- म्याथेउस कुन्हाले दुई गोल गरेपछि ब्राजिलले हाइटीलाई हराउँदै समूह ‘सी’ मा पहिलो जित हासिल गरेको छ।
- फिलाडेल्फियामा भएको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ब्राजिल समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ।
- बार्सिलोना विङ्गर राफिन्हा घाइते भएपछि मैदान छाड्न बाध्य भए र उनको सट्टा रायन आए।
म्यानचेस्टर युनाइटेडका फरवार्ड म्याथेउस कुन्हाले दुई गोल गरेपछि ब्राजिलले समूह ‘सी’ मा पहिलो जित हासिल गरेको छ। ब्राजिलसँगको हारसँगै हाइटी भने विश्वकपबाट बाहिरिने पहिलो टोली बनेको छ। हाइटी लगातार दोस्रो हारपछि प्रतियोगिताबाट बाहिरिएको हो।
कार्लो एन्सेलोटीको टोली ब्राजिलले पहिलो खेलमा मोरक्कोसँग बराबरी खेलेपछि आलोचना खेपेको थियो। तर फिलाडेल्फियामा भएको यस खेलमा अपेक्षाकृत कमजोर प्रतिद्वन्द्वीविरुद्ध समालिएको प्रदर्शन गर्दै ब्राजिल समूह ‘सी’को शीर्ष स्थानमा उक्लिएको छ।
ब्रेन्टफोर्डका स्ट्राइकर इगोर थियागोको स्थानमा पहिलो रोजाइमा अवसर पाएका कुन्हाले २३औँ मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाए। हाइटीका डिफेन्डर हानेस डेलक्रोइक्सले क्लियर गर्न खोजेको बल कुन्हाको शरीरमा लागेर गोलपोस्टभित्र पुग्दा ब्राजिलले पहिलो गोल गेको थियो।
३६औँ मिनेटमा कुन्हाले व्यक्तिगत दोस्रो गोल गरे। भिनिसियस जुनियरको उत्कृष्ट पासमा उनले पेनाल्टी क्षेत्रभित्रबाट शक्तिशाली प्रहार गर्दै बललाई जाली चुमाए। पहिलो हाफको इन्जुरी समयमा रियल मड्रिडका स्टार भिनिसियस जुनियर पनि गोलकर्ताको सूचीमा समावेश हुँदा ब्राजिल पहिलो हाफमै ३-० ले अघि रह्यो।
ब्राजिलका लागि एकमात्र चिन्ताको विषय भने बार्सिलोनाका विङ्गर राफिन्हाको चोट रह्यो। उनी पहिलो हाफमै घाइते भएपछि मैदान छाड्न बाध्य भए र उनको स्थानमा बोर्नमाउथका रायन मैदान प्रवेश गरेका थिए। दोस्रो हाफमा ब्राजिलका गोलकिपर एलिसनले रिकार्डो अडेको हेडर उत्कृष्ट रूपमा बचाउ गर्दा हाइटी गोलविहीन बन्यो।
भर्खरै
लोकप्रिय
