- इंग्ल्यान्डका आलोचकहरूले बल नियन्त्रणमा पकट भए पनि आक्रमण क्षमतालाई लिएर प्रश्न उठाएका छन्।
- इंग्ल्यान्डको कप्तान ह्यारी केन नकआउट चरणमा अनुभव र गोल क्षमताका कारण टोलीको ठूलो हतियार मानिन्छ।
- कंगोको तीव्र काउन्टर अट्याक शैली र शारीरिक खेल क्षमताले यो खेल प्रतिक्षित बनाएको छ।
आज राति अमेरिकाको एटलान्टामा उपाधि दाबेदार इंग्ल्यान्ड र ‘अन्डरडग’को छवि बनाएको अफ्रिकन टोली कंगोबिच नकआउटचरणअन्तर्गत अन्तिम ३२ को खेलमा प्रतिस्पर्धा हुँदैछ। कागजमा हेर्दा इंग्ल्यान्ड स्पष्ट रूपमा बलियो देखिए पनि विश्वकपको नकआउट चरणले यो पटक धेरै टोलीको हिसाब-किताब बिगारेको छ। यस्तोमा इंग्ल्यान्ड सचेत र सम्पूर्ण तागतका साथ मैदान उत्रिँदै छ।
जारी विश्वकपमा इतिहास र फिफा वरीयता र बलियो प्रतिष्ठाभन्दा ९० मिनेटमा मैदानमा हुने प्रदर्शन निकै निर्णायक हुने प्रमाणित भएको र नकआउट चरणमा सानो गल्तीले नतिजानै उलटफेर हुने भएकाले दुवै टिम सचेत छन्।
थोमस टुचेलको नेतृत्वमा रहेको इंग्ल्यान्ड समूह चरणमा अपराजित रहँदै समूह विजेताका रूपमा नकआउटमा पुगेको हो। बल नियन्त्रण, अनुशासित रक्षापंक्ति र अवसर सिर्जना गर्ने क्षमता र क्लब फुटबलका बलिया नामहरूले उनीहरूलाई उपाधिका प्रमुख दाबेदारमध्ये एक बनाएको छ। तर आलोचकहरूले भने इंग्ल्यान्डले बल ‘पोसेसन’मा पकट बनाए पनि आक्रमण बारे भने प्रश्नहरू उठाउने गरेका छन्।
यस्तोमा इंग्ल्यान्डको प्रदर्शनमा फेरि पनि कप्तान ह्यारी केन महत्त्वपूर्ण हुनेछन्। नकआउट चरणमा उनको अनुभव र गोल गर्ने क्षमता इंग्ल्यान्डको सबैभन्दा ठूलो हतियार हो। साथै मध्यपङ्क्तिमा नियन्त्रण र रक्षाको स्थिरता कायम राख्नु टुचेलको टोलीका लागि निर्णायक हुनेछ।
त्यसोत कंगोका लागि यो खेल केवल अर्को नकआउट भिडन्त मात्र होइन, यो दशकौँको प्रतीक्षापछि विश्व फुटबलको ठूलो मञ्चमा आफूलाई स्थापित गर्ने सुनौलो अवसर हो। १९७४ पछि पहिलो पटक विश्वकपमा फर्किएको टोली भएकाले समूह चरणमा देखाएको आत्मविश्वास र जुझारुपनले सबैको ध्यान तानेको छ।
प्रशिक्षक सेबास्टाइन डिजाब्रेले युरोपेली लिगमा खेलिरहेका प्रतिभालाई उत्कृष्ट रूपमा संयोजन गरेका छन्। विशेष गरी योएना विसा, चनसिल एमबेम्बा र आरोन वान-विसाका जस्ता खेलाडीले इंग्ल्यान्डलाई कुनै पनि क्षण समस्यामा पार्न सक्छन्। तीव्र काउन्टर अट्याक र शारीरिक खेल शैली कंगोको सबैभन्दा ठूलो शक्ति भएकाले स्वभाविक रुपमा यो खेल प्रतिक्षित मानिएको छ।
भर्खरै
लोकप्रिय
