- क्रोएसियाले पानामालाई १-० ले पराजित गर्दै विश्वकपमा आफ्नो पहिलो जित दर्ता गर्यो।
- खेलको निर्णायक गोल वैकल्पिक खेलाडी आन्ते बुडिमिरले दोश्रो हाफमा गरेको जसले पानामालाई प्रतियोगिताबाट बाहिर पठायो।
- लुका मोड्रिचको २००औँ अन्तर्राष्ट्रिय खेलमा गोलरक्षक डोमिनिक लिभाकोभिचले क्रोएसियाको अग्रता कायम राख्न विशेष भूमिका खेले।
विश्वकप फुटबलअन्तर्गत समुह ‘एल’मा क्रोएसियाले पहिलो जित निकालेको छ। टोरन्टोमा भएको खेलमा पानामालाई १-० ले पराजित गर्दै जारी फिफा विश्वकपमा आफ्नो पहिलो अंक जोडेको हो। यस जितसँगै क्रोएसियाले अन्तिम ३२ मा पुग्ने आशा जीवित राखेको छ।
अब शनिबार घानाविरुद्ध हुने खेलमा जित निकाल्न सके क्रोएसियाले नकआउट चरणमा स्थान सुरक्षित गर्नेछ। यसअघि घाना र इङ्ग्ल्यान्डबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो।
दोस्रो हाफ सुरु भएको ९ मिनेटमै मैदान प्रवेश गरेका वैकल्पिक खेलाडी आन्ते बुडिमिरले निर्णायक गोल गरे। उनको गोलले पानामाको विश्वकप यात्रा समूह चरणमै समाप्त गरिदियो। लगातार दोस्रो हार बेहोरेपछि पानामा प्रतियोगिताबाट बाहिरियो।
पहिलो हाफमा पानामाको तीव्र आक्रमणले सन् २०१८ को उपविजेता क्रोएसियालाई निकै दबाबमा राखेको थियो। गोलरहित पहिलो हाफपछि प्रशिक्षक ज्लाट्को डालिचले आक्रमण सशक्त बनाउन दुई परिवर्तन गरे।
तीमध्ये एक परिवर्तन तुरुन्तै सफल सावित भयो। ओसासुनाका फरवार्ड बुडिमिरले जोसिप स्टानिसिचको लो-क्रसलाई उत्कृष्ट रूपमा पोस्ट नजिकबाट गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाए।
यस जितसँगै कप्तान लुका मोड्रिचको २००औँ अन्तर्राष्ट्रिय खेल स्मरणीय बन्यो। ४० वर्षीय मोड्रिच ८१औँ मिनेटमा मैदानबाट बाहिरिए भने उनी पुरुष फुटबलमा २०० अन्तर्राष्ट्रिय खेल पूरा गर्ने चौथो खेलाडी बने।
पानामाले बराबरी गोल फर्काउने केही उत्कृष्ट अवसर सिर्जना गरे पनि क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिच बाधक बने। दोस्रो हाफको ‘हाइड्रेसन ब्रेक’ अघि उनले लगातार केही शानदार बचाउ गर्दै टोलीको अग्रता जोगाउँदा क्रोएसियाले अघिल्लो चरणको आशा कायम राख्यो।
भर्खरै
लोकप्रिय
