- इंग्ल्यान्ड र अर्जेन्टिनाबीचको ऐतिहासिक प्रतिस्पर्धामा रेफ्रीको भूमिका विवादास्पद रहँदै आएको छ, खासगरी जब विश्वकपको सेमिफाइनलको सवाल उठ्छ।
- इस्माइल एलफाथको रेफ्रीका रूपमा नियुक्तिले समर्थकहरूमा अर्जेन्टिनाका लागि शुभ संकेत र मेसीका लागि भाग्यमानी मानिने धारणा बलियो पार्यो।
- एलफाथको नियुक्तिपछि सामाजिक सञ्जालमा उनलाई ‘मेसीको भाग्य’ मानेर बहस भएपछि विश्वकप खेलमा उनको निर्णयलाई विशेष नजरले हेरिने निश्चित छ।
इंग्ल्यान्ड र अर्जेन्टिना बिचको विश्वकप सेमिफाइनल नजिकिंदै गर्दा समाजिक सञ्जालमा कस्ले जित्ला भन्ने अनुमानको बाढी आएको छ। अर्जेन्टिना र इंग्ल्यान्ड परम्परागत प्रतिद्वन्दी भएकाले प्राय विवाद, तनाव र नाटकीय घटनाले भरिएको हुन्छ।
सन् १९८६ को डिएगो म्याराडोनाको चर्चित ‘ह्यान्ड अफ गड’ गोलदेखि सन् १९९८ मा डेभिड बेकह्यामले रातो कार्ड पाएको घटनासम्म, यी दुई टोलीबीचको विश्वकप इतिहासमा रेफ्रीहरू पनि उत्तिकै चर्चामा रहने गरेका छन्।
अली बिन नासेर र किम मिल्टन निल्सेनजस्ता रेफ्रीका नाम आज पनि इंग्ल्यान्डका समर्थकले बिर्सिएका छैनन्। यही कारण बुधबार हुने विश्वकप २०२६ को दोस्रो सेमिफाइनल सञ्चालन गर्ने जिम्मेवारी पाएका इस्माइल एलफाथमाथि पनि सबैको ध्यान केन्द्रित भएको छ।
इस्माइल एलफाथ को हुन्?
मोरक्कोको कासाब्लांकामा जन्मिएका एलफाथ अमेरिकाको प्रतिनिधित्व गर्ने अन्तर्राष्ट्रिय रेफ्री हुन्। उनले यस विश्वकपमा हालसम्म तीन खेल सञ्चालन गरेका छन्। उनले जापान र नेदरल्यान्डंसको २-२ गोलको बराबरी भएको खेल खेलाएका थिए भने स्पेनले उरुग्वेलाई १-० ले हराएको खेलमा पनि उनी मुख्य रेफ्रि रहेका थिए। त्यस्तै अन्तिम १६ मा उनले नर्बेले ब्राजिललाई २-१ ले हराएको खेलमा पनि रेफ्रिको भुमिका निभाएका थिए।
यी तीन खेलमा उनले ६ वटा पहेंलो कार्ड र एउटा रातो कार्ड देखाएका छन्। उरुग्वेका विङ्गर अगुस्टिन कानोब्बियोलाई देखाइएको रातो कार्ड प्रतियोगिताकै सबैभन्दा स्पष्ट निर्णयमध्ये एक मानिएको थियो।
एलफाथले सन् २०२२ को कतार विश्वकपमा पनि काम गरेका थिए। त्यसबेला अर्जेन्टिना र फ्रान्सबीच भएको ऐतिहासिक फाइनलमा उनी चौथो रेफ्री थिए। यसबाहेक उनले २०२६ को कन्काकाफ च्याम्पियन्स कप फाइनल (टोलुका विरुद्ध टिग्रेस) तथा २०२२ को एमएलएस कप फाइनल (फिलाडेल्फिया युनियन विरुद्ध एलएएफसी) पनि सञ्चालन गरिसकेका छन्।
इंग्ल्यान्ड-अर्जेन्टिना सेमिफाइनलमा उनका सहायक रेफ्री कोरी पार्कर र काइल एट्किन्स हुनेछन्। इटालीका माउरिजियो मारियानी चौथो रेफ्री तथा दानिएले बिन्डोनी रिजर्भ सहायक रेफ्री रहने छन्।
किन भनिँदैछ, एलफाथ मेसीका ‘भाग्य’ ?
एलफाथको नियुक्तिलाई धेरै समर्थकले लियोनेल मेसीका लागि शुभ संकेतका रूपमा हेरेका छन्। कारण, उनी संलग्न भएका धेरै महत्वपूर्ण खेलमा मेसीको टोली विजयी भएको छ।
सबैभन्दा पहिले, सन् २०२२ को विश्वकप फाइनलमा एलफाथ चौथो रेफ्री थिए। त्यस खेलमा मेसीले दुई गोल गर्दै अर्जेन्टिनालाई फ्रान्सविरुद्ध पेनाल्टी सुटआउटमार्फत विश्वविजेता बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए।
त्यसपछि सन् २०२३ को लिग्स कप फाइनलमा एलफाथ मुख्य रेफ्री थिए। इन्टर मियामी र न्यासभिल एससीबीचको त्यो खेलमा मेसीले गोल गरे र अन्ततः इन्टर मियामी पेनाल्टी सुटआउटमा विजयी भयो।
त्यसयता एलफाथले सञ्चालन गरेका एमएलएसका तीन खेलमा पनि इन्टर मियामी सबैमा विजयी भएको छ। त्यसैले सामाजिक सञ्जालमा धेरै समर्थकले एलफाथलाई मेसीका लागि ‘भाग्यमानी रेफ्री’ भन्दै चर्चा गरिरहेका छन्।
सामाजिक सञ्जालमा किन भइरहेको छ बहस?
एलफाथको नियुक्तिपछि एक्स (पहिले ट्विटर) लगायत सामाजिक सञ्जालमा एउटा तथ्य निकै भाइरल भयो। एक पोस्टमा लेखियो ‘इंग्ल्यान्ड र अर्जेन्टिनाको सेमिफाइनल एमएलएस रेफ्री इस्माइल एलफाथले सञ्चालन गर्ने छन्। मेसी इन्टर मियामी पुगेयता एलफाथले रेफ्री गरेको प्रत्येक खेल इन्टर मियामीले जितेको छ, साथै लिग्स कप फाइनल पनि जितेको थियो। खेल सुरु हुनुअघि नै इंग्ल्यान्डलाई अन्याय भएको छ।’
यद्यपि यो समर्थकहरूको धारणा मात्र हो। कुनै पनि रेफ्रीले विगतमा कुनै टोलीका खेलमा गरेको निर्णयका आधारमा भविष्यको खेलको नतिजा निर्धारण हुन्छ भन्ने प्रमाण छैन।
फेरि विवादमा पर्न सक्छन रेफ्रि?
इंग्ल्यान्ड र अर्जेन्टिनाको खेल भन्ने बितिकै स्वभाविक रुपमा रेफ्रिका लागि दबाबपूर्ण मानिन्छ। यस्तोमा यो पटक अर्जेन्टिनाको विश्वकप यात्रा रेफ्रीसम्बन्धी विवादबाट मुक्त छैन। ल्जेरियाविरुद्ध मेसीले गरेको फाउलमा रातो कार्ड नदिइएको भन्दै सुरुवाती बहस भयो।
त्यसपछि अन्तिम-१६ मा इजिप्टविरुद्ध भिएआरले गोल रद्द गरेपछि ठूलो विवाद भयो। त्यस्तै स्विट्जरल्यान्डविरुद्ध क्वार्टरफाइनलमा ‘मिस्टेकन आइडेन्टिटी’ (गलत खेलाडीलाई कार्ड देखाइएको निर्णय सच्याउने प्रक्रिया) प्रयोग गर्दै लेआन्ड्रो पारेडेसको पहेंलो कार्ड हटाएर स्विट्जरल्यान्डका ब्रिल एम्बोलोलाई कार्ड दिइएको थियो, जसका कारण उनी मैदानबाट बाहिरिनुपरेको थियो।
फिफाको यो नयाँ नियम प्रयोग गर्दा पनि विवाद कायम रह्यो।
यी सबै घटनाका कारण बुधबारको सेमिफाइनलमा एलफाथ र उनको रेफ्री टोलीका प्रत्येक निर्णयमाथि विश्वभरका समर्थक र विश्लेषकहरूको विशेष नजर रहने निश्चित छ। त्यसैले रेफ्रिका लागि समेत यो खेल महत्वपूर्ण छ।
भर्खरै
लोकप्रिय
