- सन् २००६ मा लुका मोड्रिचले क्रोएसियाका लागि डेब्यु गरे, रोनाल्डोले साउदी अरेबियाविरुद्ध पोर्चुगलका लागि दुई गोल गरे।
- मोड्रिच, रोनाल्डो र मेसी विश्व फुटबलमा २०० वा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने दुर्लभ खेलाडी हुन्।
- टोरन्टोमा हुने विश्वकप खेल सन् २००६ जस्तै बिर्सिन सकिने मैत्रीपूर्ण खेल नबन्ने निश्चित छ।
सन् २००६ मार्च १ तपाईं के गर्दै हुनुहुन्थ्यो, सायद यो सम्झना कतिपयका लागि धुमिल भइसके तर याद गर्नुस् त तपाई लिभरपुलस्थित एनफिल्ड मैदानमा इंग्ल्यान्डले उरुग्वेलाई २-१ ले हराएको खेल हेरिरहनुभएको थियो सायद। या स्कटल्यान्डको ह्याम्पडेन पार्कमा स्विट्जरल्यान्डले घरेलु टोलीलाई ३-१ ले पराजित गरेको खेलमा भुल्नुभएको थियो कि!
वा, सायद हुनसक्छ तपाईंले त्यही दिन लुका मोड्रिचले क्रोएसियाका लागि गरेको अन्तर्राष्ट्रिय डेब्यु पनि हेरिरहनु भएको थियो। त्यस खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३-२ ले हराएको थियो, जहाँ लियोनेल मेसीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए।
उही साँझ क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियाविरुद्ध पोर्चुगलको ३-० को जितमा दुई गोल गरेका थिए। त्यसबेला उनले एक दिन आफू साउदी अरेबियामै बस्ने र खेल्ने कल्पना पनि गरेका थिएनन् होला। त्यसोत यि खेलहरु कुनै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता होइन्न मैत्रीपूर्ण प्रतिस्पर्धा भएपनि विश्व फुटबलमा उदाउँदै गरेका किशोर फुटबलरहरुको कथा सुरुवात भएको दिन थियो यो।
त्यसयता विश्व फुटबलको चर्चा प्रायः रोनाल्डो र मेसी वरिपरि घुम्यो। तर मोड्रिच पनि त्यही यात्राका निरन्तर पात्र बने। उनी रोनाल्डोजस्तो धेरै गोल गर्ने वा मेसीजस्तो चम्किलो शैलीका खेलाडी होइनन्। बरु उत्कृष्ट पास, खेलको लय नियन्त्रण गर्ने क्षमता र असाधारण निरन्तरताले उनी दुई दशकदेखि विश्व फुटबलको सर्वोच्च स्तरमा बाँचिरहेका छन् । फुटबल समर्थकहरुका लागि लुका मोड्रिच सायद मेसी र रोनाल्डो जस्तै एतिहासिक फुटबलरका रुपमा हजारौं समर्थकका मनमा त्यसरीनै बाँचिरहेका छन्।
रोनाल्डो, मेसी र मोड्रिच विश्व फुटबलको एउटा दुर्लभ समूहका सदस्य हुन्। अन्तर्राष्ट्रिय फुटबलमा २०० वा त्यसभन्दा बढी खेल खेल्ने खेलाडी। यस्तो उपलब्धि हासिल गर्ने खेलाडी विश्वमा जम्मा चार जना मात्र छन्।
अब ४१ वर्षीय रोनाल्डोले पोर्चुगलका लागि आफ्नो २३२औँ तथा ४० वर्षीय मोड्रिचले क्रोएसियाका लागि २०२औँ अन्तर्राष्ट्रिय खेल खेल्नेछन्, जब विश्वकपको अन्तिम ३२ चरणमा पोर्चुगल र क्रोएसिया आमनेसामने हुने छन् हो यहिँनेर इतिहास बन्ने छ।
२१औँ शताब्दीका यी दुई महान् खेलाडी एउटै मैदानमा उत्रने सम्भवतः यो नै अन्तिम अवसर हुने छ। उनीहरूको करिअर कहिले प्रतिद्वन्द्वीका रूपमा त कहिले सहयात्रीका रूपमा एकअर्कासँग गाँसिँदै आएको छ। सायद एक युगको अन्तिम अध्यायमा अब हामिले यो विश्वकपमा दुई मध्ये एक स्टारलाई यहिँ छोडेर अघि बढ्नु पर्ने छ।
आफ्नो राष्ट्रप्रतिको उनीहरूको समर्पण साँच्चिकै प्रशंसनीय छ। मोड्रिचले क्रोएसियाका लागि डेब्यु गर्दा रोनाल्डोले पोर्चुगलबाट २९ अन्तर्राष्ट्रिय खेल खेलिसकेका थिए। दुई दशकभन्दा बढी समय बितिसक्दा पनि त्यो अन्तर केवल एक खेलले मात्र बढेको छ। यसको अर्थ, दुवैले आफ्ना राष्ट्रको आह्वानलाई कहिल्यै बेवास्ता गरेनन् र लगभग समान गतिमा अन्तर्राष्ट्रिय फुटबल खेलिरहे।
उनीहरूको पहिलो प्रतिस्पर्धा सन् २००८-०९ सिजनमा भएको कार्लिङ कप फाइनलमा भएको थियो। त्यस खेलमा म्यानचेस्टर युनाइटेडले टोटेनहम हट्सपरलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो। मोड्रिच र रोनाल्डो दुवैले पूरा १२० मिनेट खेलेका थिए।
पछि रोनाल्डो स्पेन पुगेपछि सन् २०१०-११ को यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा उनीहरू फेरि प्रतिद्वन्द्वी बने। त्यसपछि भने उनीहरू रियल म्याड्रिडमा सहकर्मी बने। सँगै बिताएका ६ सिजनमा उनीहरूले चार पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जिते भने बाँकी दुई सिजनमा सेमिफाइनलसम्म पुगे।
यदि उनीहरूको साझेदारीको सबैभन्दा अविस्मरणीय क्षण सम्झने हो भने त्यो सन् २०१७ को च्याम्पियन्स लिग फाइनल नै हो। युभेन्टसविरुद्धको खेलमा मोड्रिचले दिएको उत्कृष्ट कटब्याक पासलाई रोनाल्डोले गोलमा परिणत गर्दै रियल म्याड्रिडलाई ३-१ को अग्रता दिलाएका थिए।
उनीहरूले क्लब र राष्ट्रका लागि गरेर कुल २२२ खेल एउटै मैदानमा बिताएका छन्। यही कारण मोड्रिच, रोनाल्डोसँग सबैभन्दा धेरै खेल्ने केन्द्रीय मिडफिल्डर बनेका छन्।
अब टोरन्टोमा हुने विश्वकपको खेल उनीहरूको पाँचौँ अन्तर्राष्ट्रिय भेट हुने छ। अघिल्ला चारै खेलमा पोर्चुगल विजयी भएको छ।
यसपटक मोड्रिचको नेतृत्वमा क्रोएसियाले अन्ततः त्यो क्रम तोड्न सक्छ वा सक्दैन, त्यो खेलले तय गर्ने छ। तर परिणाम जे भए पनि, यो खेल सन् २००६ का साधारण अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरूजस्तो बिर्सिने छैन।
भर्खरै
लोकप्रिय
