- बीसीसीआईले डिसेम्बरमा नेपाल भ्रमण गर्ने भारत-ए टोलीको अन्तिम रूप दिँदै तीन खेलको टी-२० शृंखला गर्नेछ।
- नेपालमा भारत-ए टोलीको आगमनलाई क्रिकेट विकासको एक महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
- भारत-ए टोलीमा १५ वर्षीय वैभव सूर्यवंशी लगायतका युवा खेलाडी सहभागी हुने सम्भावना व्यक्त गरिएको छ।
नेपाल र भारत ‘ए’ टोलीबिचको टी-२० सिरिजको मिति तय भएसँगै नेपाल विरुद्ध भारतले कुन-कुन खेलाडी पठाउला भन्ने चासो ब्याप्त छ। यस्तोमा भारतीय सञ्चार माध्यामहरुले केही चर्चित नामहरु यो सिरिजमा मैदानमा उत्रिने सक्ने बताएका छन्।
बीसीसीआईले भारत-ए टोलीको आगामी भ्रमणलाई अन्तिम रूप दिएको भन्दै उनीहरुले यही वर्षको डिसेम्बरमा नेपाल भ्रमण गर्ने र जहाँ नेपाल र भारत-ए बीच तीन खेलको टी-२० शृंखला हुने जनाएका छन्। यसअघिनै नेपालले प्रतियोगिता आगामी डिसेम्बर ९, ११ र १३ मा आयोजना हुने जानकारी गराइसकेको छ।
यो भ्रमण नेपाली क्रिकेटका लागि निकै महत्वपूर्ण मानिएको छ। पछिल्ला केही वर्षयता बीसीसीआईले एसोसिएट राष्ट्रहरूको क्रिकेट विकासलाई टेवा पुर्यािउने उद्देश्यले आफ्ना घरेलु तथा ‘ए’ टोलीका भ्रमणहरू आयोजना गर्दै आएको छ। नेपालमा भारत-ए टोली पठाउने निर्णय पनि त्यही अभियानको महत्वपूर्ण कदमका रूपमा हेरिएको भारतीय सञ्चार माध्यामले जनाएका छन्।
नेपाल र भारत-ए बीचको तीनवटै खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने छन्। स्कटल्यान्डमा सम्पन्न आईसीसीको वार्षिक बैठकका क्रममा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का तथा बीसीसीआईका सचिव देवजीत सैकियाबीच भएको छलफलपछि यो शृंखलालाई अन्तिम रूप दिइएको हो।
नेपालमा क्रिकेटप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै शृंखलाका क्रममा ठूलो संख्यामा दर्शक मैदानमा उपस्थित हुने अपेक्षा गरिएको छ।
भारत-ए टोलीको यस भ्रमणको अर्को आकर्षक पक्ष सम्भावित टोली रहने छ। डिसेम्बरमा भारतीय सिनियर टोलीको व्यस्त कार्यक्रम नरहेकाले नेपाल भ्रमणका लागि टी-२० विशेषज्ञ तथा युवा खेलाडीहरूलाई अवसर दिइने सम्भावना रहेको जनाइएको छ।
१५ वर्षीय प्रतिभाशाली वैभव सूर्यवंशी, तिलक वर्मा, रिंकु सिंह, शिवम दुबे, प्रिन्स यादव र सूर्यांश शेड्गे जस्ता खेलाडी भारत-ए टोलीमा समावेश हुन सक्ने अनुमान भारतीय सञ्चार माध्यामले गरेका छन्।
त्यतिबेला भारतको कुनै पनि टी-२० अन्तर्राष्ट्रिय शृंखला तय नभएकाले सन् २०२७ को व्यस्त ह्वाइट-बल क्रिकेट तालिकाअघि युवा तथा टी-२० विशेषज्ञ खेलाडीहरूको क्षमता परीक्षण गर्ने उत्कृष्ट अवसर भारतीय छनोटकर्तासामु रहने छ।
भर्खरै
लोकप्रिय
