- राप्रपाका महामन्त्री धवलशम्शेर राणाले केन्द्रीय कार्यसमितिको अवधि सकिएका कारण पार्टीले वैधानिकता गुमाएको बताएका छन्।
- पार्टी नेतृत्वले महाधिवेशनका सम्बन्धमा सुझावलाई अस्वीकार गरि वैधानिक निर्णय कार्यान्वयन नगरेको आरोप पनि लगाएका छन्।
- राणाले नयाँ राष्ट्रवादी शक्ति निर्माणका लागि एकतामा जुट्न आग्रह गर्दै पार्टीका सदस्यहरु अन्यत्र गइरहेको बताएका छन्।
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशम्शेर राणाले पार्टीले वैधानिकता गुमाएको बताएका छन्।
बुधबार एक अपिल जारी गरेर उनले केन्द्रीय कार्यसमितिको समयावधि सकिएकाले पार्टीको वैधानिकता गुमेको उनले बताएका हुन्। एकता महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिकाे नियमित कार्यकाल गत मंसिरमा सम्पन्न भएको र त्यसलाई लम्ब्याइएको भए पनि त्यसको समय पनि जेठ १९ गते सकिएको भन्दै उनले पार्टीको वैधानिकतामाथि प्रश्न उठाएका हुन्।
‘महाधिवेशन सुझाव समितिले गत निर्वाचनलाई मध्यनजर गरि निर्वाचन ढिला भएमा मंसिरमा र छिटाे भएमा यही जेष्ठ महिनाभित्र महधिवेशन सम्पन्न गर्न सुझाव दिएकाे थियो। उक्त सुझाव कार्यसम्पादन एवं केन्द्रीय कार्यसमितिले पारित गर्दै केन्द्रीय कार्यसमितिकाे समयावधि ६ महिना थप गरेकाे थियो’, राणाले लेखेका छन् ‘केन्द्रीय कार्यसमितिले थप गरेको उक्त अतिरिक्त ६ महिनाको अवधि पनि हिजो जेठ १९ गते समाप्त भएको छ, पार्टीले वैधानिकता गुमाएकाे छ।’
दर्जनाैं पटक औपचरिक तथा अनाैपचारिक बैठकहरुमा महाधिवेशनकासम्वन्धमा दिएका सुझाव र सल्लाहहरु कहिल्यै स्वीकार नगर्ने, वैधानिक निर्णय कार्यान्वयन नगर्ने पुरानै प्रवृति ढाकछाेप गरिएको पनि पार्टी नेतृत्वमाथि उनको आरोप छ।
राप्रपामा महाधिवेशन गर्ने विषयमा विवाद रहेको छ। विवादकैबीचमा राणाले जेठ १७ गते नयाँ अभियानको घोषणा गरेका थिए। त्यसपछि राप्रपा अध्यक्ष लिङ्देनले राणा जिम्मेवारी पन्छिएको र सबैलाई पार्टीमा गोलबद्ध हुन आह्वान गर्दै जेठ १९ गते विज्ञप्ति सार्वजनिक गरेका थिए।

त्यसको प्रतिउत्तरमा राणाले आज (जेठ २० गते) पार्टीले वैधानिकता गुमाएको बताउँदै पार्टीका सयौं साथीहरु पार्टी छाेडेर अन्यत्र गएका र मक्किएकाे घर अलपत्र बनेको बताएका छन्।
राणाले राष्ट्रवादी मन तथा शक्तिहरुकाे आपसी मेल र एकताबाट नयाँ राष्ट्रवादी शक्ति निर्माणको अभियानमा जुट्न पनि सबैलाई अपिल गरेका छन्।

भर्खरै
लोकप्रिय
