- बुधबार एटलान्टामा लियोनेल मेसीले आफ्नो करियरमा पहिलोपटक विश्वकपमा इंग्ल्यान्डविरुद्ध खेल्नेछन्।
- अर्जेन्टिना र इंग्ल्यान्डबीचको विश्वकप प्रतिद्वन्द्विता १९६२ देखि सुरु भई विवादास्पद क्षणहरूमा परिणत हुँदै आएको छ।
- आज २४ वर्षपछि यी दुई टिम बीचको प्रतिस्पर्धामा नयाँ अध्याय थप्ने मन्च प्रस्तुत हुँदैछ।
आज विश्व फुटबलमा एउटा इतिहासकै सबैभन्दा चर्चित र भावनात्मक प्रतिद्वन्दीहरुबिच अर्को एउटा प्रतिस्पर्धा हुँदै छ।विश्वकपको फाइनल प्रवेशका लागि अर्जेन्टिना र इंग्ल्यान्ड आमनेसामने हुँदा त्यसको महत्व शब्दमा बयान गर्न कठिन छ। तर यो केवल एउटा खेल मात्र होइन, पुस्तौँदेखि चल्दै आएको गौरव, इतिहास, दुश्मनी र भावनाको भिडन्तको ‘पुनर्ताजगी’ हो।
बुधबार एटलान्टामा हुने सेमिफाइनलमा लियोनेल मेसीले आफ्नो करियरमै पहिलोपटक विश्वकपमा इंग्ल्यान्डविरुद्ध खेल्ने छन्। साविक विजेता अर्जेन्टिना थोमस टुचेलको प्रशिक्षणमा रहेको इंग्ल्यान्डको ६० वर्ष लामो उपाधि खडेरी अन्त गर्ने लक्ष्यमा हुने छ।
यी दुई राष्ट्रबीचको विश्वकप प्रतिद्वन्द्विता सन् १९६२ बाट सुरु भएको हो। त्यसयता यसमा अविस्मरणीय गोल, विवादास्पद निर्णय, रातो कार्ड र ऐतिहासिक क्षणहरू जोडिँदै आएका छन्। तर यो प्रतिस्पर्धा मैदानभित्र मात्रै सीमित छैन। विशेषगरी सन् १९८२ को फकल्याण्ड युद्धपछि दुई देशबीचको राजनीतिक तनावले पनि यसलाई थप संवेदनशील बनाएको छ। अर्जेन्टिनाका खेलाडी र समर्थकहरूले अझै पनि फुटबल गीतमार्फत त्यस युद्धको प्रसंग उठाउने गर्छन्।
विश्वकप इतिहासमा आज हुने खेल अघि अर्जेन्टिना र इंग्ल्यान्डबीच भएका यि पाँच भेटको यात्रा स्मरणीय छन्। धेरैलाई अचम्म लाग्न सक्छ, ती पाँच भेटमध्ये इंग्ल्यान्डले बढी जित निकालेको छ। तर निर्णायक अवसरमा भने अर्जेन्टिनाले धेरैपटक बाजी मारेको छ।
१९६२ : इंग्ल्यान्ड ३-१ अर्जेन्टिना (समूह चरण, चिली)
पछिल्ला भेटहरूको तुलनामा यो खेल निकै शान्त रह्यो। रन फ्लावर्स, बबी चार्ल्टन र जिमी ग्रिभ्सको गोलमा इंग्ल्यान्डले ३-० को अग्रता बनायो। अर्जेन्टिनाले अन्तिम समयमा एक गोल फर्काए पनि हार टार्न सकेन।
दुवै टोलीले समूह चरणमा एक जित र एक हार निकालेका थिए। तर उत्कृष्ट गोलअन्तरका आधारमा इंग्ल्यान्ड क्वार्टरफाइनल पुग्यो भने अर्जेन्टिना बाहिरियो। त्यसपछि इंग्ल्यान्ड क्वार्टरफाइनलमा ब्राजिलसँग पराजित भयो।
१९६६ : इंग्ल्यान्ड १–० अर्जेन्टिना (क्वार्टरफाइनल, वेम्ब्ली)
धेरैका लागि यही खेलबाट दुई देशबीचको वास्तविक फुटबल प्रतिद्वन्द्विता सुरु भएको मानिन्छ। अर्जेन्टिनाले आजसम्म पनि यो खेलमा आफू अन्यायमा परेको दाबी गर्दै आएको छ। उनीहरूका अनुसार जियोफ हर्स्टको निर्णायक गोल अफसाइड थियो।
तर सबैभन्दा ठूलो विवाद कप्तान एन्टोनियो राट्टिनको रातो कार्ड बन्यो। उनले ३३औँ मिनेटमा बबी चार्ल्टनलाई फाउल गरेपछि रेफ्रीसँग लगातार बहस गरे र मैदान छाड्न अस्वीकार गरे। त्यसका कारण खेल करिब आठ मिनेट रोकिएको थियो।
खेलपछि इंग्ल्यान्डका प्रशिक्षक अल्फ राम्सेले अर्जेन्टिनाका खेलाडीलाई ‘जनावर’ (एनिमल्स) भन्दै आफ्ना खेलाडीलाई जर्सीसमेत नसाट्न निर्देशन दिएका थिए। यस खेलको विवाद संसार भर प्रसिद्ध मानिन्छ। त्यही कारणले यो खेलपछि नै फुटबलमा पहेंलो र रातो कार्डको अवधारणा ल्याउने प्रक्रिया अघि बढेको मानिन्छ। सन् १९७० को विश्वकपदेखि पहिलोपटक पहेंलो र रातो कार्ड प्रयोग गरिएको थियो।
सन् १९५९ देखि १९६९ सम्म अर्जेन्टिनाबाट खेलेका तथा १९६२ र १९६६ विश्वकपका सदस्य राट्टिनको गत शनिबार ८९ वर्षको उमेरमा निधन भएको थियो।
१९८६ : अर्जेन्टिना २-१ इंग्ल्यान्ड (क्वार्टरफाइनल, मेक्सिको)
यो खेल भने डिएगो म्याराडोनाको नाममा सधैं सम्झिने गरिन्छ। फकल्याण्ड युद्धको चार वर्षपछि भएको यो खेलमा राजनीतिक तनाव चरम अवस्थामा थियो। अर्जेन्टिनाले यसलाई युद्धपछिको भावनात्मक बदला लिने अवसरका रूपमा हेरेको थियो।
त्यस खेलमा म्याराडोनाले विश्व फुटबलकै सबैभन्दा विवादास्पद गोल गरे। इंग्ल्यान्डका गोलरक्षक पिटर शिल्टनसँग हावामा उफ्रँदै उनले हातले बललाई जालीमा पुर्याए। पछि यही गोल ‘ह्यान्ड अफ गड’ का नामले प्रसिद्ध बन्यो।
त्यसपछि उनले विश्वकप इतिहासकै उत्कृष्ट मानिने अर्को गोल पनि गरे। आफ्नै हाफबाट बल अघि बढाउँदै उनले इंग्ल्यान्डका धेरै खेलाडीलाई छलाएर गोल गरेका थिए।
इंग्ल्यान्डका लागि ग्यारी लिनेकरले एक गोल फर्काए पनि टोली प्रतियोगिताबाट बाहिरियो। म्याराडोनाले यस घटनाबारे सन् २००५ मा मात्रै माफी मागेका थिए, तर शिल्टनले त्यो माफी स्वीकार गरेका थिएनन्। त्यही विश्वकपमा अर्जेन्टिनाले फाइनलमा पश्चिम जर्मनीलाई हराएर उपाधि जितेको थियो।
१९९८: अर्जेन्टिना २-२ इंग्ल्यान्ड (पेनाल्टीमा अर्जेन्टिना ४-३ विजयी)
यो खेल डेभिड बेकह्यामका लागि कहिल्यै नबिर्सिने बन्यो। गाब्रिएल बाटिस्टुटा र एलन शियररले पेनाल्टीमार्फत गोल गरेपछि माइकल ओवेनले शानदार एकल प्रयासमा विश्वकप इतिहासकै उत्कृष्ट गोलमध्ये एक गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए। तर हाभियर जानेटीले उत्कृष्ट फ्रिकिक रणनीतिबाट बराबरी गोल फर्काए।
दोस्रो हाफमा बेकह्यामले डिएगो सिमोनीलाई लात हानेपछि रातो कार्ड पाए। बेकह्यामले रातो कार्ड पाएसँगै १० खेलाडीमा सीमित भए पनि इंग्ल्यान्डले संघर्ष जारी राख्यो। सोल क्याम्पबेलले गरेको गोल फाउलका कारण रद्द गरियो। खेल पेनाल्टी सुटआउटमा पुग्यो, जहाँ डेभिड ब्याट्टी र पल इन्स चुकेपछि अर्जेन्टिनाले ४-३ ले जित निकाल्यो।
एक वर्षपछि सिमोनीले आफूले रेफ्रीलाई झुक्याउन सफल भएको स्वीकार गर्दै भनेका थिए, ‘मेरो लडाइँले पहेंलो कार्डलाई रातो कार्डमा बदलिदियो।’
२००२ : अर्जेन्टिना ०-१ इंग्ल्यान्ड (समूह चरण, जापान)
यो खेल डेभिड बेकह्यामको पुनरागमन (रेडेम्प्सन) का रूपमा चिनिन्छ। १९९८ को रातो कार्डको पीडा बिर्साउँदै इंग्ल्यान्डका कप्तान बेकह्यामले पेनाल्टीमार्फत खेलको एकमात्र गोल गरे। माइकल ओवेनलाई माउरिसियो पोचेटिनोले लडाएपछि इंग्ल्यान्डले पाएको पेनाल्टी बेकह्यामले सफलतापूर्वक गोलमा परिणत गरेका थिए।
यो जित इंग्ल्यान्डका लागि अत्यन्त महत्वपूर्ण बन्यो। अन्तिम खेलमा नाइजेरियासँग गोलरहित बराबरी खेलेपछि इंग्ल्यान्ड नकआउट चरणमा पुग्यो। अर्जेन्टिना भने स्विडेनसँग १-१ को बराबरी खेलेपछि १९६२ यता पहिलोपटक समूह चरणबाटै बाहिरिएको थियो।
इंग्ल्यान्डले त्यसपछि अन्तिम १६ मा डेनमार्कलाई हरायो। तर क्वार्टरफाइनलमा ब्राजिलसँग पराजित हुँदै उसको यात्रा टुंगियो। त्यस खेलमा रोनाल्डिन्होको अविस्मरणीय फ्रिकिक गोल आज पनि विश्वकप इतिहासका उत्कृष्ट क्षणमध्ये एक मानिन्छ।
आज फेरी २४ वर्षपछि विश्वकपमा अर्जेन्टिना र इंग्ल्यान्ड फेरि आमनेसामने हुँदैछन्। इतिहासमा गौरव र भावनाले भरिएको यो प्रतिद्वन्द्वितामा आज जुन टिमले जिते पनि अर्को एउटा नयाँ अध्याय थपिने निश्चित छ।
भर्खरै
लोकप्रिय
