- कलाकार जितु नेपाल ‘मुन्द्रे’ले ‘दीपक-दीपा’को समूहबाट अलग्गिएर आफ्ना फिल्म निर्माण कार्यमा हात हालेका छन्।
- उनले ‘ज्वाइँसाब’मार्फत एक्लै फिल्म चलाउन सक्ने क्षमताको प्रदर्शनी गरेका र ‘आइएम जितबहादुर’मा काम गरेका छन्।
- सामाजिक सञ्जालले ‘जितबहादुर’ नाम टिपाएको भए पनि उनले हास्य जगतलाई नबिर्सिने बताउँदै फिल्म निर्माणमा निरन्तरता दिनेछन्।
कलाकार जितु नेपाल ‘मुन्द्रे’ ‘दीपक- दीपा’को समूहबाट जब अलग्गिए, धेरैलाई लाग्यो उनको ‘करिअर’ रोकियो। जितु एक्लै केही गर्न सक्ने छैनन्। समूहमा हसाएजस्तो सजिलो छैन।
फिल्ममा त झन् कसले पत्याउने? उनी हसाउने कलाकार हुन्, हसाएर मात्रै फिल्म चल्दैन। फिल्म चल्न कि ‘हिरो’ चाहिन्छ कि ‘उम्दा’ कलाकारिता। यही कलाकारिता उनको भागमा बँचेको रहेछ।
दीपक-दीपाको साथ छुटे पनि कलाकारितालाई निखारेर एक्लिएका रहेछन्। यही जगमा उनले तीन फिल्म ‘ह्यारीकी प्यारी’ ‘ज्वाइँसाब,’ ‘कर्साङ,’मा खेले। उनलाई निर्माता निर्देशकले पत्याइदिए। ह्यारीकी प्यारी र कार्साङले सोचेजस्तो कमाल गर्न नसके पनि ज्वाइँसाबले भने दर्शक तानेकै थियो।
मुख्य भूमिका उनैको थियो। होचो कदका जितु ज्वाइँसाबमा जमेपछि एक्लैले फिल्म धान्न सक्ने निर्माता/निर्देशकलाई लाग्ने भइहाल्यो। अनि उनलाई नपत्याएर भो ! त्यही आत्मविश्वासले होला जितुले फिल्म निर्माणमा हात हालेका छन्। बलिउड निर्देशक शुभेन्दु घोषले निर्देशन गरेको फिल्म ‘आइएम जितबहादुर’ निर्माण गरेका जितु ‘लिड रोल’मा छन्।
‘समाजमा कलाकार बन्न संघर्ष गरिरहेका युवाको यथार्थलाई उजागर गर्छ आइएम जीतबहादुरले। त्यसैले यो निर्माण गर्नुको कारण मेरो कथा भएर हो,’ जितुले भने, ‘२५ प्रतिशत कथा मेरो छ। फिल्म भित्र फिल्म छ। म जस्तो मान्छेको कथा पनि फिल्म बन्न सक्दो रहेछ भन्ने लागेपछि निर्माणमा समेत हात हालेको हुँ।’
सुरुवातमा फिल्म आइएम जितबहादुर फिल्मको नाम थियो, ‘नायक’। होचो र हाँस्य कलाकार समाजमा नायक हुन्छ? तर समय र कामले त्यस्ता मान्छेलाई नायक बनाउन पुग्छ, जसले समाजका लागि केही योगदान दिन सक्छ। ‘हामीले फिल्मको नाम नायक राखेका थियौँ, पछि नयाँ केही होस् भन्ने लागेर मेरो नामको फिल्म नाम राखेको हो,’ जितुले भने।
तर जितबहादुर नै किन? उनी भन्छन्, ‘मेरो कथा, मेरो संघर्ष, जित्नका लागि गरेको अनेकन दु:ख, देखेर निर्देशक घोषले जितबहादुर राख्न तयार हुनु भयो। मैले पनि स्वीकारें।’
आइएम जितबहादुर फिल्म उनको नाममा रहे पनि आफूलाई जितु नेपाल भनेर चिनाउन बिर्सिदैनन् उनी। लामो समय ‘जितु नेपाल’ भनेर चिनिएका जितुले फेसबुक मनिट्राइज गर्नका लागि सामाजिक सञ्जालमा बास्तविक नाम राखेको अनुभव पनि सुनाए- ‘मलाई त जितु नेपाल नै प्रिय लाग्छ तर समय परिस्थितले जितबहादुर खोज्यो।’
सामाजिक सञ्जालले खोजेको जितबहादुर नाम दर्शकले कति रुचाउँछन् यही असार ५ गते थाहा होला। जितलाई भने चुनौती छ के जितु नेपालभन्दा माथि जितबहादुर होला?
उनी गम्भीर भए। जीतबहादुर र जितु नेपाल एकै व्यक्ति भएकाले दुवैलाई उनी उचाइमा पुर्याउन चाहेको छन्। भन्छन्, ‘मेरा लागि दुवै प्रिय नाम हुन् र दुवैलाई दर्शकले मन पराउन सक्ने खालको काम गरेको छ।’
नेपाली कला क्षेत्रमा प्रवेश गर्दा उनले मजदुरी गरे। कारखानामा काम गरे। रंगमञ्चमा काम गरे। अभिनयको भोकले उनलाई कपडा कारखानाको मजदुरदेखि रंगमञ्चसम्म पुर्यायो। सडक नाटक हुँदै टेलिभिजनसम्म पुर्यायो।
टेलिभिजन सिरियल ‘ट्वाक्क टुक्क’ र ‘जिरे खुर्सानी’देखि जितबहादुरसम्म आइपुग्दा उनले थुप्रै सेलिब्रेटीसँग काम गरे। स–सानो भूमिकामा पनि उनले चित्त बुझाएका छन्। टिभी सिरिअलहरुबाट घरघरको कोठामा पुगेका जितु । ‘मुन्द्रे’ भएपछि थप लोकप्रिय भए। कर्म गर्न छोडेनन्। ‘मैले आफ्नो काममा कहिले हेलचेक्राइँ गरिनँ। सकेसम्म सबैसँग मिल्ने कोसिस गर्दै काम गरें। अभिनय पनि निखार्दै ल्याएँ। मेरो आत्मविश्वास पनि बढ्यो त्यसैले अहिले एक्लै पनि हिँडिरहेको छु।’
समूहमा काम गर्दै आएका जितु नेपालले एक्लै काम गरिरहँदा पनि त्यो टिमलाई मिस नगरेको क्षण छैन। ‘टिममा काम गर्दाको मजा बेग्लै छ। कामको बाँडफाड हुन्थ्यो। सहज हुन्थ्यो। अहिले म एक्लै यता र उता भागदौड गर्दा टिमलाई खुब सम्झिएको छु,’ जितुले भने।
तर टिममा काम गर्दा धेरै कुराले पछाडि परेको अनुभूति पनि उनले सुनाए, ‘समूहमा काम गर्दा केही न केही कुराले पछाडि परिन्थ्यो। स्क्रिप्ट तयार पार्दा नै भूमिका मिलाउनु पर्थ्यो। गीतको एउटा अन्तरामा नाच्ने अवसर मुस्किलले पाइन्थ्यो। तर काम गर्दा धेरै कुरा सिकिन्थ्यो।’
‘६ एकान ६’ ‘वडा नम्बर ६’ छक्का पञ्जाको सिरिजमा जितु अटाएका जितु बाहिरिएर पनि पुन फर्किने तरखरमा लागेको समेत बताउँछन् । जहाँ जो जसरी रहे पनि आफूले जानेको काम गर्न नछोड्नु पर्ने बताउने जितुका अनुसार समूहमा काम गर्दा चुनौती र सहजपन दुवै रहन्छ। सन्तोष पन्तदेखि दीपक-दीपा, दमन रुपाखेती, फुलन्देको आमासम्म उनले काम गरे। अहिले आइएम जितबहादुरसम्म आइपुग्दा जितु सबैसँग राम्रै सम्बन्ध रहेको जिकिर गर्छन्। भन्छन्, ‘सबैसँग राम्रो भएरै हो आइएम जितबहादुर निर्माण गर्न सकेको। अलिअलि कर्पोरेटहरुले पनि पत्याइदिनु भएको छ।’
तर जितुका लागि भिजोल माध्यममा कन्टेन्ट शक्तिशाली हुनु पर्ने बुझाई छ। आफूले जेजति काम गरे पनि विषय बलियो भएकाले चलेको बताउँछन्। भन्छन्, ‘म चलेको विषय बलियो भएर हो। मैले आफ्नो प्रहसनदेखि सिनेमासम्म आइपुग्दा विषय नै पस्किएँ। हास्यबाट होस कि गम्भीर फिल्मका लागि होस् म समाजकै कुरालाई विषय बनाएँ र त्यसलाई सही भने भन्ने लाग्छ।’
अहिले बजारमा फिल्म चल्न गाह्रो छ। दर्शकलाई हलसम्म तान्न कलाकारले नचसकेको देखिन्छ। केही समय अघि प्रदर्शनमा आएको मितज्यु, काजी जस्ता फिल्मले बक्स अफिसमा कमाल गर्न सकेन । सेलिब्रेटी अर्थात हिरोले फिल्म चलाउँछन् भन्न नसकिने भयो। ‘कलाकारले लिने पारिश्रम हलबाट उठाउन नसक्ने भएपछि कसरी हिरोले फिल्म चल्छ भन्ने ?’ जितु प्रश्न गर्छन्।
उनीका अनुसार हिरोले त्यति पारिश्रमिक लिनु पर्छ जति बजार र दर्शकले पत्याउँछन्। अनायासै मुख्य केही कलाकारले पारिश्रमिक दर बढाएप्रति उनी चिन्ता व्यक्त गर्छन्, ‘हामी फिल्म निर्मता, निर्देशक तथा वितरक पनि धेरै हिसियौँ। कलाकारलाई ह्वात्तै पारिश्रमिक बढाउन थाल्यौँ तर कन्टेन्टतिर ध्यान दिन सकेननौँ,’ जितुले भने।
त्यसै गरी फिल्म चलाउन निर्माताले नै टिकट किन्नु पर्ने अवस्थाप्रति निकै चिन्तित देखिए। उनी भन्छन्, ‘मलाई टिकट किनेर दर्शक बोलाउनु पर्यो भन्दै थिए। तर मैले त्यसलाई स्वीकार्न सकिनँ। पैसा भएकाले त्यसो गर्लान तर म सक्दिनँ। टिकट दिएर पनि समय नभएकाहरू हलमा पुग्दैनन् भन्ने मलाई थाहा छ। त्यसैले मैले त्यसलाई स्वीकारिन।’
यसखालको प्रवृत्तिलाई रोक्न फिल्ममेकर नै लाग्नु पर्ने उनी बताउँछन्। फिल्म चलाउने चुनौतीप्रति मेकरहरु नै गभ्मीर हुनु पर्ने उनको बुझाई छ।
हास्य कलाकारलाई बजारले पत्याउने समय हो। कर्पोरेटहरू आफ्नो उत्पादका लागि बजारीकरण गर्न हाँस्य कलाकारप्रति चासो राख्छन्। समय हाँस्नु र हसाउँनु पर्छ भन्ने पनि हो। ‘हसाउँछु मात्रैं भनेर म लागेको भए धेरै पछाडि हुन्थे। समय अनुसार अपडेट गरियो। फरक-फरक काम गर्दा केही चुनौती हुन्छ तर अन्तिम यात्रा फिल्म निर्माण नै हो,’ जितुले भने।
तर आफ्नो आधार हास्य भएकाले जस्तै गम्भीर भूमिका र काम गरे पनि आफ्नो जग नबिर्सने बताउँछन्। भन्छन्, ‘मेरो रोजीरोटी नै हसाउनु हो। विभिन्न मेला महोत्सव तथा कार्यक्रमहरुमा पनिह हसाउन जान मन लाग्छ। दुइचार पैसा पनि दिनुहुन्छ । घरखर्च चल्छ। यो फिल्म निर्माण त जुवा हो। कि आउँछ कि जान्छ। तर मलाई बचाइ राख्ने हाँस्य रस नै हो। त्यसैले म हसाउँन छोड्दिनँ।’
जितु कलाले बाँचेको कलाकार हुन्। उनीसँगै कलाकारिता गरेकाहरू अझै माथि उठ्न संघर्ष गरिरहेका छन्। तर उनको संघर्ष फिल्म निर्माणमा आइपुगेको छ। उनले आफूलाई रोकेनन्। निरन्तर लागिरहे। सबैसँग मिल्न सक्ने क्षमताका जितु ठूला कुराले भन्दा कामले स्थापित हुन सकेका कलाकार पनि हुन्। त्यसैले उनी भन्छन्, फिल्म निर्माण पनि गर्नु पर्छ तर थोरै लगानीमा। कुनै निर्माता डुब्नु भनेको कलाकार बेरोजगार हुनु हो। त्यसैले कलाकार निर्देशक बाँच्नका लागि निर्माता जोगाउन सबैले लाग्नु पर्छ।’
भर्खरै
लोकप्रिय
