- अर्जेन्टिना खेलाडीहरूले सेमिफाइनल जितपछि फल्कल्याण्ड टापुमा आफ्नो दाबीलाई समर्थन गर्ने ब्यानर प्रदर्शन गरे।
- अर्जेन्टिना फिफाको अनुशासनिक कारबाहीको सामना गर्नुपर्ने सम्भावना बढेको छ, विगतमा पनि जरिवाना भइसकेको थियो।
- भिक्टोरिया भिल्लार्रुएलले फल्कल्याण्ड अर्जेन्टिनाकै रहेको दाबी गर्दै सैनिकहरूको भिडियो सामाजिक सञ्जालमा सेयर गरिन्।
अविश्वसनिय पुनरागमन सहित इंग्ल्यान्डलाई पराजित गर्दै फिफा विश्वकपको सेमिफाइनल जितेको अर्जेन्टिना फिफाको कारबाहीमा पर्ने जोखिममा परेको छ।
इंग्ल्यान्डलाई हराएपछि फकल्यान्ड्स (अर्जेन्टिनाले लास माल्भिनास भन्ने) टापुमाथिको आफ्नो दाबी समर्थन गर्ने ब्यानर प्रदर्शन गरेको थियो। अब ब्यानर प्रदर्शनले अर्जेन्टिना फिफाको अनुशासनात्मक कारबाहीको सामना गर्न सक्ने अवस्थामा पुगेको छ।
विश्वविजेता अर्जेन्टिनाले एटलान्टामा भएको रोमाञ्चक सेमिफाइनलमा अन्तिम समयमा दुई गोल गर्दै प्रशिक्षक थोमस टुचेलको नेतृत्वमा रहेको इंग्ल्यान्डलाई २–१ ले हरायो र आइतबार हुने फाइनलमा स्पेनसँगको भेट पक्का गरेको थियो।
खेल सकिएपछि अर्जेन्टिनाका खेलाडीहरूले ‘लास मल्भिनास सन अर्जेन्टिनास्’ अर्थात् ‘फकल्यान्ड्स अर्जेन्टिनाकै हो’ भन्ने सन्देश लेखिएको ब्यानर समातेर उत्सव मनाएका थिए।
दक्षिण-पश्चिम एटलान्टिक महासागरमा रहेको फकल्यान्ड्स टापु बेलायतको विदेशी भूभाग भए पनि त्यसको सार्वभौमिकताको विषयमा बेलायत र अर्जेन्टिनाबीच लामो समयदेखि विवाद रहँदै आएको छ।
सन् १९८२ को अप्रिलदेखि जुनसम्म यी दुई देशबीच फकल्यान्ड्स युद्ध भएको थियो। ७४ दिन चलेको उक्त युद्धमा ६५५ अर्जेन्टिनी सैनिक, २५५ बेलायती सैनिक तथा टापुका तीन स्थानीय बासिन्दाको ज्यान गएको थियो।
यसअघि पनि सन् २०१४ मा स्लोभेनियाविरुद्धको मैत्रीपूर्ण खेलअघि अर्जेन्टिनाका खेलाडीहरूले यही सन्देश भएको ब्यानर प्रदर्शन गरेपछि फिफाले अर्जेन्टिना फुटबल संघलाई २० हजार पाउन्ड जरिवाना गरेको थियो।
त्यतिबेला फिफाले त्यसलाई राजनीतिक गतिविधि र टोलीको आचरणसम्बन्धी नियम उल्लंघन भएको ठहर गरेको थियो। सेमिफाइनल जितपछि अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया भिल्लारुएलले एक्समा अर्जेन्टिनी सैनिकहरूको भिडियोसँगै ‘यो केवल अर्को खेल मात्र थिएन’ भन्दै पोस्ट गरेकी थिइन्।
उनले लेखिन्, ‘फकल्यान्ड्स अर्जेन्टिनाकै हो। उनीहरूले स्टेडियममा त्यो सन्देश ल्याउन रोक लगाए, तर हाम्रो रगत र हृदयमा रहेको भावना कसैले रोक्न सक्दैन।’ खेलअघि पनि भिल्लारुएलले यो सेमिफाइनल ‘अतिक्रमणकारीलाई उनीहरूको स्थान देखाउने अवसर’ भएको टिप्पणी गरेकी थिइन्।
यसअघि इजिप्टलाई ३-२ ले हराएर अन्तिम १६ बाट अघि बढेपछि अर्जेन्टिनाका खेलाडीहरूले फकल्यान्ड्स, डिएगो म्याराडोना र लियोनेल मेसीलाई जोडेर गीतसमेत गाएका थिए। तर सेमिफाइनलअघि अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले फुटबल र राजनीतिलाई अलग राख्नुपर्ने बताएका थिए।
‘यो फुटबलको खेल हो। यति धेरै वर्षअघि भएको घटनालाई सम्मान गर्दै म फुटबल र राजनीतिलाई मिसाउन चाहन्न,’ उनले भनेका थिए। स्कालोनीले थपे ‘त्यो हाम्रो इतिहासको अत्यन्त दुःखद अध्याय थियो, र त्यसलाई अहिले परिवर्तन गर्न सकिँदैन। संसारका अन्य ठाउँमा पनि युद्ध भइरहेका छन्, र हामी युद्धको सधैं विरोध गर्छौं। ती घटनामा ज्यान गुमाउने सबैलाई हामी सम्मानपूर्वक सम्झन्छौँ। तर यो फुटबलको खेल हो, त्यसलाई राजनीतिक विषयसँग जोड्नु हुँदैन।’
इंग्ल्यान्ड र अर्जेन्टिनाबीचको ऐतिहासिक तनावलाई ध्यानमा राख्दै एटलान्टामा भएको यो सेमिफाइनल खेल कडा सुरक्षा व्यवस्थाबीच सम्पन्न भएको थियो। अर्जेन्टिनाले खेलको अन्तिम पाँच मिनेटमा लियोनेल मेसीको जादुमयी प्रदर्शन र गोलका लागि भएको असिस्टका कारण एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले गोल सम्भव बनाएपछि अर्जेन्टिना २-१ ले विजयी भएको थियो।
भर्खरै
लोकप्रिय
