विश्वकप २०२६ को समूह चरणको बहुप्रतिक्षित खेलमध्येमा रहेको ब्राजिल र मोरक्कोबीच आइतबार बिहान ३: ४५ बजे प्रतिस्पर्धा हुँदै छ। पाँच पटकको विश्व च्याम्पियन ब्राजिल २४ वर्षपछिको उपाधि जित्ने अभियानलाई सार्थक बनाउन सुरुवातबाटै रवाफिलो प्रदर्शनको प्रतीक्षामा रहँदा २०२२ को सेमिफाइनलिस्ट मोरक्को आफ्नो बलियो विरासतलाई कायम राख्न ब्राजिलविरुद्ध भिड्दै छ।
प्रशिक्षक कार्लो एन्सेलोटीको पहिलो विश्वकप खेलका रुपमा रहने यो प्रतिस्पर्धा स्वभाविक रुपमा धेरैका लागि चासो बनेको छ। एक त विश्वव्यापी फ्यान बेस भएको ब्राजिलको पहिलो खेल र अर्कोतर्फ साविक विश्वकपमा सेमिफाइनलसम्म पुगेको मोरक्कोको प्रतिस्पर्धाले धेरैलाई तानेको छ। मोरक्को २०२२ विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टोली बनेर इतिहास रचेको थियो।
धेरै विश्लेषकहरूले यसलाई समूह ‘सी’ को शीर्ष स्थान निर्धारण गर्ने खेलका रुपमा समेत मानेका छन्। यो खेलमा ब्राजिलले आफ्ना स्टार फरवार्ड नेयमारलाई पिँडुलाको चोटका कारण गुमाउँदै छ। त्यसैले आक्रमणको मुख्य जिम्मेवारी भिनिसिय जुनियर र राफिनाको काँधमा छ। भिनिसियसले खेलअघि आफू लयमा रहेको भन्दै टोली बिना दबाब मैदान उत्रिने बताएका छन्।
अर्कोतर्फ कप्तान अशरफ हाकिमी, मिडफिल्डर ब्राहिम दियाज र गोलरक्षक यासिन बोनुजस्ता अनुभवी खेलाडीहरूको उपलब्धताले मोरक्कोले ब्राजिलको रवाफलाई ब्रेक लगाउन सक्ने सम्भावना बलियो छ। मोरक्को पछिल्ला वर्षहरूमा निकै स्थिर टोली बनेको र धेरै विश्लेषकहरूले उनीहरूलाई ‘डार्क हर्स’का रूपमा हेरेकाले ब्राजिललाई सोचेजस्तो सहज नहुन सक्छ।
तुलनात्मक रुपमा नेयमार नहुँदा ब्राजिलको सिर्जनात्मक पक्षमा केही चुनौती हुनेछ। तर अन्य ठूला नामको कमी नभएको र सदाबहार आक्रमक छविका कारण ब्राजिल विजयी सुरुवात गर्नेमा विश्वस्त छ। अर्कोतर्फ मोरक्कोको रक्षात्मक संगठन र काउन्टर आक्रमण निकै खतरनाक भएको र अघिल्लो विश्वकपको रोचक अनुभवले मोरक्को खारिँदा खेल हेरर्न लायक हुने पक्का छ।
हेड टु हेडमा कस्तो छ अवस्था
ब्राजिल र मोरक्कोबीचको भिडन्तमा इतिहासले ब्राजिलको पक्ष लिएको देखिन्छ। तर पछिल्लो पटक २०२३ मा भएको मैत्रीपूर्ण खेलमा मोरक्कोले ब्राजिललाई हराएको इतिहास छ। २०२३ को मार्चमा भएको मैत्रीपूर्ण खेलमा मोरक्कोले इतिहासमै पहिलो पटक ब्राजिललाई २-१ ले हराएको थियो। त्यसअघि भने २ पटक ब्राजिलले मोरक्कोलाई पराजित गरेको थियो।
सन् १९९७ मा पहिलो पटकको मैत्रीपूर्ण प्रतिस्पर्धामा ब्राजिल २-० ले विजयी भएको थियो भने १९९८ मा भएको विश्वकपमा ब्राजिलले मोरक्कोलाई ३-० ले हराएको थियो। त्यसको २५ वर्षपछि प्रतिस्पर्धा हुँदा ब्राजिल पराजित भएको थियो। तीन वर्षपछि यी दुई टोली विश्वकपको मञ्चमा भिड्न लागेका हुन्।
भर्खरै
लोकप्रिय
