युरोपमा भीषण गर्मी

युरोपमा भीषण गर्मी
+
-
देशसञ्चार AI सारांश
  • युरोपमा अत्यधिक गर्मीका कारण फ्रान्समा एकै सातामा २,०२५ अतिरिक्त मृत्यु भएको छ र एकै दिनमा इतिहासकै सबैभन्दा तातो दिन पनि अनुभव गरियो।

  • बेल्जियम र नेदरल्यान्ड्समा पनि गर्मीका कारण क्रमशः १,२२२ र करिब ४८० अतिरिक्त मृत्यु भएका छन्, जसमा वृद्धवृद्धा बढी प्रभावित भएका छन्।

  • दक्षिणी फ्रान्समा तापक्रम ४० डिग्री सेल्सियस पुग्न सक्ने भन्दै ‘रेड अलर्ट’ जारी गरिएको र डढेलोको उच्च जोखिम रहेको छ।

पछिल्लो समय समग्र युरोप अत्याधिक गर्मिसँग जुधिरहँदा मृत्युदर अत्यधिक बढ्दै गएको छ। जुन महिनाको अन्त्यतिर युरोपमा देखिएको अभूतपूर्व गर्मीका कारण फ्रान्समा एक साताभित्र २,०२५ अतिरिक्त मृत्यु भएको छ। मौसमविद्हरूले आगामी केही दिनमा युरोपका विभिन्न भागमा फेरि अत्यधिक तापक्रम बढ्ने चेतावनी दिएका छन्।

फ्रान्सका अनुसार जुनको अन्तिम सातामा मृत्यु संख्या अघिल्लो साताको तुलनामा २९ प्रतिशतले बढेको थियो। फ्रान्सकी स्वास्थ्य मन्त्री स्टेफानी रिस्टले विशेषगरी ४५ वर्षभन्दा माथिका व्यक्तिहरूमा मृत्यु दर स्पष्ट रूपमा बढेको बताइन्।

जुन २४ मा फ्रान्सले देशव्यापी औसत तापक्रमका आधारमा आफ्नो इतिहासकै सबैभन्दा तातो दिन अनुभव गरेको थियो। राजधानी पेरिसमा तापक्रम झण्डै ४१ डिग्री सेल्सियस पुगेको थियो भने देशको आधाभन्दा बढी क्षेत्रमा सबैभन्दा उच्च स्तरको अर्थात गर्मीको ‘रेड अलर्ट’ जारी गरिएको थियो।

यसैबीच, बेलायतसहित युरोपका अन्य धेरै देशहरू पनि यस सातान्तदेखि पुनः अत्यधिक गर्मीको सामना गर्न तयारी अवस्थामा छन्। अहिले एजोरेस क्षेत्रबाट सुरु भएको उच्च गर्मी प्रणाली पोर्चुगल र स्पेन हुँदै विस्तार भइरहेको छ। यही प्रणालीका कारण सप्ताहान्तसम्म फ्रान्स र दक्षिणी बेलायतमा तापक्रम उल्लेखनीय रूपमा बढ्ने अनुमान गरिएको छ।

उता अमेरिकामा पनि स्वतन्त्रता दिवस (जुलाई ४) को अवसरमा उत्सव मनाइरहेका लाखौँ नागरिक मध्य तथा पूर्वी राज्यहरूमा लामो समयदेखि कायम अत्यधिक गर्मी र उच्च आर्द्रताको असर झेलिरहेका छन्।

जलवायु परिवर्तनले बढाउँदैछ गर्मीको संकट

वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण विश्वभर तापक्रम बढिरहेको छ। तर यसको प्रभाव युरोपमा अझ तीव्र देखिएको छ। कोपर्निकस जलवायु सेवाका अनुसार युरोप विश्वको सबैभन्दा तीव्र गतिमा तातिरहेको महादेश हो, जहाँ तापक्रम विश्व औसतको तुलनामा झण्डै दोब्बर दरले बढिरहेको छ।
यसका कारण गर्मीयाममा बारम्बार भीषण गर्मीको लहर, पानीको अभाव र डढेलोको जोखिम उल्लेखनीय रूपमा बढ्दै गएको छ।

बेल्जियम र नेदरल्यान्ड्समा पनि सयौँ अतिरिक्त मृत्यु

यस वर्षको गर्मीको लहर फ्रान्समा मात्र होइन, अन्य युरोपेली मुलुकहरूमा पनि घातक बनेको छ। बेल्जियममा गर्मीका कारण १,२२२ अतिरिक्त मृत्यु भएको छ, जुन सामान्य अवस्थाको तुलनामा ३९ प्रतिशत बढी हो। तीमध्ये झण्डै आधा ८५ वर्ष वा सोभन्दा माथिका वृद्धवृद्धा थिए। बेल्जियमको स्वास्थ्य मन्त्रालयले यस्तो मृत्यु संख्या ‘अभूतपूर्व’ भएको जनाएको छ।

फ्रान्सको पब्लिक हेल्थ फ्रान्सका अनुसार जुन २२ देखि २८ सम्मको अवधिमा मात्रै मृत्यु संख्या २,०२५ ले बढेको थियो। पेरिस क्षेत्रमा मात्र मृत्यु दर ६२ प्रतिशतले वृद्धि भएको थियो। फ्रान्सको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरिएको तथ्याङ्क प्रारम्भिक भएकाले वास्तविक मृत्यु संख्या अझ बढी हुन सक्ने जनाएको छ।

डुबेर मृत्यु हुनेको संख्या पनि बढ्यो

भीषण गर्मीसँगै नदी, ताल र समुद्रमा पौडी खेल्नेहरूको संख्या बढेपछि डुबेर ज्यान गुमाउने घटना पनि उल्लेखनीय रूपमा बढेको छ। फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजका अनुसार जुन १८ यता देशभर ७२ जनाले डुबेर ज्यान गुमाएका छन्।

उता नेदरल्यान्ड्समा पनि गत साताको असामान्य गर्मीका कारण करिब ४८० अतिरिक्त मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन्। तीमध्ये अधिकांश ८० वर्षभन्दा माथिका नागरिक थिए।

देशका केही क्षेत्रमा तापक्रम झण्डै ४० डिग्री सेल्सियस पुगेको थियो। सबैभन्दा बढी मृत्यु दक्षिण र पूर्वी क्षेत्रमा भएका छन्, जहाँ गर्मीको प्रभाव अत्यधिक थियो।

फेरि बढ्दैछ तापक्रम

नेदरल्यान्ड्समा यस साता केही राहत मिल्ने अपेक्षा गरिए पनि फ्रान्स र दक्षिणी युरोपका अन्य क्षेत्रहरूमा फेरि तापक्रम बढ्ने अनुमान गरिएको छ। दक्षिणी फ्रान्समा तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्न सक्ने पूर्वानुमान गरिएको छ भने बोर्डो, टुलुज र एजेन क्षेत्रमा ३६ देखि ३७ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना छ।

फ्रान्सको मौसम निकाय मेतेओ-फ्रान्सले शुक्रबार र शनिबारका लागि दक्षिणी क्षेत्रमा डढेलोको उच्च जोखिम रहेको भन्दै रेड अलर्ट जारी गरेको छ। मौसमीय अवस्था सामान्य गर्मीयामको तुलनामा निकै जोखिमपूर्ण रहेको उसले जनाएको छ।

प्रधानमन्त्री सेबास्टियन लेकोर्नुका अनुसार गर्मीयाम सुरु भएयता देशभर करिब ७,००० स्थानमा डढेलो लागेको छ। हालसम्म करिब ८,७०० हेक्टर वन क्षेत्र जलेर नष्ट भइसकेको छ।

बिहीबार सेन्ट–मारी–ला–मेर क्षेत्रमा सुरु भएको डढेलो काने–अन–रुसियोनसम्म फैलिँदा झण्डै ३,००० जनालाई सुरक्षित स्थानमा सार्नुपरेको थियो।

स्पेन र पोर्चुगल पनि उच्च सतर्कतामा

आइबेरियन प्रायद्वीपमा पनि अर्को गर्मीको लहर सुरु हुन सक्ने चेतावनी दिइएको छ। पोर्चुगल सरकारले मंगलबार मध्यरातसम्मका लागि राष्ट्रिय सतर्कता घोषणा गरेको छ। केही क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने अनुमान गरिएको छ भने रातिको तापक्रम पनि २५ डिग्री सेल्सियसभन्दा कम नझर्ने अपेक्षा गरिएको छ।

स्पेनमा पनि दक्षिणपश्चिमी क्षेत्रहरूमा सुन्तला (ओरेन्ज) स्तरको चेतावनी जारी गरिएको छ, जहाँ तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।

के हो अतिरिक्त मृत्यु?

‘अतिरिक्त मृत्यु’ भन्नाले कुनै निश्चित अवधिमा सामान्यतया अपेक्षा गरिने मृत्यु संख्याभन्दा बढी भएका मृत्युहरूलाई जनाइन्छ। कुनै क्षेत्रमा सामान्य अवस्थामा एक सातामा प्राकृतिक कारणले ७ हजारको मृत्यु हुने अनुमान गरिन्छ भने यदि सोही अवधिमा अपेक्षा ९ हजारको मृत्यु भएमा अतिरिक्त मृत्यु भनिन्छ। यसको अर्थ असामान्य अवस्थामा वृद्धि प्रायः भीषण गर्मी, महामारी वा अन्य विपद्का कारण हुने भएकाले त्यस घटनाको समग्र प्रभाव मापन गर्न ‘अतिरिक्त मृत्यु’को सूचक प्रयोग गरिन्छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…