- पूर्वाधार विकासमन्त्रीले ठेकेदारको खुट्टा भाँच्न दिएको निर्देशनलाई इरादा गलत नभएको बताउँदै संसदमा सच्याएका छन्।
- ठेकेदारको काम नगरेको भन्दै दबाब दिने उद्देश्य रहेको र अभिव्यक्तिको बचाउ गरेका छन्।
- मन्त्रीको अभिव्यक्तिले संसदमा निरन्तर विरोध हुँदा उनले काम गराउन चाहेको स्पष्टीकरण दिएका छन्।
काठमाडौँ– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ठेकेदारको खुट्टा भाँच्न दिएको निर्देशन संसदबाट सच्याएका छन्।
बिहीबार विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले खुट्टा भाँच्न दिएको अभिव्यक्ति सच्याउँदै इन्टेन्सन त्यस्तो नरहेको बताएका हुन्।
विधेयकमाथि छलफलमा भाग लिँदै एमालेका प्रमुख सचेतक ऐन महरले ठेकेदारको खुट्टा भाँचिदिने मन्त्रीको अभिव्यक्तिको जवाफ माग गरेका थिए। उनको प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले इन्टेसन त्यस्तो नरहेको र काम गरोस् भन्ने इन्टेन्सन रहेको बताए।
‘ठेकेदार थर्काएको भन्ने कुरा गर्नुभयो, मेरो इन्टेन्सन त्यो होइन, इन्टेन्सन काम गरोस् भन्ने हो। नितान्त काम गरोस् भन्ने हो’, उनले भने।
ठेक्का रद्द गर्नुपर्यो भने ठेकदारलाई नै आर्थिक भार पर्ने भन्दै उनले अभिव्यक्तिको बचाउ गरे। ‘उहाँ (ठेकेदार)हरूले काम गर्नुभएन, हामीले रद्द (ठेक्का) गर्नुपर्यो। रद्द भयो भने त उहाँहरूको त तीन सात पुस्ता सकिन्छ’, लम्सालले भने ‘किनभने बैंक ग्यारेन्टी थुत्छ। बैंक ग्यारेन्टी त फोर्स लोन हुन्छ त्यो। त्यो जसरी नि भुक्तानी गर्नुपर्छ। फेरि अब बाँकी कामका लागि असर उत्पन्न गर्छ।’
उनले बढीभन्दा बढी दबाब दिएर काम गराउन खोजेको पनि बताए। ‘हामीले उहाँहरूलाई चाहिँ बढीभन्दा बढी दबाब दिएर भए पनि काम गराउन खोजेको हो। उद्देश्य भनेको चाहिँ कसैलाई गाली गर्न मनै छैन नि, काम गर्दिउन्। सुटुक्क काम गर्दिउन्, उहाँहरूले काम गर्दिनुभयो भने त हामी चुपचाप लागेर बस्छौँ नि, सकिहाल्यो’, उनले भने।
लम्सालले ठेज ३१ गते नागढुंगा–मुग्लिन सडक खण्डको निरीक्षण गर्दै स्थानीयले बिजुलीको पोल नसार्दा समस्या भएको गुनासो गरेपछि काम नगर्नेहरुको मतलत नै नगरी खुट्टा भाँचिदिन भनेका थिए।
सुरक्षाकर्मी र स्थानीयबाट घेरिएका लम्सालले त्यतिबेला भनेका थिए, ‘यो जुन पोलवाला छन्। बिजुलीको पोलको कन्ट्र्याक्टर कहाँ छ ? यो धर्तीमा कहाँ छ ? त्यसलाई खोजेर यहाँ लिएर आउनू । घर पठाउने होइन । त्यसले काम गरेन भने खुट्टा भाँचिदिनू, मतलब भएन।’
उनको अभिव्यक्तिको संसदमा निरन्तर विरोध भइरहेको छ।
भर्खरै
लोकप्रिय
