- प्रधानमन्त्रीको आदेशमा कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासीले आज सम्म खाना प्राप्त गरेका छैनन्।
- संघीय सरकारले व्यवस्थापन नगरेपछि काठमाडौँ महानगरले खाना खुवाउन जिम्मेवारी संस्थाहरूसँग घटाएको छ।
- व्यवस्था नहुँदा सुकुम्वासीहरूले पुन: पहिलेको ठाउँमा फर्किने चेतावनी दिएका छन्।
काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा सेनासमेत खटाएर विस्थापित बनाएर कीर्तिपुरस्थित राधास्वामी सत्संग सुन्दरीघाटको होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासीले सोमबार (आज) खाना नै खान पाएका छैनन्।
दिउँसो साढे १ बजेसम्म उनीहरू भोकै रहेका छन्। खान खान नपाएपछि बालबालिका विद्यालयनै जान पाएनन्। बिहान ११ बजे भोक लागेको भन्दै कतिपय बालबालिका रोइरहेका थिए। बालबालिकाले खान खान नपाएको भन्दै विद्यालय छुटेको गुनासो गरे।
होल्डिङ सेन्टरमा दुई महिना, पाँच महिना पुगेका सुत्केरीहरू पनि रहेका छन्। उनीहरूले दिउँसो ११ बजेसम्म केही खान नपाएको गुनासो गरे। बिहान चियासमेत खान नपाएको उनीहरूले गुनासो थियो।
यो पनि–
समयमै खाना नआउँदा होल्डिङ सेन्टरका बालबालिका स्कुल जान पाएनन् (तस्बिरहरू)
भोक लागेर के खाने भन्नेमा उनीहरू अन्योलमा रहेका थिए। ‘बिहान पनि केही खान पाइएन। सुत्केरीलाई अहिलेसम्म हेर्नुस त खाना पनि खुवाइएको छैन। भोक लागिसकेको छ’, एक जनाले गुनासो गरिन्।
खाना नआएपछि एक संस्थाले लिएको दही चिउरा सुकुम्वासीले खाएका थिए। सुत्केरीले पनि करिब साढे १२ बजे सोही दही, चिउरा र दालमोठ खाएका थिए। बाहिरबाट लिएर खानु भएन भन्ने प्रश्नमा एक जनाले भनिन्– ‘पैसा छैन।’
खाना खान नपाएपछि सत्संगभित्र थाल ठटाएर विरोधसमेत भएको थियो।

सुकुम्वासीले किन खान खान पाएनन् ?
वैशाख १२ गते थापाथली, गैरीगाउँलगायत ठाउँमा सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएर विस्थापित केहीलाई विभिन्न होल्डिङ सेन्टरमा राखेको छ।
होल्डिङ सेन्टरमा राखिएकालाई व्यवस्थापन एक रुपमा छैन। भत्काउन प्रधानमन्त्री शाहको निर्देशन भए पनि व्यवस्थापन भने संघीय सरकारले गरिरहेको छैन।
व्यवस्थापन सरकारले नगरेर संघसंस्थालाई दिएको छ। सत्संगमा राखिएकाहरूको व्यवस्थापन काठमाडौँ महानगरले गरिरहेको छ। तर महानगरले खाना खुवाएको छैन। आफूले खाना नखुवाएर महानगरले संघसंस्थालाई दिएको छ।
वैशाख १२ गतेदेखि १६ गते चार दिनसम्म महानगरले होटलबाट लगेर खाना खुवायो। तर १६ गतेको साँझदेखि महानगरले खाना खुवाउन छाडेको थियो।
वैशाख १६ गतेदेखि जेठ १० गतेसम्म करिब एक महिना सत्संगले नै खाना खुवायो। सत्संगले खाना खुवाउँदा व्यवस्थापन पनि राम्रो रहेको सुकुम्वासीहरूले बताएका छन्।
यो पनि–
काठमाडौँ महानगरले ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुम्बासीलाई खाना खुवाउन छाड्यो
बिहान चियामा खाजा, ९-१० बजे खान, दिउँसो खाजा र साँझ खान गरी चारपटक सत्संगले खाना खुवाएको थियो। उक्त संस्थाले सुत्केरी, बालबालिका र जेष्ठ नागरिकलाई लक्षित गरी खाना खुवाएको कतिपयले बताएका छन्।
हप्तादिनसम्म खाना खुवाउने बताएको संस्थाले करिब एक महिना खाना खुवाएर छाड्यो। त्यसपछि महानगरले जिम्मेवारी लिएर ठेक्का लगाएर आइतबार (जेठ ३१ गते)सम्म खाना खुवायो।
उसले राम्रोसँग खाना नखुवाएको गुनासो सुकुम्वासीले गरेका छन्। बिहान १० बजेतिर खाना र साँझ एकपटक गरी दुईपटकमात्र उसले खाना खुवाउने गरेको र खाजाको कुनै व्यवस्था नगरेको उनीहरूले गुनासो गरे।

आइतबारदेखि सम्झौता सकिएको भन्दै उसले पनि खाना खुवाउन छाडेको हो र आजदेखि भने बिहानैदेखि सुकुम्वासीले खाना खान नपाएका हुन्। कतिपयले पानी सकिएको र पानीसमेत खान नपाएकाे गुनासो गरेका थिए। बिहान कसैले खाना खान नपाएपछि शान्ति सेवा गृह नामक संस्थाले चिउरा, दही लगेर ११ बजेतिर सत्संग पुगेको थियो।
तर सुकुम्वासीहरूले आफूहरूलाई सरकारले खाना खुवाउन नसकेको भन्दै संस्थाले दिएको खाना नखाने बताएका थिए। ‘हामीलाई सरकारले उठायो। सरकारले खानासमेत दिन नसक्ने भए हामी कुनै संस्था किन खाना खाने?’, प्रमिला राईले प्रश्न गरिन्।
उनले संस्थाले एक दिन खुवाउन र अर्को दिन नखुवाउने गरेको बताइन्।
कतिपय सुकुम्वासीले हप्तादिनभित्र आफ्नो व्यवस्थापन नभए फेरि पहिले उठाइएको ठाउँमा गएर बस्न बाध्य हुने चेतावनी दिएका थिए।

यो पनि
भर्खरै
लोकप्रिय
