक तीन महिनामा आयोजना हुने सांगीतिक कार्यक्रम हो जहाँ सात वाद्यवादकले गायन साथ दिनेछन्।
काठमाडौँ- गायक एवं संगीतकार दीप श्रेष्ठले आफ्नो जीवनका महत्त्वपूर्ण गीतहरू संगीत पारखीहरूमाझ प्रस्तुत गर्ने भएका छन् ।
बुकहिल पब्लिकेसनले सुरुवात गर्न लागेको सांगीतिक कार्यक्रम ‘बुकहिल ब्यालेड्स’को पहिलो शृङ्खलामा श्रेष्ठले आफ्ना गीतहरू फरक शैलीमा प्रस्तुत गर्न लागेका हुन् ।
यही २९ जेठ (शुक्रबार)मा काठमाडौँको शिल्पी थिएटरमा आयोजना हुने बुकहिल ब्यालेड्स : दीप श्रेष्ठ (म पत्थरको देवता होइन) कार्यक्रममा गायक एवं संगीतकार श्रेष्ठले वि.सं. २०२५ सालदेखि आजसम्मको आफ्नो सांगीतिकक जीवनका आरोहअवरोहका कथाका साथमा श्रोता–दर्शकले मन पराएका र केही नयाँ गीतहरू प्रस्तुत गर्ने विज्ञप्तिमार्फत बुकहिलले जनाएको छ ।
साहित्यसँगै संगीत र संस्कृतिको अभिवृद्धिमा क्रियाशील बुकहिलले प्रत्येक तीन महिनामा औपचारिक रूपमा ‘बुकहिल ब्यालेड्स’ आयोजना गर्ने जनाएको छ ।
नेपाली संगीतका ‘लिभिङ लिजेन्ड’को रूपमा परिचित श्रेष्ठ ‘म पत्थरको देवता होइन’ बोलको गीत गायन र संगीतबाट नेपाली संगीत क्षेत्रमा प्रवेश गरेका हुन् । श्रेष्ठले करिब छ दशकको अवधिमा हजारौँ गीतमा स्वर तथा संगीत भरेका छन् ।
श्रेष्ठका म पत्थरको देवता होइन, हुँ यात्री, कति कमजोर रहेछ भाग्य, भन्थिन् मेरी उनी, झस्किएछ मन मेरो, बितेका कुराले, हर रात सपनीमा, म त दूरदेखि आएँ, झिरमा उनिनु एउटा कुरालगायतका सयौँ गीतहरू कालजयी बनेका छन् ।‘बुकहिल ब्यालेड्स’मा गीतभित्रका कथासँगै प्रस्तुत हुने गायनमा सात जना वाद्यवादकले श्रेष्ठलाई साथ दिनेछन् ।
१५८ जना दर्शकका लागि मात्रै टिकटमा आयोजना हुन लागेको यो कार्यक्रमको थुप्रै माध्यममार्फत टिकट बिक्री खुला गरिएको छ ।
भर्खरै
लोकप्रिय
