- फिफाले पहिलो पटक ४८ टिमको सहभागिता गरी २०२६ विश्वकपको सफलता देखाएपछि ६४ टिमसम्म विस्तार गर्ने विचार गरिरहेको छ।
- अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप सबैका लागि हुनु पर्ने बताए पनि प्रस्तावलाई सबैले समर्थन गरेका छैनन्।
- प्रस्तावमा फुटबल जगतका केही नेतृत्वहरूले नकारात्मक असरको चिन्ता व्यक्त गर्दा फिफा काउन्सिलले अन्तिम निर्णय गर्नेछ।
२०२६ को फिफा विश्वकपमा पहिलो पटक ४८ टिमको सहभागिताको सकरात्मक परिणामले उत्साहित बनेको फिफाले आगामी विश्वकपमा टिम संख्या ६४ पुर्याउने विषयमा बहस सुरु गरेको छ। विश्वकपमा ६४ टोलीको सहभागिताबारे समीक्षा गर्ने र ‘विश्वकप सबैका लागि हुनुपर्छ’ भन्दै अध्यक्ष जियानी इन्फान्टिनोले गम्भीर छलफल गर्ने बताएका छन्।
फिफाका अध्यक्ष इन्फान्टिनोले सन् २०२६ विश्वकप सम्पन्न भएपछि पुरुष विश्वकपलाई ६४ टोलीसम्म विस्तार गर्ने सम्भावनाबारे औपचारिक समीक्षा गरिने बताएका छन्। उनले विश्वकप युरोप र दक्षिण अमेरिकाका लागि मात्र होइन, सम्पूर्ण विश्वका लागि हुनुपर्ने मत राखे।
गत वर्ष पहिलो पटक ६४ टोलीको विश्वकपको प्रस्ताव सार्वजनिक भएको थियो। इन्फान्टिनोले ४८ टोली सहभागी भएको २०२६ विश्वकपको सफलताले प्रतियोगितालाई अझ विस्तार गर्ने सम्भावनाबारे गम्भीर छलफल गर्न आधार तयार गरेको बताए।
उनले भने, ‘यी सबै विषयमा हामी विश्वकपपछि समीक्षा गर्नेछौं।’ स्विस प्रसारण संस्था ब्लु स्पोर्ट्स सँगको कुराकानीमा इन्फान्टिनोले भने। उनले थपे ‘विश्वकप आयोजना गर्दा त्यसलाई युरोप र दक्षिण अमेरिकामा मात्र सीमित राख्नु हुँदैन। यो वास्तवमै सम्पूर्ण विश्वको प्रतियोगिता हुनुपर्छ। हरेक देशले विश्वकप खेल्ने सपना देख्न पाउनुपर्छ।’
इन्फान्टिनोकाअनुसार अहिले विश्वभरका राष्ट्रिय टोलीहरूको स्तर निरन्तर उकासिँदै गएको छ। ‘यदि साना राष्ट्रहरूलाई विश्वकप खेल्ने अवसर नै दिइएन भने उनीहरूमा अझ राम्रो बन्ने प्रेरणा कम हुनेछ।’
४८ टोलीको विश्वकप पूर्ण सफल
इन्फान्टिनोले पहिलो पटक ४८ टोलीसहित आयोजना भएको विश्वकपलाई ‘ठूलो सफलता’ का रुपमा ब्याख्या गरे। उनले विशेषगरी अफ्रिकी टोलीहरूको प्रदर्शनको प्रशंसा गरे।
उनका अनुसार १० मध्ये ९ अफ्रिकी टोली नकआउट चरणमा पुगे, जुन विश्व फुटबलमा अवसर विस्तारको सकारात्मक उदाहरण हो। ‘अघिल्लो विश्वकपमा अफ्रिकाबाट पाँच टोली मात्रै थिए। अहिले सहभागिता बढेपछि उनीहरूले आफ्नो क्षमता पनि प्रमाणित गरेका छन्। त्यसैले सबैलाई अवसर दिनु अत्यन्त महत्त्वपूर्ण छ।’
६४ टोलीको प्रस्ताव कहाँबाट आयो?
फिफाले सन् २०१७ मा विश्वकपलाई ३२ टोलीबाट ४८ टोलीमा विस्तार गर्ने निर्णय गरेको थियो। त्यसपछि अप्रिल २०२५ मा दक्षिण अमेरिकी फुटबल महासंघ (कोनमेबोल) ले सन् २०३० विश्वकपमा ६४ टोलीसहित आयोजना गर्ने औपचारिक प्रस्ताव पेश गरेको थियो। यद्यपि त्यसबारे अहिलेसम्म कुनै अन्तिम निर्णय भएको छैन। सन् २०३० विश्वकप मुख्य रूपमा स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रूपमा आयोजना गर्ने छन्। प्रतियोगिताको शताब्दी वर्षको अवसरमा उद्घाटनका तीन खेल भने अर्जेन्टिना, उरुग्वे र पाराग्वेमा खेलाइने छ।
तर ६४ टोलीको प्रस्तावमा फुटबल जगतका सबै नेतृत्वहरुले समर्थन गरेका छैनन्। युरोपेली फुटबल महासंघ (युइएफए) का अध्यक्ष अलेक्सान्डर चेफेरिनले यसलाई ‘खराब विचार’ भन्दै प्रतियोगिताको गुणस्तर र छनोट चरण दुवैमा नकारात्मक असर पर्ने बताएका छन्।
एसियाली फुटबल महासंघ (एएफसी) का अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफाले पनि थप विस्तारले ‘अव्यवस्था’ निम्त्याउने चेतावनी दिएका छन्।
उत्तर तथा मध्य अमेरिका र क्यारेबियन फुटबल महासंघ (कोनकाकाफ) का अध्यक्ष भिक्टर मोन्टाग्लियानीले पनि यो प्रस्ताव ‘उपयुक्त नदेखिएको’ प्रतिक्रिया दिएका छन्। उनका अनुसार अत्यधिक विस्तारले विश्व फुटबलको समग्र संरचनामै असर पर्न सक्छ।
यद्यपि अमेरिकी राष्ट्रपति कार्यालयको विश्वकप कार्यदलका कार्यकारी निर्देशक एन्ड्रु जुलियानीले भने अमेरिका सन् २०३८ विश्वकप आयोजना गर्न इच्छुक हुन सक्ने र ६४ टोलीको प्रतियोगिता पनि सहज रूपमा व्यवस्थापन गर्न सक्ने बताएका छन्।
अन्तिम निर्णय कसले गर्छ?
फिफाको आधिकारिक धारणा अनुसार परिषद्का सदस्यहरूबाट आएका सबै प्रस्तावमाथि छलफल गर्नु फिफाको दायित्व हो। तर ६४ टोलीको विश्वकप तत्काल लागू हुने कुनै संकेत भने देखिएको छैन। अन्तिम निर्णय भने फिफा काउन्सिलले गर्नेछ।
फुटबल विश्लेषक डेल जोन्सनका अनुसार विश्वकपको आकार जति ठूलो बन्छ, त्यसलाई सफलतापूर्वक आयोजना गर्नु त्यति नै कठिन हुँदै जान्छ।
सन् २०२६ को विश्वकप तीन देशमा हुँदै छ भने २०३० मा ६ देशमा खेलहरू आयोजना हुने छन्। यदि सन् २०३४ मा साउदी अरेबियाले ६४ टोलीको विश्वकप आयोजना गर्नुपरे, प्रतियोगितामा १२८ खेल हुने भएकाले त्यसको व्यवस्थापन ठूलो चुनौती बन्न सक्छ।
तर यस विस्तारले इन्फान्टिनोलाई दुईवटा स्पष्ट राजनीतिक फाइदा पनि दिलाउन सक्छ। पहिलो, अझ धेरै देशले विश्वकप खेल्ने अवसर पाउने छन्। ६४ टोलीको ढाँचामा फिफाका २११ सदस्य राष्ट्रमध्ये झण्डै एकतिहाइ राष्ट्र विश्वकपमा छनोट हुन सक्ने छन्।
दोस्रो, विश्वकपमा खेल संख्या बढेसँगै आम्दानी पनि बढ्ने छ, जसबाट फिफाले आफ्ना सदस्य संघहरूलाई अझ बढी आर्थिक सहयोग वितरण गर्न सक्ने छ।
भर्खरै
लोकप्रिय
