काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार बागमती प्रदेशबाट प्रत्यक्ष निर्वाचित सांसदहरूका कुरा दुई घण्टा सुने।
बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सुरु भएको प्रधानमन्त्री र सांसदहरूको छलफल दिउँसो २ बजेसम्म चल्यो। छलफलका क्रममा सांसदहरूले पालैपालो आफ्नो निर्वाचन क्षेत्रका समस्याका बारेमा अवगत गराउँदै समाधानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।
प्रधानमन्त्रीसँगको भेटमा आफूले निर्वाचन क्षेत्रका विविध समस्याका बारेमा बताएको काठमाडौँ–२ बाट निर्वाचित रास्वपाका सांसद सुनिल केसीले बताए।
उनले भने, ‘प्रधानमन्त्री बालेन्द्र शाह ज्यूसँगको भेटघाट अत्यन्त सकारात्मक, ऊर्जावान र फलदायी रह्यो। उक्त भेटवार्तामा काठमाडौँ क्षेत्र नम्बर–२ को दिगो विकासका लागि विभिन्न महत्वपूर्ण विषयहरू प्रस्तुत गरिएको थियो। विकासका आधारभूत संरचना सुदृढीकरण, स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधार, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन तथा स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्नेजस्ता बुँदाहरूमा विशेष जोड दिइएको थियो।’
त्यस्तै, सिन्धुपाल्चोक–२ बाट निर्वाचित नेकपाका सांसद युवराज दुलालले पनि निर्वाचन क्षेत्रदेखि राष्ट्रिय महत्वका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको जानकारी दिए।
उनले आउँदो असार मसान्तसम्म गर्न सकिने र गर्नुपर्ने कामहरूका बारेमा प्रधानमन्त्रीसमक्ष कुराहरु राखेको उल्लेख गरे। दुलालले बॉदर नियन्त्रण विधेयक तत्काल ल्याउनुपर्ने, गुठी जग्गा पीडित किसानका समस्या समाधान गर्नुपर्ने, मेलम्ची र इन्द्रावती नदी किनारका बाढी पीडितको तत्काल व्यवस्थापन हुनुपर्ने जस्ता कुरा आफूले उठाएको जानकारी दिए।
दुलालले भने, ‘मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रको सामाजिक उत्थान कार्यक्रम, मेलम्ची हेलम्बु सडकको निर्माण, सप्लायर्सहरूले पाउनु पर्ने भुक्तानीका विषय कुरा उठाएँ।’
भेटका क्रममा रास्वपाका सांसदहरूले गृहमन्त्री सुधन गुरुङको कार्यशैलीमाथि पनि प्रश्न उठाएका थिए।

सबै सांसदको कुरा सुनेपछि प्रधानमन्त्री शाहले जवाफमा दुई मिनेट र अरु केही सेकेण्ड मात्रै खर्चिए। उनले सांसदहरूले उठाएका विषयलाई ‘ओठे’ जवाफ दिएर पन्छिएको भेटमा पुगेका रास्वपाका एक सांसदले बताए।
शाहले सुरुमा प्रधानमन्त्रीसँग कुरा गर्न सजिलो होस् भन्नका लागि आफूले समय दिएको भनेका थिए। त्यस्तै, उनले ‘हुने काम हुने र नहुने काम नहुने’ भन्दै सांसदहरूलाई बिदा गरे।
प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै अर्का एक सांसदले भने, ‘प्रधानमन्त्रीसँग कुरा राख्न सजिलो होस् भनेर तपाईंहरुलाई बोलाएको हुँ। कुराहरु राख्नुभयो। तपाईंहरुका कुरा सचिवालयलाई लेखेर दिनुहोस्। हुने काम हुन्छ, नहुने काम हुँदैन।’
भेटमा गएका सांसदहरूको मोबाइल सुरक्षाकर्मीले बाहिरै राख्न लगाएका थिए। सांसदहरूको मोबाइल निषेध गरेका शाह आफूले भने छलफल अवधिभर नै मोबाइल हेरेका थिए। ‘हाम्रो मोबाइल भित्र लान दिइएन। तर, उहाँले बैठक अवधिभर नै लुसुलुसु आफ्नो मोबाइल हेरिरहनुभयो,’ ती सांसदले भने।
भर्खरै
लोकप्रिय
